+
+

किराँत धर्मगुरु फाल्गुनन्दको जन्मजयन्ती मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते ७:५३

२५ कात्तिक, काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु एवम् राष्ट्रिय विभूति फाल्गुनन्दको जन्मजयन्ती आज मनाइँदै छ ।

फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते फाल्गुनन्द जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समाज सुधारक एवं किराँत समुदायका महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा किराँत समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

विशेषगरी पूर्वी पहाडी जिल्लाहरु पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापालगायतमा फाल्गुनन्द जन्मजयन्ती बिभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ, पाँचथरको फिदिम, लव्रेकुटी, रवि, इलामको माङसेवुङ, तेह्रथुमको आठराई सक्रान्तिबजार लगायत किराँतिहरुको बढी बसोबास भएको देशका विभिन्न स्थानमा विशेष कार्यक्रमका साथ फाल्गुनन्दको योगदानको स्मरण गरिन्छ ।

वि.सं. १९४२ साल कातिक २५ गते इलाममा जन्मिएका फाल्गुनन्दको निधन वि. सं. २००५ सालमा भएको थियो । उनले जीवनको अन्तिम समयसम्म किराँत भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेका थिए । फाल्गुनन्दले समाज सुधारका निम्ति वि. सं. १९८८ वैशाख २४ गते स्थापना गरेको ‘सत्य हाङ्गमा (धर्म) मुचुल्का’को नीति चर्चित छ ।

जस्लाई किराँत समुदायले किराँत सस्कृतिको पहिलो खुटि्कलोका रुपमा लिँदै बैशाख २४ गते समाज सुधार दिवसका रुपमा मनाउने गर्छन् ।

उनको निधन २००५ साल चैत २२ गते भएको थियो । फाल्गुनन्दलाई २०६६ साल मंसिर १६ गते तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारले राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले उनको फोटो अंकित हुलाक टिकट समेत प्रकाशन गर्दै आएको छ ।

तेह्रथुमको आठराई सक्रान्तिबजार फाल्गुनन्दको १५ फिट अग्लो शालिक समेत निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?