+
+

रेल्वे अध्यादेश आयो, रेल चल्ने टुंगो छैन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १६ गते २०:३७

१६ मंसिर, काठमाडौं । सरकारले फेरि रेल्वे अध्यादेश जारी गरेपछि सीमापार जयनगर-कुर्था (जनकपुर) रेलमार्ग सञ्चालनका लागि कानुनी बाटो खुलेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार रेल्वे अध्यादेश जारी गरेकी थिइन् । कानुन आएपनि बजेटको व्यवस्था नभइसकेका कारण रेल कहिलेबाट चल्छ भन्ने टुंगो भने लागेको छैन ।

रेल सञ्चालनका लागि शुरुआती व्यवस्थापन र भारतीय कम्पनीलाई गर्नुपर्ने भुक्तानीका लागि अर्थमन्त्रालसँग बजेट मागिएको कम्पनीका एक अधिकारीले बताए । सरकारले कम्तीमा ३५ करोड बजेट दिएमात्रै रेल चलाउने वातावरण तयार हुने ती अधिकारीको भनाइ छ ।

‘भारतमा कोरोनाको नयाँ भेरियन्ट पनि देखिएकाले महामारीको तेस्रो लहर त्रास छ, यसले रेल सेवा सञ्चालन थप पछाडि धकेलिन सक्छ,’ ती अधिकारी भन्छन्,’ अन्तर्राष्ट्रिय उडान नियमित गर्ने निर्णय समेत उल्ट्याएकाले सीमापार रेलबारे पनि भारतको नीति बदलिनसक्ने सम्भावना छ ।’

२२ वैशाख, २०७८मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन शुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय  भएको थियो । यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर अध्यादेश जारी गरिएको छ ।

रेल्वे कम्पनीका अनुसार टिकट छाप्टेदेखि रेल सञ्चालनका लागि भारतीय कम्पनी कोंकण रेल्वेसँग सम्झौता गर्नेसम्मका सबै काम भइसकेका छन् । भारतले ५ कात्तिक २०७८मा सीमापार विस्तारित रेलमार्ग नेपाललाई हस्तान्तण गरेको थियो ।

भारतले सन् २०१४बाट रेलमार्ग बन्द गरेर यसअघिको न्यारो गेजलाई ब्रोडगेजमा विस्तार थालेको थियो । नेपालतर्फको खण्डलाई ब्रोडगेजमा विस्तार गरेर स्पिड टेस्ट पनि गरेपछि भारतले नेपाल रेल्वे कम्पनीलाई रेलमार्ग हस्तान्तरण गरेको हो ।

३४ किलोमिटरको जनकपुर-जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । सरकारले २०७५ को पुसबाट नै जनकपुर-जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो ।

यो रेलमार्ग सञ्चालनका लागि नेपाल र भारतबीच ‘स्टान्डर्ड अपरेटिङ प्रोसिड्योर’ (सञ्चालन प्रक्रिया) मा हस्ताक्षर भने भइसकेको छ । अन्तरदेशीय रेलमार्ग भएकाले मुख्यतयाः भन्सार, अध्यागमन, सुरक्षा व्यवस्था, सूचना केन्द्र लगायतका विषयहरुलाई प्रोसिड्योरले सम्बोधन गरेको छ ।

महामारीका कारण कसरी समस्या नपर्ने गरी रेल चलाउने भन्नेबारे पनि सहमति भएको छ । सुरक्षा र सतर्कताबारेका व्यवस्था पनि सहमति भइसकेको छ ।

रेल सेवामा कार्यरत नेपाली कर्मचारीहरुको क्षमता विकास गर्न तथा नेपालको आवश्यकताअनुसार कर्मचारीहरुलाई नेपाल र भारतमा प्रशिक्षण दिन  भारत सहमत छ ।

जनकपुर-जयनगर रुटमा चलाउन तामझामसहित असोज पहिलो साता नेपाल आइपुगेका दुई वटा रेलहरु एक वर्षदेखि इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका छन् । नेपाल रेल्वे कम्पनीले यी रेल धनुषाको इनर्वामा पार्किङमा राखिएका छन् ।

ल्याएको रेल चलाउन नेपाल रेल्वे कम्पनीले भारतको कोंकण रेल्वेसँग सम्झौता गरेको छ ।  नियमित सेवा दिने गरी भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँमा किनिएको नयाँ रेल कहिलेदेखि चल्छ भन्ने निश्चित छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?