+
+

पौरखी थारु महिला : गृहस्थी र खेतीकिसानी सँगसँगै

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ मंसिर २२ गते १३:०८
तरकारी स्याहार्दै दाङकी रामकृष्णा चौधरी

२२ मंसिर, दाङ । घोराही उपमहानगरपालिका-६ चोरगाउँकी रामकृष्णा चौधरीको दिनचर्या बिहानै झिसमिसेबाटै शुरु हुन्छ । बिहान ४ बजेतिर उठेपछि उनी छिटुवामा तरकारी राख्छिन् । टाउँकोमाथि छिटुवा राखेको तरकारी बोकेर दैनिक एक घण्टा हिँड्दै  उनी तरकारी बेच्न घोराही बजार आइपुग्छिन् । तरकारी बोकेर शहरबजार डुलाउँछिन् । घर-घर पुग्छिन् ।

उनीजस्तै दाङका थारु समुदायका अधिकांश महिलाहरुको दिनचर्या यसरी नै चल्छ । आफ्नो खेतबारीमा काम गर्नु, तरकारी फलाउनु अनि बजारमा लगेर बेचेर घरव्यवहार चलाउनु ।

रामकृष्णा भन्छिन्, ‘तरकारी कहिले बाटोमै बिक्री हुन्छ, त्यति डुलाइराख्नु पर्दैन । कहिले त बिक्री नै हुँदैन । बजारभरि डुलाउनुपर्छ ।’

रामकृष्णाले स्कुल गएर पढ्न पाइनन् । तर पनि सामान्य लेखपढ र हिसाबकिताब गर्न भने उनलाई आउँछ । ‘पढ्ने मन भएर के गर्ने ? त्यसबेला बुबा-आमाले सानैमा बिहे गरिदिए,’ उनले भनिन्, ‘अहिले लाग्छ, पढ्ने पाएकी भए खुब पढ्थे हुँला ।’ सामान्य लेखपढ र हिसाबकिताब गर्न उनले छोराछोरीबाट सिकेकी हुन् ।

रामकृष्णाले कृषिबाटै घरगृहस्थी चलाएकी छन् । थारु समुदायका अन्य महिला जस्तै उनी पनि आफैं खेतबारीमा खटिएर तरकारी उब्जाउँछिन् । र, हरेक बिहान झिसमिसेमै तरकारीको भारी बोकेर बजारसम्म पुर्‍याउँछिन् ।

तरकारी बेचिसकेपछि घर फर्किएर घरधन्दा गर्नु उनको अर्को नियमित कर्म हो । ‘अहिले त सन्तान हुर्किए । उबेला तरकारी बेचेर घर फर्किएपछि खाना बनाउनदेखि स्कुलसम्म पठाउने सबै गर्नुपथ्र्याे,’ उनले भनिन् ।

बिहानको घरधन्दा सकेपछि रामकृष्णा फेरि खेतबारीमा कोदालो लिएर पुग्छिन् । तरकारी गोडमेल गर्छिन् । बिहान तरकारी बेच्न बजारसम्म पुग्दा होस् कि खेतबारीमा दिनभर खटिँदा उनी घाम, पानी केही भन्दिनन् ।

तरकारी बेचेरै उनले आफ्ना सन्तान हुर्काइन् । ‘घरमा चाहिने नुन, तेल सबै यही पैसाले जोहो हुन्छ,’ उनले भनिन्, ‘तरकारी बेचेरै तीन सन्तान पढाएँ, हुर्काएँ,’ उनले भनिन् ।

उनी अगाडि भन्छिन्, ‘हाम्रो समुदायका सबै दिदिबहिनीको दिनचर्या यस्तै छ । कृषिमा खेती गरेर घर धानेका छन् । केही नगरी कोही बस्न सक्दैनन् । फुर्सद भयो कि खेतबारीमा पुगिहाल्छौं ।’

उनी जस्तै दाङका अधिकांश थारु महिला जो पढ्ने, लेख्ने अवरबाट वञ्चित भएपनि पुख्र्यौली पेशा कृषिलाई आफ्नो मूल कर्म बनाएका छन् ।

घोराही उपमहानगरपालिका-१६ की अनिता चौधरीको पनि दिनचर्या रामकृष्णाकै जस्तो छ । पढ्न लेख्न नपाएकी उनी पनि वर्षभरि आफ्नो खेतबारीमा उब्जाएका तरकारी बेचेरै घरव्यवहार चलाउँछिन् ।

कुन सिजनमा कस्तो तरकारी लगाउने, के कस्ता विषादी प्रयोग गर्ने वा नगर्ने, कति बाली लगाउँदा कति उत्पादन हुन्छ ? यी सबै कुरामा उनी जानकार छिन् ।

अनिताका श्रीमान् पनि सँगै खेतबारीमा खटिन्छन् । उत्पादन गरेका तरकारी बिहानै ६ किलोमिटर टाढाको बजारमा लगेर बेच्छिन् । तरकारी बोकेर जाँदा उनी पैदलै जान्छिन् । ‘तरकारीको बोकेर जाँदा अँध्यारो हुन्छ । कहिलेकाहीं त डर पनि लाग्छ,’ उनी भन्छिन्, ‘तर हाम्रो कर्म यही हो । आमादेखि हामीले पनि यही गर्दै आयौं ।’

अनिताले पनि खेतीकिसानी गरेरकै आफ्ना सन्तानलाई हुर्काइन्, राम्रो शिक्षादीक्षा दिइन् । खेतीपातीसँगै घरको सम्पूर्ण काम उनी हेर्छिन् ।

उनलाई तरकारी बजारका विषयमा पनि राम्रो जानकारी छ । कुन तरकारी कति वा कसरी बेच्ने भन्ने उनले बुझेकी छन् ।

रामकृष्णा र अनिता त प्रतिनिधि पात्र हुन् । उनीहरुजस्तै दाङका अधिकांश थारु समुदायका महिलाको कृषि नै मूल कर्म हो । खेतबारीमा खट्नु, अन्नबाली र तरकारी उब्जाउनु, अनि बजारमा पुर्‍याएर बेचेर गर्जो टार्नु ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?