+
+

फितलो रोजगार कार्यक्रम : बजेट १२ अर्ब, पाँच महिनाको खर्च ८ करोड

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २३ गते २१:३०

२३ मंसिर, काठमाडौं । यसैपनि ‘मोडालिटी’का हिसावले प्रधानमन्त्री रोजगार कार्यक्रम शुरुबाटै आलोचित छ, सरकारले प्रत्येक वर्ष कार्यक्रमलाई थप परिस्कृत र प्रभावकारी ढंगबाट सञ्चालन गर्ने बताउँदै आएको पनि छ । तर, चालु आर्थिक वर्ष २०७८/७९ पनि प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन फितलो देखिएको छ ।

आर्थिक वर्षको पाँच महिना बित्न लाग्दा कार्यक्रमले एक प्रतिशत पनि खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्ष २०७८/७९ मा १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट खर्च गर्ने योजना छ । तर, अहिलेसम्म ७ करोड ८४ लाख मात्रै खर्च भएको छ । जुन कुल विनियोजित बजेटको ०.६६ प्रतिशत मात्रै हो ।

एक अर्ब ९० करोड बराबरका आयोजना स्वीकृति भएर कार्यान्वयनमा जानसक्ने अवस्था भएपनि खर्चको दर भने निराशाजनक छ ।

अहिलेसम्म यो वर्षका लागि स्थानीतहमार्फत ७ लाख ८ हजार बेरोजगार सूचीकृत गरिसकेको कार्यक्रमले १ हजार ४५ जनालाई मात्रै काम दिन सकेको छ । अहिलेसम्म काम पाएकाहरुले औसत ४५ दिनको ज्याला बुझेका छन् । यो वर्ष २ लाख जनालाई औसत सय दिनको काम दिने योजना छ ।

तर, अहिलेसम्म लक्ष्यअनुसार काम नै शुरु भएको छैन । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार हहिलेसम्म स्थानीय तहहरुमार्फत ७ हजार २९३ आयोजना सञ्चालन हुने तय भइसकेको छ ।

कार्यक्रम तय गरेका गर्ने ७२७ स्थानीय तहमध्ये ३५९ तहले कार्यक्रम कार्यान्वयनको अनुमति लिएका छन् । तर, उनीहरु सबै गत वर्षहरुमा जस्तै वर्षायामको प्रतिक्षामा छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव लोकनाथ भुसाल दशैंतिहारपछि मात्रै काम शुरु भएकाले खर्च कमजोर भएको बताउाछन् ।

‘स्थानीय तहले गरेका खर्च पनि प्रणालीमा आइसकेको छैन,’ उनी भन्छन्, ‘माघसम्म लक्ष्य अनुसार खर्च गरिसक्ने गरी योजना बनाएका छौं ।’ खर्च बढाउने गरी कार्यक्रमको निर्देशिका संशोधन गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाइसकिएको भुसालले बताए ।

लक्ष्यबाट टाढै छ कार्यक्रम

रोजगारी सिर्जनाका लागि भन्दै विश्व बैंकसम्मको ऋण लिएर शुरु भएको कार्यक्रमले तीन वर्षसम्म पाँच वर्षका लागि तय गरिएको लक्ष्यको तुलनामा ५.४१ प्रतिशत मात्र प्रगति हात पारेको छ ।

कार्यक्रमको दीर्घकालीन योजना (पाँचवर्षे कार्यक्रम दस्तावेज)ले कार्यक्रमको लक्ष्य, रणनीति, कार्यनीति तथा क्षेत्रका आधारमा पाँच वर्षमा हासिल गर्नुपर्ने अपेक्षित प्रतिफललाई नतिजा सूचकमा समावेश गरेको छ । तर, आधाभन्दा बढी अवधिसम्म तोकिए बमोजिम कार्यक्रमले प्रतिफल सूचक र उपलब्धि हात पारेको छैन ।

कार्यक्रमले आर्थिक वर्ष २०७७/७८ सम्म कुल १६ अर्ब ९३ करोड ९० लाख रुपैयाँ खर्च गरेको थियो । त्यसमध्ये २ अर्ब २४ करोड ६१ लाख प्रशासनिक खर्च थियो ।

पाँच वर्षका लागि तय गरेको २० हजार व्यक्तिलाई स्वरोजगारीका लागि व्यावसायिक तालिम दिने, ४० हजार बेरोजगार व्यक्तिलाई निजी क्षेत्रसँगको सहकार्यमा व्यावसायिक तथा सीप विकास तालिम, १ लाख ५० हजार बेरोजगारलाई रोजगारीको प्रकृति अनुसारको तालिम र २५ हजार बेरोजगारलाई सहुलियत ऋणका लागि सहयोग उपलब्ध गराउने लगायत कार्यक्रमको मुख्य कार्यसम्पादन सूचकसँग सम्बन्धित काम शुरु नै भएको छैन ।

कार्यक्रम काममा आधारित पारिश्रमिक दिने गरी स्थानीय तहमार्फत साना आयोजनाहरु सञ्चालनमै केन्द्रित छ । बितेको तीन वर्षमा ४ लाख ४० हजार ३८१ जनाले ज्यालामा काम पाएका छन् । जबकि यो तीन वर्षमा २१ लाख जनालाई कामका लागि पारिश्रमिक दिने लक्ष्य थियो ।

सरकारले १६ देखि ५९ वर्ष उमेर समूहका सूचीकृत बेरोजगारलाई न्यूनतम सय दिन बराबरको रोजगारी दिने, रोजगारी दिन नसके एक सय दिन पुग्न बाँकी दिनको न्यूनतम पारिश्रमिकले हुन आउने दरको ५० प्रतिशतले हुने रकम निर्वाह भत्ता उपलब्ध गराउने कानूनी व्यवस्था गरेको छ । तर, यो व्यवस्थाअनुसार सूचीकृत बेरोजगारले काम वा निर्वाह भत्ता पाउन सकेका छैनन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले गाउँपालिकाका रोजगार सेवा केन्द्रमा सूचीकृत भएका बेरोजगारलाई कम्तीमा सय दिनको काम दिने व्यवस्था गरेको छ । तर, त्यसअनुसार रोजगारी उपलब्ध गराउन भने सकेको छैन ।

आर्थिक वर्ष २०७५/७६ मा ६४६ स्थानीय तहमा सञ्चालित कार्यक्रमबाट १ लाख ७१ हजार जनाले औसत १२.४३ दिन काम पाएका थिए । आव २०७६/७७ मा ४९५ स्थानीय तहमा कार्यक्रमले १ लाख ४ हजार जनालाई औसत १५.८५ दिनको काम र त्यसबापतको ज्याला दिन सकेको थियो ।
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले वर्षमा न्यूनतम सय दिनभन्दा कम अवधि मात्रै रोजगारी पाए सूचीकृत बेरोजगारलाई सय दिन पुग्न बाँकी अवधिको लागि तोकेको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत बराबरको रकम निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

कार्यक्रमले न्यूनतम रोजगारी पाउन नसकेका सूचीकृत बेरोजगारलाई निर्वाह भत्ता वितरण गर्न ५ वर्षको लागि २१ अर्ब ६ करोड २१ लाख १८ हजार बजेट अनुमान गरेको थियो । तर, सरकारले कार्यक्रमको वित्तीय योजना अनुरूप वार्षिक बजेट विनियोजन गर्न सकेको छैन । ३ वर्षमा यो प्रयोजनका लागि १८ करोड ५३ लाख विनियोजन भएकोमा वितरण भने भएको छैन ।

नियमअनुसार निर्वाह भत्ता बाँडेको भए आव २०७५/७६ मा रोजगारी नपाएका १५ लाख ३० हजारलाई ५० दिनको र रोजगार पाएका १ लाख ७२ हजार जनालाई ४४ दिनको पारिश्रमिक दिनुपर्ने थियो ।

आर्थिक वर्ष २०७६/७७ मा रोजगार नपाएका २ लाख ७७ हजार जनालाई ५० दिनको र रोजगार पाएका १ लाख ४ हजारलाई ४२ दिनको निर्वाह भत्ता उपलब्ध गराउनुपर्ने अवस्था थियो । यसका लागि २०७५/७६ मा ४३ अर्ब ४६ करोड ३१ लाख र २०७६/७७ मा ९ अर्ब ४१ करोड ८७ लाख आवश्यक हुन्थ्यो । तर, सरकारले छुट्याएको सानो रकम पनि वितरण गरेन ।

कार्यकमले लक्ष्यअनुसार अन्य क्षेत्रसँग समन्वय गरेर रोजगारी सिर्जना गर्न सकेको छैन । निजी क्षेत्र तथा सार्वजनिक निर्माणका कार्यमा सूचीकृत बेरोजगारलाई जोड्ने लक्ष्य भए पनि पहल नै भएको छैन ।

फितलो कार्यान्वयन

अर्थ मन्त्रालयले निर्वाह भत्ता वितरण गर्न बजेटमार्फत रकम विनियोजन गर्नुपर्ने हुन्छ । सोझै बजेटमार्फत निर्वाह भत्ता वितरण गर्ने अवधारणा दिगो नहुनेतर्फ ध्यान दिइएको छैन ।

बेरोजगार सूचीकरण यथार्थपरक नभएको र अनौपचारिक क्षेत्रमा रोजगार दर ३६.५ प्रतिशत रहेको अवस्थामा निर्वाह भत्ता दिन योग्य परिवार पहिचान गर्न कठिन छ । महालेखा परीक्षकको कार्यालयले आफ्नो ५८औं प्रतिवेदनमा निर्वाह भत्तालाई ‘बेरोजगार बीमा’को अवधारणा बमोजिम योगदानमा आधारित सामाजिक सुरक्षामा आवद्ध गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च जथाभावी तवरले भइरहेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९७ प्रतिशत खर्च आर्थिक वर्षको अन्तिम दुई महिनामा भएको थियो ।
कार्यक्रमको अधिकांश रकम स–साना टुक्रे काममा खर्च हुँदै आएको छ । कार्यक्रमले दिगो रोजगारी सिर्जना र पुँजी निर्माणमा योगदान नगरेको महालेखाको ४५औं वार्षिक प्रतिवेदनले औंल्याएको छ ।

काठमाडौं महानगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रम गर्दै/फाइल तस्वीर ।

‘अधिकांश रूपमा उक्त खर्चबाट नाली सफा गर्ने, चौर तथा बाटोको झार उखेल्ने, सरसफाइ गर्नेलगायतका कार्य गरिएको छ,’ प्रतिवेदनमा उल्लेख छ, ‘बजेट अन्तिम समयमा मात्र खर्च गर्दा अनुगमनमा कमीका कारण कार्यको गुणस्तरमा असर पर्ने देखिन्छ भने जेठ र असारमा वर्षे बाली लगाउने समय हुने हुँदा श्रमिक आयोजनामा सहभागी हुने सम्भावना समेत न्यून छ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ‘कामका लागि पारिश्रमिकमा आधारित आयोजना’ स्थानीय तहमा सूचीकृत बेरोजगार संख्यामा आधारित भएर चलाउनुपर्नेमा श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले सबै स्थानीय तहलाई एउटै डालोमा राखी एकमुष्ट बजेट विनियोजन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बेरोजगार दर्ता नै नभएका १२ स्थानीय तह र कम बेरोजगार दर्ता रहेका १० स्थानीय तहमा आवश्यक पर्नेभन्दा ९ करोड ४२ लाख ६९ हजारभन्दा धेरै रकम निकासा भएको थियो । यसबाट एकातिर बजेट खर्च नहुने र अर्कोतर्फ बेरोजगार धेरै भएका क्षेत्रमा लक्ष्यअनुसार रोजगारी सिर्जना नहुने अवस्था आएको छ ।

कार्यक्रम अन्तर्गत सबै स्थानीय तहका रोजगार सेवा केन्द्रले बेरोजगारको तथ्यांक संकलन तथा विश्लेषण गरी सूची अद्यावधिक गरिरहेका छन् । तर पूर्णकालीन, आंशिक, मौसमी, प्रक्रियागत, शैक्षिकजस्ता बेरोजगारहरुलाई वर्गीकृत रूपमा सूचीकरण गरिएको छैन ।

जनगणना–२०६८ अनुसार नेपालको कुल जनसंख्याको ४०.२२ प्रतिशत नागरिक भाडामा बस्दै आएका छन् । स्थायी ठेगानामा मात्र बेरोजगारमा सूचीकृत हुन पाउने व्यवस्थाले आफ्नो गाउँघर बाहिर रहेका लक्षित समूह बेरोजगारको सूचीमा समेटिन सकेका छैनन् ।

कार्यक्रममा सहभागी हुन चाहने बेरोजगारले हरेक वर्ष फागुनसम्म रोजगार सेवा केन्द्रमा नाम दर्ता गराउनुपर्ने नियम छ । यसरी आर्थिक वर्ष शुरु हुनुभन्दा चार महिना अगाडि नै सूचीकरण रोक्दा बेरोजगार दर्ता प्रक्रिया सकिएपछि रोजगारी गुमाउनेहरूले सूचीकृत हुन पाइरहेका हुँदैनन् । कार्यक्रममा सहभागी हुन यसरी एक वर्ष कुर्नुपर्ने अवस्थाले बेरोजगारको सूची वास्तविकतामा आधारित हुन पनि सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment