+
+

आफ्नै प्रश्नहरुको कठघरामा गगन थापा

०४६ को आन्दोलनका ‘बालकांग्रेस’ थापाले गणतन्त्र प्राप्तिको आन्दोलन, संविधान निर्माण र मन्त्रीका रुपमा तीन घुम्ती पार गरे । नेतृत्वलाई प्रश्न गरेर स्थापित भएका थापा अब आफ्नो परीक्षणको चौथो मोडमा छन्, आफ्नै प्रश्नहरुको कठघरामा छन् ।

बिनु सुवेदी बिनु सुवेदी
२०७८ पुष १ गते २०:२४

१ पुस, काठमाडौं । बहुदल प्राप्तिका लागि ०४६ सालमा आन्दोलन उत्कर्षमा पुगिरहेका बेला गगन थापा १४ वर्षका थिए । कक्षा नौ मा पढ्दै गर्दा उनी त्यस आन्दोलनमा बाल कांग्रेसका रुपमा सहभागी भए ।

०४६ को चैत २६ गते बहुदल आयो, त्यही बहुदलले गगन थापाहरुका निमित्त राजनीतिक यात्राको बाटो तय गरिदियो । त्यसयता कहिले विद्यार्थी, कहिले संसद र कहिले सरकारको मोर्चामा खरो उत्रिएका थापा बिहीबार कांग्रेस महामन्त्रीमा निर्वाचित भएसँगै परीक्षाको अर्काे चरणमा प्रवेश गरेका छन् । यो परीक्षामा उनले यसअघि आफैंले सोधेका अनगिन्ती प्रश्नहरुको जवाफ दिनुपर्ने छ ।

पहिलो घुम्ती : राजद्रोहको मुद्दा

२०५७ सालमा नेपाल विद्यार्थी संघको उपसभापति चुनिएका गगन थापा ०५९ मा महामन्त्री भए । उनी नेविसंघमा महामन्त्री हुँदा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता हातमा लिए । त्यसबेला राजाको उक्त कदमको विरोध गर्न राजनीतिक दलहरु भन्दा पहिले विद्यार्थी संगठनहरु सडकमा ओर्लिए र त्यो आन्दोलनको नेतृत्वकर्तामध्येका एक थिए यिनै थापा ।

नेपाली कांग्रेसले गणतन्त्र र संविधानसभाका विषयमा निर्णय नगर्दै त्यो मुद्धालाई स्थापित गराउन थापाले महत्वपूर्ण भूमिका खेले । पार्टीभन्दा अघि बढेर गणतन्त्रको आन्दोलनको अग्रमोर्चामा रहँदा थापाविरुद्ध पटक–पटक राजद्रोहको मुद्दा लाग्यो ।

त्यसबेला तत्कालिन सत्ताले अत्यधिक दुख दिँदा पनि परिवर्तनका लागि उनले लिएको अडानले जितेपछि उनलाई राजनीतिमा अघि बढ्न सजिलो भयो ।

संविधान निर्माणमा भूमिका, संसदमा प्रश्न

पहिलो संविधानसभा चुनावमा गगन थापा समानुपतिक सभासद भएर संविधानसभामा प्रवेश गरे । संविधानसभा अन्तर्गत मौलिक हक समितिको सदस्यका रुपमा उनले संविधानमा समावेश गर्ने मौलिक अधिकारको मस्यौदा तयार पार्नमा महत्वपूर्ण भूमिका खेले ।

पहिलो कार्यकालमा संविधानसभामा कांग्रेसको उपस्थिति कमजोर थियो, तर थापाको अब्बल । हुन त उनी मौलिक अधिकार समितिका सदस्य थिए तर राज्य पुनर्संरचना समितिमा पनि निवेदन हालेर छलफल गर्न पुग्थे ।

संघीयताको ‘मोडालिटी’का बारेमा हुने छलफलहरुमा सहभागी हुन्थे । प्रदेशहरुको नाम के हुने भन्ने बहस हुने तर तिनीहरुका अधिकारबारे कुरै नहुने परिपाटी जस्तै बसेका बेला थापाले राज्यका अधिकारहरुका बारेमा कुरा उठाए, नागरिकतासम्बन्धी संवैधानिक व्यवस्थामाथि फरक मत राखे ।

अहिलेको संविधानको नागरिकतासम्बन्धी व्यवस्था महिलाप्रति विभेदकारी रहेको भन्दै फरक मत राख्ने गगन थापा संभवतः एकमात्रै पुरुष सांसद हुन् । दोस्रो संविधानसभामा उनी संसदको कृषि तथा जलस्रोत समितिका सभापति थिए । त्यसबेला पनि समितिलाई उनले सक्रिय बनाए ।

संसदीय समितिहरुको संयुक्त बैठक बस्ने अभ्यासलाई गगन थापाले पुनर्जागृत गरे ।संविधानसभा र संसदको तीन कार्यकालमा एउटा सांसदले जे गर्न सक्छ त्यसमा थापा खरो उत्रिए । सांसद र सभासद्को रुपमा थापाले खेलेको भूमिकालाई उनको क्षेत्रका मतदाताले अनुमोदन गरे, त्यसैले उनी आफ्नो निर्वाचन क्षेत्रमा बलिया देखिन्छन् ।

सरकारमा नौ महिना, आश लाग्दा योजना

सडक आन्दोलन गर्दा र संसदबाट प्रश्न उठाउँदा थापालाई जति सहज थियो, सरकारमा गएपछि उनी काम गरेरै देखाउनुपर्ने अवस्थामा पुगे । २०७३ मा स्वास्थ्यमन्त्री नियुक्त भएपछिको नौ महिना स्वास्थ्य क्षेत्रको कायापलट नै हुनेगरी त उनले काम गर्न सकेनन्, तर सुधारका थुप्रै कदम चाले ।

उनले संघीय नेपालको स्वास्थ्य संरचनाको खाका नै तयार पारेका थिए । गठबन्धन सरकारमा स्वास्थ्यमन्त्री थापाको भूमिका धेरै उपलब्धीपूर्ण नभए पनि आशा जगाउने खालको थियो ।

अब प्रश्नभन्दा धेरै जवाफ दिनुपर्छ

२०६७ सालमा भएको पार्टीको १२ औं महाधिवेशनमा गगन थापा अत्यधिक मतसहित केन्द्रीय सदस्य निर्वाचित भए । ‘तर पछिल्लो बेन्चमा बसेर पार्टीमा परिवर्तन ल्याउन सकिदो रैन’छ,’ १३ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा थापाले भनेका थिए । तर, उनी पराजित भए ।

पराजित भए पनि पार्टी नेतृत्वले गरेका गलत निर्णयका प्रति प्रश्न उठाए, सरकारका कामकारबाहीबारे सदनमा खबरदारी गरे । ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा सबैभन्दा पहिले सडकमा आएर उक्त कदमको विरोध गर्ने थापा नै थिए । जहाँ जस्तो मन्च भेटे थापाले केबल प्रश्न गरे, असहमति राखे ।

नरहरि आचार्यसहितका कांग्रेस नेताहरुले थालेको पार्टी सुधारको अभियानमा ०५८/०५९ बाटै संलग्न रहेका थापा अहिले त्यो अभियान पूरा गर्ने ठाउँमा पुगेका छन् ।

थापा पार्टीको महामन्त्री निर्वाचित हुँदै गर्दा सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन्, जसलाई सबैभन्दा धेरै आलोचना यिनै थापाले गरेका छन् । पार्टीको मूल नेतृत्व परिवर्तन थापासहितको समूहको मूल एजेण्डा हो, शेरबहादुर देउवाबाट कांग्रेस चल्न सक्दैन भन्ने थापाको पनि ठम्याइ हो ।

महामन्त्रीमा उम्मेदवारी दिंदै गर्दा थापाले पार्टी रुपान्तरण र पुनर्जागरणका लागि भन्दै ६० पृष्ठको अवधारणापत्र अघि सारे । आफ्नो अवधारणापत्रमा भनेझै ‘समुन्नत नेपाल, सम्मानित नेपाली’ बनाउन अब भने उनी अग्नि परीक्षामा होम्मिइसकेका छन् ।

थापाले अवधारणापत्रमा भनेका छन्, ‘२००६ सालको जस्तो क्रान्तिचेत, १५ सालको जस्तो प्रगतिशिल र समाबेशी सोच, २०४८ सालको जस्तो लोकप्रिय मत, ०६२/०६३ जस्तो सर्वस्वीकार्य नेतृत्व भएको हाम्रो गौरवशाली विगतबाट प्रेरणा लिंदै आजको समयको चेत बुझेर नवीन  पुस्ताले विश्वास र भरोसा गर्ने स्पष्ट ध्येय भएको गतिशील र आधुनिक संगठन बनाउनु छ ।’

यो अवधारणामा कांग्रेसजनले गरेको विश्वास र मुलुकले गरेको अपेक्षा पनि जोडिएको छ । तर पार्टीको उही संरचना, त्यही विधान र उस्तै परम्पराको बीचबाट आफ्ना प्रश्नहरुको जवाफ थापाले खोज्नुपर्छ, आजसम्म आफ्नै प्रश्नहरुले सिर्जना गरेको कठघराभित्र उभिनुपर्छ ।

लेखकको बारेमा
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?