+
+

हिमाली भेगमा सबैभन्दा पुरानो ‘तोल ल्होसार’ मनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १९ गते १४:०५
फाइल तस्वीर

१९ पुस, काठमाडौं । सोमबार हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ ।

नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् । तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो ल्होसार फागुन प्रतिपदामा मनाइन्छ । यी ल्होसारहरुमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ । पुस शुक्ल प्रतिपदाको दिन नेपालका हिमाली जिल्लासँगै तिब्बत र भुटानमा समेत यो पर्व मनाउने गरिन्छ ।

यो हिमाली भेगका अल्पसंख्यक जातिले मनाउने भएकाले तोल ल्होसारको चर्चा कम हुने गरेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले अनलाइनखबरमा उल्लेखित आलेखमा बताएका छन् । उनी अन्य ल्होसारमा जस्तै तोल ल्होसारलाई पनि सरकारले राष्ट्रिय पर्वको रुपमा मान्नुपर्ने धारणा राख्छन् ।

हुम्लाको सिमकोट गाउँपालिकाका अध्यक्ष पदम बहादुर लामा तोल ल्होसार नेपालमा मनाइने सबै ल्होसारभन्दा पुरानो रहेको दाबी गर्छन् । पौष शुक्ल प्रतिपदाको दिन मनाइने यो पर्व हिमाली भेगका लामा, शेर्पा लगायत जातिले नयाँ वर्षको रुपमा मनाउने गर्छन् । यो ल्होसारको समयको आधारमा भन्दा अरु ल्होसारभन्दा एक शताब्दी पहिलेदेखि चल्न शुरु भएको लामा दाबी गर्छन् ।

डा. गुरुङका अनुसार मूल ल्होसार चाहिं तोल ल्होसार नै हो । चिनियाँ तिब्बती ज्योतिषशास्त्र अनुसार पौष शुक्ल प्रतिपदामा प्रवर्द्धन हुने तोल ल्होसारको र भारतीय ज्योतिष शास्त्रअनुसारको पौष शुल्क प्रतिपदा एकैदिन मिल्छ ।

वडाध्यक्ष लामाका अनुसार यो पर्व आफूभन्दा ठूलासँग आशीर्वाद लिएर, मीठामीठा परिकार खाएर मनाउने गरिन्छ । यो चाड सोनाम ल्होसारको जस्तै गरी मनाइने भएपनि दुई ल्होसारमा तिथि भने फरक छ ।

लामाका अनुसार तोल ल्होसारको दिन बिहानै घरधनी पवित्र भएर घर–आँगन लिपपोत गरी शुद्ध पारिन्छ । लामा पुरोहितबाट वा घरको मूल व्यक्तिबाट घरमा वा थानमा पूजाआजा गराई गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने चलन छ । पूजाआजाको सबै काम सकिएपछि मान्यजनबाट आशीर्वाद लिने गरिन्छ । हिमाली भेगको विशेष परिकारमा फुरौला, बाबरी रोटी, कन्दमूल जस्ता खानेकुराहरु तोल ल्होसारको दिन खाने गरिएको लामा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?