+
+

‘एक्स ९’ निर्देशकको दाबी- चलचित्र बन्छ, केही महिना पछि सरेको मात्र हो

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १२:४३

२९ माघ, काठमाडौं । अभिनेताहरु अनमोल केसी, पुष्प खड्का, सौगात मल्ल लगायतका कलाकारलाई अनुबन्धित गरिएपनि छायांकनमा जान नसकेको चलचित्र ‘एक्स ९’ बन्दैन भन्ने चर्चा भइरहेको छ । अनमोलले चलचित्रका लागि बनाएको गेटअप समेत परिवर्तन गरिसकेका छन् ।

तर चलचित्रका निर्देशक मुकुन्द भट्टले भने चलचित्र बन्ने दाबी गरेका छन् । उनले अनलाइनखबरसँग भने, ‘यहाँ एक करोड बजेटको चलचित्र बनाउन त मुस्किल पर्छ । हाम्रो चलचित्रको बजेट १० करोडमाथि पुगिसकेको छ । यसैले सबै कुराको व्यवस्था गर्न केही समय लागेको मात्र हो । चलचित्र नै बन्दैन भन्ने हल्ला व्यर्थ हो ।’

मुकुन्दले यसपटक आफूले नेपाली चलचित्रलाई विश्वबजारमा पुर्‍याउनका लागि कोशिश गरिरहेको सुनाए । ‘हामीलाई विश्वका हरेक भाषाका चलचित्रबारे जानकारी छ । तर, के उनीहरुले नेपाली चलचित्रबारे केही थाहा पाएका छन् त ?’ उनले भने ।

मुकुन्दले चलचित्रको बजेट उच्च भएकाले पनि त्यसलाई व्यवस्थापन गर्न केही समय लागेको र सबै काम सकेपछि छायांकन सुरु गर्ने बताए । नेपाली चलचित्रलाई पनि अब विश्वका चर्चित ओटीटी प्लेटफर्ममा लैजाने कोशिश आफूले गरेको उनको भनाइ छ । ‘यदि हामीले यो प्रयासमा सफलता हासिल गर्न सकेको खण्डमा नेपाली चलचित्रका लागि ठूलो बजारको बाटो खुल्नेछ,’ उनले भने ।

यस विषयमा अभिनेता अनमोल केसीले भने, ‘चलचित्र नै बन्दैन भन्न त नमिल्ला । मलाई निर्माणपक्षले केही समयपछि छायांकन हुने भयो भन्नु भएको छ । यसैले मैले ‘हनी बनी’ साइन गरेको हुँ ।’

चलचित्र ‘एक्स ९’लाई फ्रेबुअरीबाट सुरु गर्ने निर्माणपक्षको तयारी छ । चलचित्रलाई युरोपका विभिन्न देशमा छायांकन गरिने निर्देशक भट्टले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?