+
+
उद्यम :

स्वदेशी बजारमै प्रवर्द्धन गरौं अलैंची

सामाजिक सञ्जाल र प्लेटफर्महरूमा प्रचार अभियानले सफलता पाएपछि नेपाली उपभोक्ताले अलैंचीको माग गर्न थाल्नेछन्। यसले सुकुमेलको लागि अन्तर्राष्ट्रिय बजारमा हाम्रो अत्यधिक निर्भरता कम गर्नेछ।

पदम भण्डारी पदम भण्डारी
२०७८ फागुन १३ गते १९:५९

नेपालमा अलैंचीको व्यापार सहजीकरणमार्फत अलैंची र त्यसका उत्पादनको निर्यात बढाउनु र मूल्य अभिवृद्धिमार्फत आन्तरिक माग बढाउनु जरुरी छ ।

नेपाल अलैंचीको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता भए पनि देशभित्र यसको खपत निकै न्यून छ । जसले गर्दा व्यापारीहरू नेपाल बाहिर बजार खोज्न बाध्य भएका छन् । अर्कोतर्फ अलैंचीको विकल्पको रुपमा धेरै गुणा महँगो हुने सानो अलैंची अर्थात् सुकुमेलको आयात नेपालमा उच्च छ । अलैंची र यसको मूल्य अभिवृद्धि गरिएका उत्पादनहरूको बजार मागलाई प्रोत्साहित गर्नका लागि प्रवर्द्धनात्मक क्रियाकलापहरू मार्फत प्रवर्द्धन गर्नु जरुरी छ ।

अलैंचीको स्थानीय बजार प्रवर्द्धन गर्न विशेष हस्तक्षेपको रणनीति बनाउनु जरुरी छ । यसको उद्देश्य भनेको अलैंचीलाई घरेलु बजारका सम्भावित ग्राहकहरूले सुन्ने र देख्ने बनाउने हुनुपर्छ । हस्तक्षेपका विशिष्ट उद्देश्यहरूमा अलैंची र यसको मूल्य अभिवृद्धि भएका उत्पादनहरूको प्रयोगलाई उपभोक्ताहरूको दैनिक खाना र बानीमा प्रवर्द्धन गर्ने, घरेलु उत्पादन र प्याकेज गरिएको अलैंचीसँग सुकुमेलको आयात घटाउने, सम्भावित ग्राहकहरूलाई अलैंचीबाट हुने स्वास्थ्य लाभहरूको बारेमा जनचेतना फैलाउने हुनुपर्छ । त्यस्तै अलैंची र यसको उत्पादनहरू खरिद र प्रयोग गर्न ग्राहकहरूलाई उत्साहित बनाउनको लागि श्रव्य(दृश्य सामग्री र छापिएका सञ्चार सामग्रीहरू बनाउनु जरुरी हुन्छ। हस्तक्षेपले रोजगारी, व्यापार मूल्य, निजी लगानी बढाउने र दीर्घकालीन हस्तक्षेपको मात्रा र परिमाणका आधारमा किसानहरूलाई पनि फाइदा पुग्छ ।

विद्यमान अवस्थामा नेपालको पूर्वी भेग अर्थात् प्रदेश–१ अलैंची सबैभन्दा बढी हुने ठाउँ हो । त्यहाँ किसानस्तरमा काँचो अलैंची उत्पादन र सुकाएर क्षेत्रीय व्यापारी र थोक बिक्रेतामार्फत बिर्तामोड बजारमा ढुवानी गरिन्छ । त्यसपछि यो बिर्तामोडबाट कच्चा रूपमा, धेरै कम पोष्ट-हार्भेस्ट सुधार (पुच्छर काट्ने) पछि बोरा र जुटको झोलामा भारत निर्यात गरिन्छ । काँचो सुकेको अलैंचीको ९० प्रतिशतभन्दा बढी भारतमा निर्यात गरिन्छ जहाँबाट यसलाई थप प्रशोधन गरी प्याकेज गरेर तेस्रो मुलुकको बजारसम्म पुर्‍याउने गरिन्छ ।

अहिलेको अवस्थामा नेपालमा जति काँचो अलैंची उत्पादन हुन्छ, त्यो भारतमा सहमतिको मूल्यमा जान्छ । निर्यातकर्ताहरूले उनीहरूको निर्यातमा पनि राम्रो मार्जिन कमाउँदैछन् । तर निर्यातकर्तारप्रोशोधनकर्ताहरूले अलैंचीको आन्तरिक बजारमा अवसर पाएका छैनन् । सुकुमेल अलैंचीको निकट विकल्प हो र विश्वभरबाट नेपालमा आयात गरिन्छ । अलैंचीको तुलनामा सुकुमेलको मूल्य ५००–६०० प्रतिशत बढी भए पनि नेपालका अधिकांश मानिसले खाना तथा मिठाईमा सुकुमेलको प्रयोग गरिरहेका छन् ।

अलैंची (क्याप्सुल र प्रशोधित) को अपर्याप्त बजारीकरण र वितरण देशभित्रै खपत हुनसक्छ । साथै नेपालले उत्पादन र निकासी गर्ने अलैंचीको प्रशोधित उत्पादनहरू (जस्तै माउथ फ्रेसनर, अलैंची पाउडर, अलैंची चिया आदि) का रुपमा फेरि नेपाली बजारमै आउँछ र प्रिमियम मूल्य ल्याउँछ । यसले घरेलु बजारमा अलैंची र यसको मूल्य अभिवृद्धि अलैंची उत्पादनको मागको सम्भावना देखाउँछ । यो सबै अलैंची निर्यात गर्ने कम्पनीहरूलाई पूर्ण रूपमा जानकारी नभएको कुरा भने होइन । उनीहरूले नेपालमा पनि सम्भावना देख्न थालेका छन् । नेपालमा धेरै अलैंची व्यापारिक कम्पनीहरू आउँदैछन् र घरेलु बजार अन्वेषण गर्न खोजिरहेका छन् । तर तिनीहरूसँग ठूलो मात्रामा उद्यम गर्न पर्याप्त बजार ज्ञान, सीप र लगानी छैन । घरेलु बजारमा ठूलो लगानी गर्नुअघि अलैंचीलाई सामूहिक रुपमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता छ ।

नेपालमा अलैंचीको सीमित प्रवर्द्धन भइरहेको छ । अलैंची र यसको मूल्य अभिवृद्धि उत्पादनको प्रवर्द्धन गर्न अलैंचीको आन्तरिक खपत बढाउनुपर्छ । अलैंचीको स्वाद सुकुमेल भन्दा राम्रो हुन्छ, मूल्यमा सस्तो र स्वास्थ्य लाभहरू छन् । विभिन्न रेसिपीहरूमा अलैंचीको सम्भावित प्रयोगको बारेमा उपभोक्ताहरूलाई थाहा छैन । नेपालमा अलैंचीका लागि घरेलु बजारमा अवसरहरू (जस्तै मसला, पाउडर, माउथ फ्रेसनर, स्वाद एजेन्टहरू, आवश्यक तेलहरू आदि) मा ज्ञान सीमित मात्रामा छ । तसर्थ, अलैंची र प्रशोधित उत्पादनहरूको आन्तरिक मागलाई बढाउन बजार प्रवर्द्धन अभियान अत्यन्त महत्त्वपूर्ण छ ।

अलैंची प्रवर्द्धन अभियानको उद्देश्य घरेलु उपभोक्ता, होटल तथा मसला उद्योगमा अलैंची र त्यसका उत्पादनको फाइदा, प्रयोग र स्वादबारे जानकारी गराउनु हुनुपर्छ । यसका लागि सञ्चारका विभिन्न माध्यमहरू मार्फत विभिन्न प्रचार सामग्रीहरू बनाउनु जरुरी छ । भिडियो सबैभन्दा प्रभावकारी माध्यम भएकोले भिडियो उत्पादन कम्पनीलाई संलग्न गराउनुपर्छ । यसका लागि अलैंची व्यापारीहरू, अलैंची उद्यमी महासंघ, स्थानीय तहहरू, संघीय तथा प्रदेश कृषि मन्त्रालयले मिलेर काम गर्नुपर्ने हुन्छ जसले प्राविधिक सहयोग र श्रव्यदृश्य सामग्रीको उत्पादन गरी आफ्नो नेटवर्कमार्फत बजारमा वितरण गर्न मद्दत गर्नेछ ।

सामाजिक सञ्जाल र प्लेटफर्महरूमा प्रचार अभियानले सफलता पाएपछि नेपाली उपभोक्ताले अलैंचीको माग गर्न थाल्नेछन् । यसले सुकुमेलको लागि अन्तर्राष्ट्रिय बजारमा हाम्रो अत्यधिक निर्भरता कम गर्नेछ । यसबाहेक खुद्रा ग्राहकहरूले यसको थप माग गर्न थालेपछि मसला उद्योगले विभिन्न मूल्य अभिवृद्धिका अलैंची उत्पादनहरू उत्पादन गर्न थाल्नेछन् जसले मागलाई बढाउँछ र अन्ततः भविष्यमा धेरै अलैंची उत्पादन गर्न मद्दत गर्दछ ।

कृषि-व्यवसायहरू, विशेषगरी साना तथा मझौला उद्यमीहरूसँग उत्पादनको गुणस्तर सुधार गर्ने र आफ्नो सञ्जाल विस्तार गर्ने अवसर छ । साना तथा मझौला उद्यमीहरूले आफ्नो सञ्जाल विस्तार र प्रवर्द्धन पछि आफ्नो उत्पादनको गुणस्तरमा उल्लेखनीय सुधार गर्नेछन् । धेरै कृषि व्यवसायहरूले हालको अलैंची बजारको बारेमा स्थानीय रुपमा सचेत हुनेछन् जसले देशभित्र आफ्नो सञ्जाल विस्तार डिलरसिपहरू बढाउनेछन् ।

नतिजा स्वरुप कृषि-व्यवसायहरू, विशेषगरी साना तथा मझौला उद्योगहरूले प्रमुख मूल्य श्रृंखलाहरूमा कृषि उत्पादनको व्यापार मूल्य बढाउँछन्। प्रचार अभियान पछि उपभोक्ताहरूले अलैंचीको माग बढ्नेछ । साना तथा मझौला उद्योगहरूले आफ्नो मुख्य आपूर्ति श्रृंखलालाई बलियो बनाएर कच्चा पदार्थको खरिदमा वृद्धि गर्नेछन् जसको फाइदा अन्ततः मूल्य श्रृंखलाका प्रत्येक कर्ताहरूलाई प्राप्त हुनेछ । यसबाहेक साना तथा मझौला उद्योगहरूले आफ्नो व्यापारको आकार र व्यापारको मात्रा उल्लेखनीय रूपमा वृद्धि गर्नेछन् ।

अलैंची प्रवर्द्धन र बजारीकरणले व्यवसाय भित्र र बाहिर रोजगारी सिर्जना गर्नेछ । व्यापारको मात्रा बढ्दै जाँदा, व्यापारी, डिलर र थोक बिक्रेताहरूले आफ्नो व्यवसाय भित्र कर्मचारीहरूको संख्या बढाउनेछन् । अलैंची मूल्य शृंखलाका सबै कर्ताहरूलाई समयावधिमा मद्दत गर्न सहयोगी निकायहरूले हस्तक्षेपको रणनीति बनाउनु जरुरी छ ।

अलैंची प्रवर्द्धन र बजारीकरणले व्यवसाय भित्र र बाहिर रोजगारी सिर्जना गर्नेछ । व्यापारको मात्रा बढ्दै जाँदा, व्यापारी, डिलर र थोक बिक्रेताहरूले आफ्नो व्यवसाय भित्र कर्मचारीहरूको संख्या बढाउनेछन् । अलैंची मूल्य शृंखलाका सबै कर्ताहरूलाई समयावधिमा मद्दत गर्न सहयोगी निकायहरूले हस्तक्षेपको रणनीति बनाउनु जरुरी छ । एकपटक अलैंची प्रवर्द्धन अभियान सुरु भएपछि अलैंचीको प्रयोग र स्वादको लागि सम्भावित ग्राहकहरूमा दीर्घकालीन प्रभाव हुनेछ । आवश्यक प्रचार र विज्ञापनपछि अलैंची र यसका उत्पादनको आन्तरिक मागमा उल्लेख्य वृद्धि हुनेछ ।

अलैंची र यसका उत्पादनलाई बजारले स्वीकार गरेमा व्यापारी र साना तथा मझौला उद्यमीहरूले जिल्लास्तरमा सङ्कलक र व्यापारीहरूबाट अलैंची खरिदबिक्री गर्नेछन् जसबाट किसानको स्तरमा पनि माग बढ्नेछ । अलैंची र यसका उत्पादनहरू देशभर वितरण गर्ने उदीयमान प्रशोधनकर्ता र व्यापारीहरू हुनेछन् भन्ने आशा गर्न सकिन्छ । यसले मूल्य शृङ्खलामा लाभहरू सुनिश्चित गर्नेछ र व्यापार मोडेल दिगो हुन्छ । त्यसैगरी बजारको मागअनुसार काँचो अलैंचीको गुणस्तर पनि बढ्नेछ । जब बजारले आफ्नो स्थान लिन्छ तब सहयोग गर्ने बाह्य निकायहरूको जरुरत पर्दैन, बजारकर्ताहरूले नै त्यसको व्यवस्थापन गर्छन् ।

प्रति घर अलैंची खेती अन्तर्गत औसत क्षेत्रफल प्रति घर ०.४ हेक्टर वा ७.९ रोपनी (दायरा ०.०२५ देखि ३ हेक्टर) छ । यसको मतलब अधिकांश किसान साना किसान (०.५ हेक्टरभन्दा कम) छन् । अलैंची खेतीका लागि प्रयोग गरिने जमिन सामान्यतया प्रयोगविहीन र कम बजार मूल्य भएको पहाडी भेगमा सीमान्तकृत भूमि हो । बहुसंख्यक सीमान्तकृत जात/जाति समूहको सीमान्त ढल्किएको जमिन छ जहाँ अलैंची खेती राम्रो आम्दानीको लागि उत्तम उपाय हो । यो एक उच्च मूल्य वस्तु हो त्यसैले किसान, विशेषगरी सीमान्तीकृतहरूको आय वृद्धि गर्न सक्ने क्षमता छ । प्रवर्द्धन अभियानको साथ, एक पटक माग उठेपछि, यसले अन्ततः गरिब किसान परिवारबाट उत्पादनलाई उत्प्रेरित गर्नेछ अन्ततः उनीहरूको आम्दानीमा वृद्धि हुनेछ । उत्पादनमा वृद्धिसँगै प्रशोधन र निर्यातक तहमा गरिब परिवारका लागि रोजगारीका अवसरहरू बढ्नेछन् ।

ग्रामीण क्षेत्रबाट पुरुषको बढ्दो पलायनका कारण खेतबारी र परिवार व्यवस्थापनको जिम्मेवारी महिलाको काँधमा परेको छ । अलैंची क्षेत्रमा परम्परागत पुरुष भूमिका र निर्णय लिने क्षेत्र महिलातर्फ सर्दै गएको छ । महिलाहरू प्रायः सबै गतिविधिमा समान रूपमा संलग्न छन् -जस्तै जग्गा तयार गर्ने, बिरुवाको व्यवस्थापन, नयाँ रोपण, रोग/कीरा पहिचान, परिपक्व फल (क्याप्सुल), पुच्छर काट्ने, सुकाउने, वर्गीकरण/ग्रेडिङ, भण्डारण, हालको मूल्य जाँच गर्ने र अलैंची बेच्ने आदि । अलैंची मुख्यतया सीमान्तकृत जात/जाति समूह बसोबास गर्ने क्षेत्रहरूमा व्यापक रुपमा उत्पादन गरिन्छ । सामान्यतया जनजाति समुदायको बस्ती उच्च भएको ठाउँमा अलैंची खेतीमा उनीहरूको संलग्नता बढी छ । यसबाहेक प्रशोधक/व्यापारी स्तरमा अलैंचीको पुच्छर काट्ने काममा ७०० भन्दा बढी महिलाहरू पहिले नै संलग्न छन् जुन कटनी पछिको कामको एक हिस्सा हो । उत्पादन बढेपछि फसल काट्ने काममा महिला रोजगारीको संख्यामा केही समयपछि उल्लेख्य वृद्धि हुनेछ ।

अलैंची र यसको उत्पादनलाई स्वदेशी बजारमा प्रवर्द्धन भएपछि महिला र सीमान्तकृत जात/जाति समूहका लागि आयको अवसर प्रदान गर्ने सम्भावना पनि बढ्छ ।

अलैंचीको गुणस्तर सुधार गर्न, उत्पादकहरूले आफ्नो विद्यमान सुकाउने प्रणालीलाई सुधार गर्न आवश्यक छ जुन अत्यधिक धुवाँयुक्त छ, जसले धेरै कार्बन उत्सर्जन पनि गर्दछ ।

उत्पादकहरूले गुणस्तरीय काँचो अलैंची उत्पादनको लागि सुधारिएको ड्रायर (विद्युत्, सौर्य वा अन्य) प्रयोग गर्ने भयो भने व्यवसायको दिगो विकासमा समेत योगदान गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?