+
+

दुई वर्षदेखि चीनको नाका नखुल्दा उत्तरी गोरखाका वासिन्दा समस्यामा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते १८:५५

२६ फागुन, गोरखा । कोरोना महामारीका कारण दुई वर्षअघि बन्द भएका गोरखाका दुई नाका अझै नखुल्दा उत्तरी गोरखाका वासिन्दा समस्यामा परेका छन् ।

सडकले नछोएको सो क्षेत्रमा चिनियाँ बजारबाट सामान ल्याउन सस्तो र सजिलो हुने भएकाले स्थानीय वासिन्दा चीनको नाका खुलेमा सहज हुने बताउँछन् ।

चीनसँग सीमा जोडिएका उत्तरी गोरखाको दुई नाका छेकम्पारको ङुइला भञ्ज्याङ र सामागाउँको रुइला नाका बन्द छन् । नाका सञ्चालनको पहल गरिदिन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पटक-पटक पत्राचार गरेको छ, तर अहिलेसम्म नाका खुल्न सकेको छैन ।

‘पहिलो पटक गत असोज १९ गते मन्त्रालयमा पत्राचार गर्‍यौं,’ प्र्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले भने, ‘त्यसको सुनुवाइ नभएपछि मंसिर ३ गते पुनः अर्को पत्र पठायौं ।’

सोही पत्रको आधारमा गृह मन्त्रालयले नाका सञ्चालनका लागि आवश्यक समन्वय तथा सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको जानकारी आएको प्रजिअ आचार्यले बताए ।

त्यस क्षेत्रका बासिन्दालाई खाद्यान्न देखि दैनिक जीवनयापनमा सहज हुने भएकाले उक्त नाकाहरु सञ्चालनका लागि चीनसँग आवश्यक समन्वय र सहजीकरण गरिदिन भन्दै गृहले परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको छ ।

परराष्ट्र मन्त्रालयले बिहीवार चिनियाँ टोलीसँग भेटघाट गर्ने कार्यक्रम रहेको र सोही क्रममा नाका सञ्चालनको विषयमा पनि छलफल गर्ने जानकारी आएको प्रजिअ आचार्यले बताए । ‘आज चिनिया टोलीसँग छलफल छ, त्यही बेला नाका सञ्चालनका लागि आग्रह पनि गर्छौ भन्नुभएको छ, छलफल सकारात्मक होला भन्ने अपेक्षा गरौं’ प्रजिअ आचार्यले भने ।

स्थानीय वासिन्दाले भने नाका बन्द हुँदा दैनिक उपभोग्य वस्तुकै अभाव भएको बताएका छन् । ‘नुन, तेल, चामलदेखि लत्ताकपडासम्म हामीले त्यहीँबाट ल्याउने हो,’ सामागाउँका स्थानीय मिङ्मार लामाले भने, ‘तर नाका बन्द हुँदा महँगो मूल्य तिरेर काठमाडौं, आरुघाट वा गोरखा बजारबाट लानुपरेको छ ।’

करिब तेब्बर बढी मूल्य तिरेर सामान लानुपर्ने बाध्यता रहेको उनले गुनासो गरे । चौरी र याकले खाने नुन तिब्बतमा मात्र पाउने भएकाले पनि नाका बन्द हुँदा समस्या भएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?