
१० चैत, काठमाडौं । भारतको उत्तर प्रदेशमा योगी आदित्यनाथ भोलि शुक्रबार मुख्यमन्त्रीको सपथ लिने भएका छन् ।
लखनउमा बसेको भारतीय जनता पार्टी विजेपीको विधायक दलको नेता चुनिएपछि योगी दोश्रो कार्यकालका लागि उत्तर प्रदेशको मुख्यमन्त्री बन्न लागेका हुन् ।
योगीले शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने छन् । तर उनको मन्त्रिपरिषदमा को को र कति जना मन्त्री हुन्छन् भन्ने टुंगो लागेको छैन ।
सपथग्रहण समारोहमा भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी तथा विजेपी शासित प्रदेशका मुख्यमन्त्री सहभागी हुने छन् । बिहारका मुख्यमन्त्री नितिश कुमारलाई पनि सपथ ग्रहण समारोहमा आमन्त्रण गरिएको छ ।
७ चरणमा भएको उत्तर प्रदेशको विधानसभा चुनावमा बिजेपी र उसका समर्थक दलले २ सय ५५ सिट जितेका छन् ।
मुख्यमन्त्री आदित्यनाथ यसअघि सन् २०१७ मा उत्तरप्रदेशको मुख्यमन्त्री बनेका थिए । भारतको उत्तराखण्डमा जन्मिएका उनको खास नाम अजय सिंह बिष्ट हो । तर गोरखनाथ मन्दिरको मुख्य पूजारी बनेपछि उनी योगी आदित्यनाथको नामले चिनिएका हुन् ।
प्रतिक्रिया 4