+
+

ओलम्पिक पदकबाट शिशुलाई नयाँ जीवन

जयदेव गौतम जयदेव गौतम
२०७९ वैशाख ३ गते ८:४५

खेलकुदको कुरा गर्दा, अहिले हामीसित हातेमालो गरिरहेको अङ्ग्रेजी महिना अप्रिलबाट गणना गर्ने हो भने अबदेखि सातौं महिनामा बत्तीस देशले प्रतिस्पर्धा गर्ने बाइसौँ फिफा विश्व कप फुटबल प्रतियोगिताले संसारको ध्यान एकोहोर्‍याउने छ ।

आउँदो नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म पहिलोपटक हिउँद याममा र कुनै अरब मुलुक (कतार) मा विश्वकै यो ठूलो प्रतियोगिताहुन गइरहेको छ । त्यसअघि पछिल्लोपटक चीनियाँ राजधानी बेइजिङमा ‘हिउँदे ओलम्पिक २०२२’ गत फेब्रअरी ४ देखि फेब्रअरी २० सम्मआयोजना भयो भने त्यसको लगत्तै मार्च ४ देखि मार्च १३ सम्म तेह्रौं ‘प्यारालम्पिक विन्टर गेम्स’पनि सम्पन्न भयो । अझ त्यसभन्दा केहीअघि मात्र ‘टोक्यो ओलम्पिक २०२०’ कोभिड-१९ ले गर्दा अलि पछि सरेर २३ जुलाई २०२१ देखि ८ अगस्त २०२१ सम्म जापानी राजधानी सहरका रित्ता रंगशालाहरूमा सम्पन्न भएको थियो ।

र यहाँ प्रस्तुत कथा-सन्दर्भमूलतः त्यही टोक्यो ओलम्पिकसित सम्बन्धित छ ।

ओलम्पिक खेलकुद प्रतियोगितामा भाग लिनु र पदक जित्नु हरेक खेलाडीको सपना हुने गर्दछ । (त्यसो त भनिन्छ, ओलम्पिकमा जित्नु होइन सहभागी हुनु नै ठूलो कुरा हो) । खेलाडीहरू ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्न र पदक जित्नका लागि धेरै कुराहरू त्यागेर दत्तचित्त लागिपरेका हुन्छन् । तर, त्यस्ता केही थोरै मात्र खेलाडी हुन्छन् जसले आफ्नो त्यस्तो सपना अरू कोही कसैका लागि पुनः परित्याग गर्न सक्छन् ।

मारिया आन्द्रेजसिक एकजना त्यस्तै खेलाडी बनेर देखा परिन् । खेलकुदमा उनले पोल्यान्डको प्रतिस्पर्धा गर्दै आएकी छन् ।

मारियाले अगस्त ३-६, २०२१ मा टोकियो ओलम्पिकअन्तर्गत भएको महिला ज्याभलिन थ्रो प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन् । त्यहाँबाट स्वदेश फर्केको पाँच दिन बित्न पाएका थिएनन्, उनले आफूलाई मानवसेवामा यसरी समर्पित गरिन् जसले गर्दा उनी स्वदेशमा मात्र होइन सम्पूर्ण विश्वमै प्रशंसा र सम्मानकी उच्च पात्र बन्न पुगिन् ।

टोकियोमा रजत पदकबाट देशको नाम उच्च पार्दै स्वदेश फर्केपछि उनले थाहा पाइन्- पोल्याण्डमा एकजना आठ महिने शिशुको मुटुको शल्यक्रिया (हार्ट सर्जरी) गर्नुपर्ने छ र त्यसका लागि आर्थिक सहायताको खाँचो परेको छ ।

मारियाले यो थाहा पाउनासाथ अरू केही सोच्न सकिनन्, उनले ‘माल्यासा’ नाम भएको त्यस अपरिचित शिशुको स्वास्थ्य-उपचारका लागि आर्थिक संकलन गर्ने सोच बनाइन र तत्काल आफूले केवल दुई साताअघि मात्र जितेको विश्व-सम्मानित ओलम्पिक रजत पदक लिलाम-बिक्री गर्ने घोषणा गरिन् । उनले आफ्नो त्यस ‘डेब्यू ओलम्पिक पदक’ को मूल्य एक लाख पच्चीस हजार अमेरिकी डलर पनि निर्धारण गरिन् ।

उनले आफ्नो फेसबुक वालमा लेखिन्, ‘मैले आठ महिने शिशु मिलोस्जेक माल्यासाबारे अनलाइनबाट थाहा पाएँ । उनलाई ‘गम्भीर प्रकृतिको मुटुको व्यथा’ लागेको रहेछ र यथाशीघ्र शल्य-चिकित्सा गर्नुपर्ने रहेछ । उनका अभिभावकले आफूहरूले समयमा रकम जुटाउन नसक्ने हुँदा आर्थिक अनुदानका लागि याचना गरेका रहेछन् । त्यसकारण म पनि सहयोग गर्न चाहन्छु । त्यही शिशु र उनको उपचारका लागि म आफ्नो ओलम्पिक रजत पदक लीलाम गर्दैछु ।’

फेसबुकमा उनले त्यसो लेखेको एकाध दिन मात्र के बितेको थियो, पच्चीस वर्षीया मारिया आन्द्रेजसिकले फेरि प्रसन्नतापूर्वक फेसबुकमा लेखिन्, ‘यही शुक्रबार १३ अगस्त मेरा लागि परम खुसीको दिन भएर आएको छ । मैले भनेअनुसारको मूल्यमा मेरो ओलम्पिक रजत पदक किन्ने उत्तम खरिददार पाएकी छु ।’ उनले जनाएअनुसार, पोल्याण्डको धेरै सहरमा सञ्चालित डिपार्टमेन्टल स्टोर (कन्भेनियन्स स्टोर चेन) ‘जाब्का पोल्स्का’ ले मारियाको पदकका लागि एक लाख पच्चीस हजार डलर सहर्ष तिर्ने भएको थियो ।

‘म अत्यन्त हर्षोल्लासपूर्वक आफ्नो यो पदक -जुन मेरा लागि संघर्ष, आस्था र अनेक उतार-चढावहरूबीच पनि अटल सपनाहरूको खोजीको प्रतीक हो- जाब्कालाई दिँदैछु,’ पच्चीस वर्षीया पोलिश ओलम्पियनले फेसबुकमा अगाडि लेखिन्, ‘मलाई आशा छ, यो पदक तपाईंहरूका लागि त्यो जीवनको प्रतीकका रूपमा रहनेछ जसका लागि हामीले सामूहिक रूपमा लड्यौँ ।’

पुनः त्यसको तेस्रो दिन कन्भेनियन्स स्टोर जाब्काले ‘आफूले किनेको पदक मारियाले आफैंसित राख्न पाउने भएको’ उल्लेख गर्दै सुमधुर ट्वीट लेख्यो, ‘हाम्री ओलम्पियनको सुन्दर अनि अत्यन्त शालीन मानवीय भावनाको प्रदर्शनबाट हामी निकै प्रभावित भएका छौं । त्यसकारण हामीले के पनि निर्णय लिएका छौं भनेरकम दिएको भए पनि त्यो रजत पदक सुश्री मारियाले आफैंसित राख्नुहुनेछ ।’

जाब्काले गरेको सहयोगका अतिरिक्त शिशु माल्यासाको उपचारका लागि भनेर समग्रमा ४६ हजार ५६० जनाभन्दा मानिसले हृदय खोलेर आर्थिक सहयो गरे ।

त्यतिबेलासम्म घरमै औषधोपचार भइरहेको माल्यासालाई शल्य-चिकित्साका लागि अमेरिकाको क्यालिफोर्निया राज्यस्थित स्टानफोर्ड युनिभसिैटी मेडिकल सेन्टरलगिएको थियो ।’टिएपिभिसी’ (टोटल एब्नर्मल फ्लो अफ पल्मोनरी भेन्स, पल्मोनरी हाइपरटेन्सन) रोगले पीडित ती शिशुको शल्य-चिकित्साको समय केही पछिलाई निर्धारितगरिएको थियो । स्पेनको राजधानी बार्सिलोनामा पनि माल्यासाको शल्य-चिकित्सा गर्ने कुरा अगाडि बढाइएको थियो ।

ट्रयाक एन्ड फिल्डअन्तर्गत ज्याभलिन थ्रो खेलाडी मारिया म्याग्डालिना आन्द्रेजसिक ९ मार्च १९९६ मा जन्मेकी हुन् । उनी टोक्यो ओलम्पिक २०२० मा रजत पदक विजेता हुन् (त्यसअघि भएको रियो डी जेनेरियो ओलम्पिक २०१६ मा उनले चौथो स्थान होसिल गरेकी थिइन्) भने उनी सन् २०१५ मा भएको युरोपियन जुनियर च्याम्पियनसिपकी स्वर्ण पदक विजेता हुन् । टोकियो ओलम्पिकमा ६४.४१ मिटर टाढासम्म भाला फालेर दोस्रो भएकी (प्रथम हुने चीनकी लिऊ शी यिङले ६६.३४ मिटर परसम्म भाला हुत्याएकी थिइन्) मारियाले आफ्नो सबैभन्दा राम्रो प्रदर्शन स्वदेशमै सन् २०२१ मा गरेकी हुन् जतिबेला उनले ७१.४० मिटर दूरीसम्म थ्रो गरेकी थिइन् । यो दूरी उनको व्यक्तिगत श्रेष्ठ हुनुका साथै पोल्याण्डका लागि नयाँ कीतिमान हो भने विश्वस्तरमा हालसम्मकै तेस्रो सर्वश्रेष्ठ दूरी पनि हो ।

उल्लेखनीय के भने सन् २०१८ मा मारियालाई एक किसिमको हाड-क्यान्सर ‘ओस्टिओसारकोमा’ भएको थियो तरऔषधि र आफ्नो उच्च मनोबलले गर्दा उनले त्यसलाई जितेकी थिइन् ।

रोगग्रस्त शिशु माल्यासाको शल्यक्रिया गर्न युरोपमा धेरैजसो अस्पतालहरूले अस्वीकार गरेका थिए । त्यसकारण माल्यासाको अप्रेसन अमेरिकामा गर्ने निर्णय भएको थियो । उनको त्यो उपचारका लागि तीन लाख पचासी हजार अमेरिकी डलर खर्च लाग्ने अस्पतालबाट जानकारी पाएपछि परिवारले आर्थिक सहयोगका लागि अनलाइन कोष (अनलाइन फन्डरेजर) खोलेका थियो ।

त्यसो त खेलकुदबाट व्यक्ति विशेषमा मात्र होइन समाजमा नै सकारात्मक परिवर्तन ल्याउन सकिने तथ्यले विश्वव्यापी मान्यता पाइसकेको छ ।यस क्रममा खेलकुदलाई माध्यम बनाएर समाजमा सकारात्मक परिवर्तन सिर्जना गर्न अनुदान-आधारित प्रयासहरूलाई संयोजन गर्नका लागि संयुक्त राष्ट्र संघले नै पनि सन् २००१ मा आफ्नो बेग्लै निकाय ‘युनाइटेड नेसन्स अफिस अन स्पोर्ट फर डेभलपमेन्ट एन्ड पीस’ खडा गरेको छ ।

अर्को पनि कारण छ । बित्दो समयसँगै अब एमेच्योर खेलकुदको दाँजोमा सबैतिर व्यवसायिक खेलकुद प्रतियोगिताहरूको आकर्षणले आकाश छुँदै गएको छ । एकपछि अर्को गर्दै व्यवसायिक खेल, व्यवसायिक खेलाडी र खेलकुद उद्योग नै आश्चर्य लाग्ने गरी विकसित हुँदै गइरहेका छन् । यसकै परिणति हो, उम्दा खेलाडीहरू प्रभावशाली सामाजिक ‘आइकोन’ मा रूपान्तरित भएका छन्, स्थानीय-प्रादेशिक-राष्ट्रिय ‘रोल मोडेल’ मा फेरिएका छन् । उनीहरूले गरेको र भनेको कुराले समाजमा असर पार्दछ, किशोर र युवाहरू उनीहरू जस्तै हुने या उनीहरूलाई नै पछ्याउने प्रयास गर्न थाल्दछन् ।

खेलाडीले व्यक्तिगत तवरमा गर्ने दान, च्यारिटी वा जनसेवा त छँदैछ, त्योबाहेक अनेक विश्वचर्चित खेलाडीहरूले विभिन्न नामबाट प्रतिष्ठान नै खोलेर आफूलाई दानी मात्र होइन, महादानी नै प्रमाणित गरेका छन् । खेलाडी मात्र नभएर अनेक क्लब, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद संघ-संस्था छन् जसले राम्रोसँग के बुझेका छन् भने उनीहरूले खेलक्षेत्रमार्फत् हासिल भएको आफ्नो बढ्दो प्रभावलाई गरिबी, अभाव र असहजतामा जीवन गुजार्न विवश मानिसहरूमा सकारात्मक सामाजिक विकास ल्याउन सक्छन्, जीवन बदल्न सक्छन् र निराशाबीच आशा एवं उत्साहको नयाँ किरण छर्न सक्छन् ।

संगठित अनुदान (फिलान्थ्रोपी) पछिल्ला केही दशकदेखि नै क्रमशः बढ्दै गएको छ ।

अमेरिकामा मोहम्मद अली, आन्द्रे आगासी र टोनी हक जस्ता बहुचर्चित खेलाडी मिलेर ‘एथलिट्स फर होप’ नामक च्यारिटी संस्था खोलेका छन् जसमा अहिले चार हजारभन्दा बढी सदस्य छन् । यो संस्थाले खेलाडीहरूलाई एउटा साझा लक्ष्यका निम्ति शिक्षित, प्रेरित एवं सशक्तीकृत गर्दछ र त्यो साझा लक्ष्य हो- खेलकुद फिलान्थ्रोपीमार्फत विश्वमा ठोस एवं सकारात्मक परिवर्तन अनुभूत गराउनु ।

यसै गरी अमेरिकामै ‘एनएफएल फाउन्डेसन’, ‘एनबीए केयर्स’, र ‘एमएलबी कम्युनिटी’ नामकखेलसम्बद्ध च्यारिटी संस्थाहरू छन् जसले अमेरिका र अमेरिकाबाहिर देखिएका महत्वपूर्ण सामाजिक मुद्दाहरूको सन्दर्भमा अनुदान रकम उपलब्ध गराउँछन् ।

अमेरिकाकै बास्केटबाल सुपरस्टार लेब्रोन जेम्स एक अब्बल फिलान्थ्रोपिस्ट हुन् । उनले ‘लेब्रोन जेम्स फ्यामिली फाउन्डेसन’ मार्फत ‘व्हिल फर एजुकेसन’ संस्था सुरु गर्दै एक हजार केटाकेटीलाई स्कुल र कलेज पढ्न मात्र सघाएनन् बरु उनीहरूका लागि विद्यालयीय सामग्रीको आपूर्ति, कम्प्युटर र साइकलसमेत उपलब्ध गराएका छन् । लाखौं डलर दानमा दिइसकेका उनी अभाव र गरिबीमा बाँचिरहेका बालबालिकाको शिक्षाका लागि पनि नियमित दान दिइरहन्छन् ।

‘राइट टू प्ले’ अर्को वैश्विक संस्था हो । यसको स्थापना सन् २००० मा भएको थियो । यसको लक्ष्य शैक्षिक खेल (गेम) हरूमार्फत बालबालिकालाई शिक्षित तुल्याउनु हो । यस संस्थाले युद्ध, गरिबी र विभिन्न थरी रोगबाट प्रभावितअफ्रिका, एसिया, मध्यपूर्व र उत्तर अमेरिकाका विभिन्न अठार देशका सामुदायिक अगुवाहरूलाई प्रशिक्षकका रूपमा दीक्षित गरेर आफ्ना कार्यक्रम अगाडि बढाउँदछ ।

नेपाल कुनै खेलाडी वा खेल-संस्थाले च्यारिटी खोलेको वा त्यस्तो मानवीय कार्य गरेको सन्दर्भ त्यतिविधि चर्चामा आएको छैन तापनि जानकारीमा आएअनुसार, पछिल्ला धेरै वर्षदेखि नेपाल आइटिएफ तेक्वानदो संघले भने आफ्नो जन्मदिवसको अवसर पारेर हरेक वर्ष रक्तदान, सरसफाइ र वृद्धाश्रममा रहेकाहरूलाई खाना खुवाउने कार्य निरन्तर गर्दै आइरहेको छ ।

भारतमा अभिनेता आमीर खानले सन् २०१४ तिरसञ्चालन गर्ने गरेको बहुचर्चित एवं अत्यन्त लोकपि्रय टेलभिजन कार्यक्रम ‘सत्यमेव जयते’ को एक अंक (सिजन ३, एपिसोड १) मा खेलकुदले कसरी व्यक्ति र वरिपरिको समाजलाई बदल्न सक्छ भन्ने गज्जबको प्रस्तुति उदाहरणसहित प्रसारण गरेका थिए । खानको त्यस एपिसोडमा स्पष्ट संदेश छ- खेलकुद भनेको केवल पदक जित्नु नजित्नु मात्र होइन । यसमा त समाजका हरेक तह र तप्कामा विशाल परिवर्तन ल्याउन सक्ने विशिष्ट क्षमता हुन्छ । खेलकुद नै त्यस्तो कुरा हो जसले मानिसमा सद्चरित्र निर्माण गर्दछ र जाति, धर्म एवं लिङ्ग-आधारित पर्खालहरूलाई गल्र्यामगुर्लुम भत्काइदिन्छ ।

पछिल्लो समाचारअनुसार, शिशु माल्यासाको शल्य-चिकित्सा सफलतापूर्वक सम्पन्न भइसकेको छ । उनको परिवार अत्यन्त खुसी छ र पोल्यान्डमा सहृदयी खेलाडी मारिया आन्द्रेजसिक आफ्नो मानवसेवाका लागि देशकी राष्ट्रिय धरोहर बनेकी छन् । मारियाले ओलम्पिक पदकबाट एउटा शिशुको प्राण बचाएर खेलकुदबाट हुनसक्ने अर्को एउटा अनुकरणीय दृष्टान्त प्रस्तुत गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?