+

नाकको हड्डी बाङ्गो हुँदा कस्ता समस्या आउन सक्छन् ?

२०७९ वैशाख  ७ गते १८:५० २०७९ वैशाख ७ गते १८:५०
नाकको हड्डी बाङ्गो हुँदा कस्ता समस्या आउन सक्छन् ?

रुघा लाग्ने, नाक बन्द हुने, टाउको दुख्ने नाकमा आइरहने समस्या हुन् । तर लामो समयसम्म रुघा लाग्ने, श्वासप्रश्वासमा समस्या हुने, नाकबाट रगत बग्ने, पिनास जस्ता समस्या देखियो भने नाकको भित्रपट्टिको हड्डी बाङ्गो भएर पनि हुन सक्छ ।

सामान्यतया नाकको भित्री हड्डी सिधा हुनुपर्छ । नाकको भित्री हड्डी बाङ्गो भएको खण्डमा पनि कहिलेकाहीं नाकसम्बन्धी यस्ता समस्या देखिन सक्छन् ।

नाकको हड्डी बाङ्गो हुने विशेष कारण त केही छैन । एउटा व्यक्ति जन्मेदेखि वयस्क हुँदासम्म उसको सम्पूर्ण हड्डीको विकास हुन्छ । त्यस्तै नाकको हड्डी विकास हुने क्रममा प्रायः व्यक्तिको नाक अलिकति बाङ्गो हुन्छ । नाकको हड्डी बाङ्गो हुनु आफैंमा समस्या भने होइन । यसका कारण अन्य समस्या देखिएको अवस्थामा भने समस्या हुन सक्छ । नाकमा चोटपटक लागेको अवस्थामा पनि नाकको हड्डी बाङ्गो हुन सक्छ ।

कति जटिल ?

नाकको हड्डी बाङ्गो भएको अवस्थामा पनि धेरै व्यक्तिमा केही पनि समस्या देखा पर्दैन । केही व्यक्तिमा मात्र हड्डी बाङ्गो भएका कारण समस्या देखा पर्छन् । नाकको हड्डी बाङ्गो भएका कारण नाक बन्द हुने, अप्ठेरो हुने, पिनास, टाउको दुख्ने र नाकबाट रगत बग्ने जस्ता समस्या देखा पर्छन् ।

बच्ने उपाय

नाकको हड्डी बाङ्गिने समस्या जन्मजात हुने भएकाले यसबाट बच्ने विशेष उपाय पनि केही छैन । चोटपटकका कारणले नाक बाङ्गो हुने समस्याबाट बच्न भने नाकलाई चोट लाग्नबाट नै बचाउनुपर्छ ।

प्रायः सबै व्यक्तिको नाकको  हड्डी बाङ्गो हुने भएकाले केही व्यक्तिमा मात्र समस्या देखिन्छ । त्यसैले सबैले यसको उपचार गर्नु पर्दैन । नाक एकदमै धेरै बाङ्गिएको छ भने अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्छ । नाकको हड्डी बाङ्गो भएकै कारण अन्य समस्या देखिएको छ भने पनि चिकित्सकको सल्लाहअनुसार नै उपचार गर्नुपर्छ ।

नाकमा मासु पलाउने समस्या बढ्दो

आजभोलि हप्तामा एक जना नाकमा मासु पलाउने समस्या लिएर अस्पताल आउने गरेका छन् । नाकमा मासु पलाउनुको मुख्य दुई कारण छन् । पहिलो क्यान्सर र अर्को एलर्जी । तर धेरै संख्यामा एलर्जीको कारण नाकमा मासु पलाउने समस्या हुन्छ ।

उपचार

नाकमा मासु पलाउँदा एक मात्र उपचार पद्धति शल्यक्रिया हो भनेर धेरैको दिमागमा आउन सक्छ । तर मासु पलाउनुको कारण पत्ता लगाएर यसको उपचार अन्य तरिकाबाट पनि गर्न सकिन्छ । औषधि सेवन गरेर तथा सिरिन्जको प्रयोगबाट पनि यसको उपचार गरिन्छ ।

नाकलाई सही अवस्थामा राख्न ध्यान दिनुपर्ने कुराहरु

– नाकलाई सही अवस्थामा राख्न चोटपटक लाग्नबाट बच्ने

– नाकको सरसफाइमा विशेष ध्यान दिने

– धेरै सीं सीं नगर्ने

– केही समस्या देखिएको खण्डमा विशेषज्ञ डाक्टरको परामर्श लिने

(डा.  केसी नाक, कान, घाँटीरोग विशेषज्ञ हुन् ।) 

नाकको हड्डी स्वास्थ्य
डा. अरुण केसी
लेखक
डा. अरुण केसी
नाक, कान, घाँटीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ६४१४ एमबीबीएस, सीएमएस, एमएस वीर अस्पतालको नाक, कान, घाँटीरोग विभागमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय