+
+

एमाले उम्मेदवार भन्छन् : धनगढीमा असफल र राजनीतिक धरातल नभएका उम्मेदवारको विकल्प हौं

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते २१:१२

२० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी, व्यापारिक केन्द्रसमेत रहेको एक मात्र उपमहानगरपालिका धनगढीमा चुनावी माहोल गर्माएको छ । उम्मेदवारहरु घर–घरमा पुगेर मतदातालाई भेटेर मत माग्न व्यस्त छन् ।

प्रदेशकै एक्लो उपमहानगरपालिका भएकाले पनि धनगढीले प्राय सबैको ध्यान तानेको छ । यहाँ नेकपा एमालेबाट रणबहादुर चन्द मेयर उम्मेदवार छन् । उनै चन्दसँग समसामयिक विषयमा केन्द्रीत भएर अनलाइनखबरकर्मी जनक विष्टले गरेको कुराकानी :

धनगढी उपमहानगरपालिकाको मेयरमा तपाईंको उम्मेदवारी किन ?

धनगढी सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका हो । जुुन गतिमा यहाँको विकास र व्यवस्थित हुुनुपर्ने थियो त्यो भएको छैन । हामीले धनगढीलाई व्यवस्थित नगरको रुपमा स्थापित गरेर मेगा सिटी हुुँदै महानगरपालिकाको अवधारणामा अगाडि बढाउन आवश्यक आधार तयार गर्ने योजना बनाएका छौँ ।

धनगढी नगरलाई स्वच्छ, सफा, हराभरा बनाएर व्यवस्थित सहरका रुपमा विकास गर्छौं । प्रदेशकै प्रमुख व्यापारिक केन्द्र धनगढी उपमहानगरपालिकामा पछि मिसिएका साविक फूलबारी, उर्मालगायतका क्षेत्रहरुमा अझै पनि अपेक्षित काम हुन नसकेकाले समानुपातिक विकास गरेर शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानी, जग्गाको लालपुर्जा वितरण गर्ने जस्ता आधारभूत आवश्यकता पूरा गर्न मेयर पदमा मेरो उम्मेदवारी हो ।

मेयर पदमा निर्वाचित भएमा तपाईंले गर्ने प्रमुख तीन वटा काम के हुन्छन् ?

प्रमुख भनेको सुशासन प्रवर्द्धन नै हो । वडाहरुलाई व्यवस्थित बनाएर संस्थागत विकास गर्दै प्रविधि सुहाउँदो सुचना प्रणालीको विकास गर्छौं । वडाको सेवा प्रभावकारी बनाउछौं ।

दोस्रो, पार्किङ क्षेत्र विस्तार, सार्वजनिक शौचालय व्यवस्थापन, हाट बजार व्यवस्थापन जस्ता आधारभूत पक्षलाई ध्यानमा राखेर सुन्दर र सफा व्यवस्थित सहरको रुपमा धनगढीको विकास गर्छौं । नागरिकले पाउनुपर्ने आधारभूत सेवा, सुविधाको ग्यारेन्टी गर्दै शिक्षा, स्वास्थ्यमा सबैको पहुँच अभिवृद्धि गर्छौं ।

र तेस्रो भनेको औद्योगिकरणलाई थप विस्तार गरेर आर्थिक बृद्धिदर बढाउने र स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने कुरा हाम्रा प्रमुख प्राथमिकता हुनेछन् ।

धनगढीमा सत्तारुढ गठबन्धनले साझा उम्मेदवार अघि सारेका बेला एक्लै मैदानमा हुनुहुुन्छ । तपाईंका चुनाव जित्ने आधार के–के हुन्छन् ?

हामीले जित्ने पहिलो आधार भनेको हाम्रो गौरवशाली पार्टी नेकपा एमालेको संगठन नै हो । संगठन एकताबद्ध भएर अगाडी बढेको छ । १९ वटै वडा र नगरमा हामीले सबैको प्रतिनिधित्व हुनेगरी समावेशी र विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका व्यक्ति समेटेर टिम बनाएका छौं ।

कमरेड मनमोहन अधिकारीदेखि कमरेड केपी ओली नेतृत्वका सरकारले गरेका जनपक्षीय कामहरु, राष्ट्रियताका सन्दर्भमा गरेका कामहरुले गर्दा नै एमालेप्रति राष्ट्रव्यापी रुपमा जनलहर बढेको छ । अर्कोतिर अन्य पार्टीले उठाएका भन्दा हाम्रा उम्मेदवार अब्बल भएका कारणले गर्दा धनगढीमा चुनाव जित्ने निश्चित भएको छ ।

२०७४ सालमा एक्लाएक्लै लड्दा पनि एमाले तेस्रो भएको थियो, तर अहिले प्रमुख तीन दलहरु एकातिर छन्, एमाले एक्लै देखिन्छ नि ?

होइन, समय सधैं एकनासको हुँदैन । हिजो के थियो ? भन्ने कुरा गौण हो । आज के भएको छ ? भन्ने कुरा प्रधान हो । सोही कारणले अहिले परस्थिति धेरै फरक भएको छ । यो स्थानीय तहको निर्वाचन भएकाले स्वभाविक रुपले यहाँका मतदाताले को व्यक्ति उपयुक्त छ ? भनेर हेर्छन् । त्यति मात्र होइन को मान्छेले स्थानीय सरकारको नेतृत्व गर्न सक्छ ?

को मान्छे जनतालाई सहज रुपमा सेवा प्रवाह गर्न सक्षम छ ? कसले सुशासन कायम गर्न सक्छ र कसलाई विजयी गराएमा सजिलै सबैको पहुँच पुग्न सक्छ भन्ने कुरालाई प्राथमिकता दिन्छन् । त्यो प्राथमिकताका आधारमा अहिले अरु भन्दा नेकपा एमालेले अघि सारेका हामी मेयर, उपमेयर लगायतका वडाध्यक्षहरु अब्बल, सशक्त र समाजमा भिजेका, राजनीतिक दृष्टिकोण र योजना दिनसक्ने भएको हुनाले हामीलाई नगरबासीले मत दिन्छन् ।

तपाई आफ्नो मुख्य चुनौतीका रुपमा कसलाई देख्नुहुन्छ ?

यहाँ धेरैले भ्रम छर्न हिजो धनगढीबासीले दिएको मतको दुरुपयोग गरेर असफल भइसकेका र कुनै राजनीतिक धरातल नभएका स्वतन्त्र भनिएका उम्मेदवारहरुका बारेमा अनावश्यक हल्ला फैलाएका छन् । नेकपा एमालेको शक्ति देखेर निश्चित स्वार्थका पूरा गर्न तथा सत्ता कब्जा गर्ने उद्देश्यले भएको गठबन्धनलाई जनताहरुले पत्याएका छैनन् ।

अहिले धनगढीमा जनताका बीचमा वडादेखि नगरसम्म एमालेकै उम्मेदवार जिताउने गठबन्धन भएको छ । हिजो राजनीतिमा नलागेका मान्छेहरुमा पनि स्वच्छ छवि भएका, विगत लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा काम गरेका व्यक्तिहरुलाई अगाडि बढाउने सोच हामीले पाएका छौं । त्यसैले हाम्रो प्रतिस्पर्धा न गठबन्धनसँग हुन्छ, न त कहिले राजावादी, राप्रपा हुने त कहिले स्वतन्त्र हुनेहरुसँग नै हुुन्छ ।

सत्तारुढ गठबन्धनका केही नेताले एमाले भन्दा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई प्रमुख चुनौतीका रुपमा विश्लेषण गरेको सुनिन्छ । के धनगढीमा एमाले एक जना व्यक्ति भन्दा पनि कमजोर हो ?

त्यो कुरा वाहियात हो र विश्लेषण पनि पूर्ण रुपले गलत छ । २०७४ सालमा कांग्रेसका नृपबहादुर वडलाई नगरबासीले निर्वाचित गराएर पठाए तर उनले सरकार चलाउन सकेनन्, पूर्ण रुपमा असफल भए ।

त्यो पार्टीका तर्फबाट कुनै अर्को व्यक्ति भए अवस्था फरक पनि हुन सक्थ्यो होला । तर जो मान्छे हिजो पाँच वर्षमा फेल भए, कुनै योजना दिन सकेनन्, जनतालाई निराशा बाहेक अरु केही दिन सकेन् । मतको अपमान गर्दै नगरबासीलाई निराश बनाउनेहरुको स्वार्थका लागि गठबन्धन भएपनि फेरि उनैलाई भोट हाल्ने अवस्था छैन ।

अर्कोतिर स्वतन्त्रको कुरा के छ भने उनको न पार्टी छ, न विचार छ, न संगठन छ न त स्थायी सोच विचार छ । किनभने कहिले स्वतन्त्र हुने, कहिले राजावादी, कहिले विवेकशील हुने देखिएकाले स्थिरता छैन । त्यसैले अहिलेको दलीय व्यवस्था र संसदीय प्रणालीमा एकजना व्यक्तिले हाक्छु भन्ने कुरा भित्ता कुरा हो ।

हरेक स्थानीय तहमा कार्यपालिका हुन्छ । कार्यपालिकाका सदस्य हुन्छन् । कार्यपालिकामा बहुुमत भएन भने एउटा व्यक्तिले कसरी काम गर्छ ? प्रदेश र संघीय सरकार हामी अनुकुलको हुन्छ । त्यो कारणले गर्दा बाहिर फिँजाइएका हल्ला सबै गलत हुन्, मित्था कुरा गरेर जनतालाई भ्रममा राख्ने कुरा हो ।

लामो समय व्यापार व्यवसाय गर्नु भयो । अहिले एक्कासी बीचमा आएर राजनीति गर्छु भन्ने कुरा अनावश्यक हो । विगतदेखि राजनीति गर्ने मान्छेले मात्र काम गर्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?