+
+

रौतहटका १६ मतदान केन्द्रमा मतदान रद्द

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ वैशाख ३१ गते १३:१७

३१ वैशाख, रौतहट । रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो ।

आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान केन्द्रको मतदान रद्द भएको जनाएको छ । सो मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो ।

यसै गरी गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा विवादको क्रममा झडप हुँदा १५ जनाको टाउको फुटेको थियो । जसका कारण सो ठाउँमा रहेका दुई वटा मतदान केन्द्रको मतदान स्थगित गरिएको छ ।

गढीमाई नगरपालिका–६ स्थित सिंगारवनमा रहेको दुई वटा मतदान केन्द्रका मतदान रद्द गरिएको छ । विवादको क्रममा नेकपा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकल समेत आगजनी गरिएको थियो ।

बौधिमाई नगरपालिका–२ का ३ वटा मतदान केन्द्र र वडा नम्बर ९ को दुई वटा मतदानकेन्द्रको मतदान पनि रद्द भएको छ । बौधिमाई नगरपालिका–२ स्थित इनरवा मतदान केन्द्रमा प्रर्दशनकारीले मतपेटिका फुटाएका थिए ।

मतदान स्थलको सबैभन्दा विचित्र दृश्य भने रौतहटको यमुनामाईमा देखिएको थियो । युमनामाई गाँउपालिका वडा नम्बर १ र २ का मतदान केन्द्रमा विवाद उत्पन्न भएको थियो । यमुनामाई–२ भेडियाहीमा मतदान केन्द्रको मतपेटिका स्थानीयले लुटेर भागेका थिए । मतदान केन्द्रमा रहेका सुरक्षाकर्मीकै अगाडिबाट मतपेटिका बोकेर भाग्दा पनि सुरक्षाकर्मी मुकदर्शक बनेर बसेका थिए ।

मतपेटिकका लुटिएको मतदान केन्द्रको निर्वाचन पनि रद्द भएको छ । यमुनामाई गाँउपालिका– १ का तीन वटा र वडा नं. २ का दुई केन्द्रको मतदान रद्द भएकाछ ।

किन भयो निर्वाचन भद्रगोल ?

निर्वाचन भद्रगोल हुनुको मुख्य दुई कारणहरु रहेका छन् । पहिलो कारण सुरक्षा व्यवस्थामा कमजोरी र अर्को करारका कर्मचारीलाई मतदान केन्द्रको जिम्मा दिनु ।

विवाद उत्पन्न भएको अधिकांश मतदान केन्द्रमा निर्वाचन कार्यालयले करारका कर्मचारी खटाएका थिए । स्थानीय तहका पूर्वजनप्रतिनिधिहरुले आफ्नो कार्यकालमा नियुक्त गरेका कर्मचारीहरु सोही पालिकामा निर्वाचनमा खटिएर आउँदा उनीहरुको जनप्रतिनिधि तर्फको झुकाबले गर्दा धेरै ठाँउमा विवाद देखिएको स्थानीयको आरोप छ ।

प्रहरीको कमजोर निगरानी र कार्यदक्षताको कमीका कारणले साना विवादहरुले पनि उग्ररुप लिँदै झडपमा परिणत भएको थियो ।

प्रहरी प्रशासनले निर्वाचनलाई व्यवस्थीत बनाउन नसकेको उम्मेदवारहरुले आरोप लगाएका छन् ।

‘प्रहरी प्रशासनले निर्वाचन सुरक्षा योजना बनाएकै देखिएन,’ नेकपा एमालेका नेता प्रभु साहले भने, ‘मतदान केन्द्रहरुको सुरक्षा व्यवस्था गर्न प्रशासन असफल भयो । सामान्य विवाद पनि मिलाउन नसक्ने र मतपेटिका फुटाउदा, लुटदा समेत प्रहरी मुकदर्शक बन्यो ।’

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने प्रहरी प्रशासनको कमजोरी नभएको बताए । ‘यमुनामाईमा मत पेटिका लुटेको भन्दा पनि त्यहाँ मतदान स्थगित हुने भएपछि सुरक्षा व्यवस्था अलि फितलो भएको बेला केही युवकहरुले मतपेटिका लिएर भाग्न खोजेका थिए,’ शाहीले भने, ‘प्रहरीले लगतै ती मतपेटिकाहरु नियन्त्रणमा लिएको थियो ।’

शुक्रबार प्रहरीले रौतहटमा दुई दर्जन बढी हवाइ फायर गरेको थियो भने ८ राउण्ड भन्दा बढी अश्रुग्याँस प्रहार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरी तर्फ पनि १२ जना भन्दा बढी घाइते भएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुनिल मल्लले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?