+
+

नयाँ निर्माण प्रविधि : १५ लाखमै बन्छ आकर्षक घर

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ जेठ ११ गते १४:२०

काठमाडौं । ‘घर कता पर्‍यो ?’ अक्सर चिनजानका क्रममा सोधिने प्रश्न हो यो । घर ओत लाग्ने थलो मात्र होइन, मान्छेको पहिचान पनि हो । त्यसैले त ढुंगा, माटो, गिटी, काठ र सिमेन्टले बनेको भौतिक घरसँग मान्छेको खास नाता हुन्छ । भावनात्मक नाता ।

हरेकको इच्छा हुन्छ, आफ्नै एउटा घर होस् । घर बनाउनका लागि मान्छेले जीवनभरको कमाइसमेत खर्च गर्छ । सकेसम्मको ऋणपान गर्छ । धेरैलाई लाग्छ, ‘घर भनेको जीवनमा एक पटक बनाउने हो ।’

यति अनमोल घर निर्माण गरिसकेपछि मान्छे त्यसमा दोष देख्न चाहँदैनन् । हरेक कुराले परिपूर्ण, भरिपूर्ण, सुविधायुक्त, सुन्दर होस् भन्ने चाहन्छ । तर आजको महंगीमा मान्छेले चाहेजस्तो घर बनाउन कहाँ सजिलो छ र ?

इन्जिनियर दीपविक्रम विष्ट भन्छन्, ‘एउटा सामान्य घर निर्माण गर्न औसत ३५ लाख रुपैयाँसम्म लाग्छ ।’ त्यसमा आन्तरिक साजसज्जा, विद्युत, फर्निचर, रंगरोगनको छुट्टै खर्च छ । यत्तिका खर्च गरेर निर्माण गरिएको घरमा पनि सुविधायुक्त नहुन सक्छ ।

यही पृष्ठभूमिमा अहिले कोरियन प्रविधिको घर निर्माण गर्ने ट्रेन्ड बढ्दो छ । सिमेन्ट, छड, गिटी–बालुवाको घरभन्दा यो तुलनात्मक सस्तो र छरितो भएको बताइन्छ ।

यस्तो प्रविधि घर निर्माण गरिरहेको एसवाई प्यानलले नेपाल भित्र्याएको हो । कोरियन मोडलभन्दा पनि यो कोरियन प्रविधिको घर हो । यो घर बनाउनका लागि फेब्रिकेटको प्रयोग हुन्छ । उद्योगमा नै तयार भएको सामानहरूलाई साइडमा लगेर स्थापना गर्नुलाई प्रिफ्याब घर भनिन्छ । यो घर थोरै समयमा नै बन्छ, भूकम्पपछि नेपालमा भूकम्प प्रतिरोधी घर बनाउनका लागि कोरियामा रहेका एसवाई ग्रुप अन्तर्गत नेपालमा एसवाई कम्पनी दर्ता भयो  प्रिफ्याब घरहरू बन्न थाले । प्रिफ्याब घर बनाउने एसवाई प्यानल मात्र एउटा कम्पनी हो ।

पहिले प्रिफ्याब घर बनाउने सबै सामान कोरियाबाट नै आयात हुन्थ्यो । तर नेपालमा प्रिफ्याब घर बनाउनेको संख्या बढेपछि २०७४ सालबाट नेपालमा नै उद्योग स्थापना गरेर प्रिफ्याब घर बनाउने सबै सामान म्यानुफ्याक्चर भइरहेको कम्पनीका महाप्रबन्धक विमलराज गोसाई बताउँछन् । ‘हाम्रो कम्पनीबाट प्रायः सबै प्रकारको घर तयार हुन्छ । मान्छे बस्ने घर, विद्यालय, अस्पताल र औद्योगिक सबै प्रकारको घर बन्छ ।’

नेपालमा थोरै मूल्यमा घर बनाउन चाहनेको संख्या धेरै भएकाले एकतल्ले घर बढी बन्ने गरेको छ । सामान्यतया एकतल्ले घर बनाउनको लागि १५ लाखदेखि २० लाख रुपैयाँसम्म लाग्छ । दुई अढाइ तल्लाको घर बनाउन भने ३० लाख लाग्छ ।

१५ लाखमा १०/१२ फिट चौडाइको एउटा किचन, दुईवटा कोठा र एउटा बाथरुम भएको घर तयार हुन्छ । सानो परिवार चार जनाको लागि यो उपयुक्त हुन्छ । परिवार ठूलो छ भने २० लाखमा कोठाको साइज बढाएर घर बनाउन सकिन्छ ।

यो घर बनाउन छानो, भित्ता, झ्याल र ढोका सबै एसवाई प्यानलले नै तयार गर्छ । भित्ता स्यान्डविचबाट बनेको हुन्छ र कलर कोटेड हुन्छ र छानामा पनि स्यान्डविच प्रयोग गरिएको हुन्छ । यो छानोले गर्मी र जाडोबाट बचाउँछ, शीत चुहिने सम्भावना पनि हुँदैन ।

‘प्रिफ्याब घरमा यूपीभीसीको झ्याल बन्छ । ११५ एमएमको झ्याल बन्छ । यो पनि अलि बाक्लो हुने भएकाले त्यसले गर्दा आगोले सजिलै भेट्न सक्दैन । गोसाईले भने, ‘ढोकाहरू स्टिल डोरको प्रयोग गरिन्छ, यसले आधा घण्टासम्म आगो लाग्नबाट पनि बचाउँछ र टिकाउ पनि हुन्छ ।’

भान्साको डिजाइन कस्टुमरको चाहना अनुसार र बजेट अनुसार तयार हुन्छ । बजेट कम छ भने स्लाब ढलान गरेर त्यसमाथि ग्रिनेट हालेर किचन तयार गरिन्छ । ठिक्क बजेट छ भने आफ्नो चाहना अनुसार मोडुलर किचन पनि बन्छ । भर्‍याङ भने विभिन्न डिजाइनमा फलामबाट नै बनाइन्छ ।

यो प्रिफ्याब घरमा रंग लगाइरहनु पर्दैन, किनकि यसको भित्ता र छतमा पहिले नै रंग कोटिङ गरिएको हुन्छ । बाथरुमको कुरा गर्ने हो भने एकतल्ले घरमा एउटा बाथरुम र दुई-अढाइतल्ले घरमा तीनवटा बाथरुम हुन्छ । ग्राहकको आवश्यकता अनुसार बाथरुमको संख्या घटबढ गर्न पनि सकिने गोसाई बताउँछन् ।

यो घर सबै हिसाबले एकदमै सुरक्षित छ । भूकम्पप्रतिरोधी, झयालहरुमा ग्रिल प्रयोग भएको हुन्छ र ढोका पनि बलियो भएकाले चोरबाट पनि सुरक्षित हुन्छ । मौसमको कुरा गर्दा तातो चिसोबाट पनि बचाउँछ । घर बनाउँदा धेरै फलामको प्रयोग भएकाले आगोबाट पनि केही हदसम्म सुरक्षित छ ।

काठमाडौं र अन्य मुख्य सहरहरू जस्तै पोखरा, धनगढी, धरानमा यो घर एकदमै लोकप्रिय हुँदै गइरहेको छ । प्रिफ्याब घरको सामान ढुवानी गर्न सजिलो हुने भएकाले दुर्गम गाउँहरू जहाँ ढुवानी गर्न गाह्रो छ, त्यस्ता ठाउँमा पनि यो घर धेरै बनेको गोसाई सुनाउँछन् ।

यो घर निर्माण गर्दा सबैभन्दा पहिले घरधनीको आवश्यकता र रुचि अनुसार नक्सा तयार गरिन्छ । त्यसपछि बजेट निर्धारण गरेर कति समयमा काम सकाउने, कस्तो सामान प्रयोग गर्ने कुरामा सम्झौता हुन्छ । घर बनाउने ठाउँमा सामान ढुवानी गरेर तालिमप्राप्त मिस्त्रीहरूले घर निर्माण गर्छन् । एक तल्ला घर बनाउन दुई महिना लाग्छ भने दुई– अढाइतल्ले बनाउन तीनदेखि चार महिना लाग्छ ।

प्रिफ्याब घरलाई सार्न पनि मिल्छ । घर सार्दा जगमा गरेको खर्च बाहेक अरू सबै सामान पूर्ण प्रयोग गर्न मिल्छ । ८० प्रतिशत सामान पछि काम लाग्छ । घर बनाउँदा सम्झौता हुने भएकाले पहिले तोकिएको रकमभन्दा बढी पैसा लाग्ने सम्भावना एकदमै कम हुने गोसाई बताउँछन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?