+
+

चितवनमा २४२ जनप्रतिनिधि जित्दै एमाले बन्यो पहिलो दल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १८:०२

१२ जेठ, चितवन । चितवनका सात स्थानीय तहका तीन प्रमुख, चार उपप्रमुख र ३६ वडाध्यक्ष जितेर नेकपा एमालेले पहिलो दल बनेको छ । पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य गरी कुल ५०४ जनप्रतिनिधिमध्ये एमालेका मात्रै २४२ जना निर्वाचित भएका छन् ।

जिल्लाका ७ वटै पालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच तालमेल भएको थियो । नेकपा एमालेले भरतपुर महानगरपालिका र माडी नगरपालिकामा राप्रपासँग तालमेल गरेको थियो ।

अघिल्लो चुनावमा रत्ननगर नगरपालिका, खैरहनी नगरपािलका, कालिका, नगरपालिका, राप्ती नगरपालिकामामा प्रमुख र उपप्रमुख दुबै पद र माडी नगरपालिकामा उपप्रमुख पद जितेको एमालेले यसपटक रत्ननगर र खैरहनीमा प्रमुख पद गुमाएर उपप्रमुख पद जितेको छ ।

राप्तीमा भने प्रमुख र उपप्रमुख दुबै गुमाएको छ । कालिका नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जितेको छ भने माडीमा प्रमुख पद जितेको छ ।

दलगत रूपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ । अघिल्लोपटक ५७ वडा जितेको एमालेसँग अहिले ३६ वडाध्यक्ष मात्रै छन् । एमालेले भरतपुरमा ६ रत्ननगरका ५, खैरहनीका ७, राप्तीका ८, कालिकाका ४, इच्छाकामनाका ५ र माडीको एक गरी ३६ वडा जितेको छ ।

राप्ती र खैरहनीमा चुकेको एमाले

चितवनको राप्ती र खैरहनी यसपटक पनि जित्ने बलियो सम्भावना भए पनि आफ्नै कमजोरीले गुमेको एमाले नेताहरु बताउँछन् । एमाले पोलिट्ब्यूरो सदस्य देवी ज्ञवाली एमालेले हार्न नहुने पालिका राप्ती र खैरहनी हारेको बताए । ‘हामीले जस्तो परिस्थितिमा पनि राप्ती जित्नुपर्ने पालिका हो, खैरहनी पनि थोरै मेहनत पुगेन, केही घातहरु पनि भए’ नेता ज्ञवालीले भने ।

एमालेले राप्ती नगरपालिकालाई आफ्नो आधार क्षेत्र मान्दै आएको थियो । एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले पार्टीले जिल्लाका सात पालिकामध्ये जित्ने एक नम्बर सूचीमा राखेको पालिका राप्तीमा भएको हारलाई गम्भीर रुपमा लिएको बताए ।

‘राप्ती त हाम्रो आधार इलाका नै हो, त्यहाँभित्र केही समस्या यसपटक पक्कै पनि देखिए, केही समस्याको हल समयमा गर्न सकिएन’, जिल्ला अध्यक्ष न्यौपानेले भने, ‘पाँच पालिका जित्ने हाम्रो लक्ष्य पूरा भएन, यद्यपि हामी चितवनको सबैभन्दा ठूलो दल बन्यौं ।’ राप्तीमा एमालेले ८ वडाध्यक्षसहित ४६ जनप्रतिनिधि जित्न सफल भएको छ । राप्ती नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका शम्शेर लामा र उपप्रमुखमा कांग्रेसका देवेन्द्र लामा निर्वाचित भएका छन् ।

पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्षसमेत रहेका सुरेन्द्र पाण्डे, पूर्व प्रदेश मन्त्री दावा दोर्जे लामा, स्थायी कमिटी सदस्य सीता पौडेल, केन्द्रीय सदस्य प्रभा बराल, जिल्ला संगठन विभाग प्रमुख घनश्याम कँडेलको पालिका राप्तीमा एमालेबाट प्रमुख उठेका गोविन्द कँडेल ४७३ मतले पराजित भए ।

राप्तीमा मेयरको आकांक्षी रहेर असन्तुष्ट बनेका इमानसिंह लामा र घनश्याम कँडेललाई लयमा हिडाउनसमेत एमाले चुक्यो । लोथर, कोराक जस्ता जनजाति बाहुल्यता भएको ठाँउसमेत पर्ने राप्तीमा पाँच दलीय गठबन्धनले दुबै पदमा जनजाति उम्मेदवार दिएको थियो भने, एमालेले दिएको थिएन ।

यता, खैरहनी नगरपालिकामा यसअघिका मेयर लालमणि चौधरीलाई नै एमालेले अगाडि सारेको थियो । अघिल्लो कार्यकालमा जिल्लाका ७ पालिकामध्ये उत्कृष्ट पालिका बनाएका चौधरी र पार्टीका बीचमा ग्याप रहेको तथा खैरहनीमा रहेका कतिपय नेताको सिण्डिकेटका कारणले चुनाव हारेको एमाले खैरहनीका एक नेताले बताए ।

थारू जातिको सघन बसोबाससमेत भएको ठाउँमा चौधरीलाई राम्रो मत नआउँदा उनी कांग्रेसका शशि खनियाँसँग ८५० मतले पराजित बने ।

खैरहनीमा माओवादी, समाजवादी र राप्रपा निल

चितवनको खैरहनी नगरपालिकामा माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाका कुनै पनि पदका उम्मेदवार निर्वाचित हुन सकेनन् । कांग्रेसका २७, एमालेका ४० जना जनप्रतिनिधिले जित्दा माओवादी, एकीकृत समाजवादी र राप्रपाबाट एक जना सदस्यले पनि जित्न सकेनन् ।

सो नगरपालिमा ६७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएर माओवादी केन्द्रकी लक्ष्मी ढकालले उपमेयरमा उम्मेदवार बनेकी थिइन् ।

यस्तै राप्ती नगरपालिकामा माओवादीका १ र एकीकृत समाजवादीका २ जना जनप्रतिनिधि मात्रै निर्वाचित हुँदा एमालेबाट ४६ र कांग्रेसबाट १७ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । कालिका नगरपालिका र रत्ननगर नगरपालिकाबाट माओवादीका ५÷५ जना जनप्रतिनिधिले मात्रै जितेका छन् । एकीकृत समाजवादीले इच्छाकामना, कालिका, रत्ननगर नगरपालिकामा एक सिट पनि जित्न सकेन ।

जिल्ला समन्वय समितिमा बराबरी मत

अघिल्लोपटक माओवादीको समेत सहयोगमा जिल्ला समन्वय समिति जितेको एमालेका लागि यसपटक भने चुनौती थपिएको छ । जिल्लाका सात पालिकामा १४ जना प्रमुख र उपप्रमुखमा एमालेबाट ७ जना र पाँच दलीय गठबन्धनबाट ७ जना निर्वाचित भएका छन् ।

जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले मतदान गर्छन् । अहिलेको पाँच दलीय गठबन्धनमा कुनै फेरबदल नआए जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?