+
+

‘एनिमल’मा खलपात्रको भूमिकामा विपिन, अनिल कपुरसँग ‘स्क्रिन सेयर’ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते १३:२१

काठमाडौं । बलिउड फिल्म ‘एनिमल’मा अभिनेता विपिन कार्कीले खलपात्रको भूमिका निर्वाह गर्ने भएका छन् । अधिकांश दृश्यमा अनिल कपुरसँगै हुने र आफू ‘एन्टागोनिस्ट’ भूमिकामा देखिने विपिनले अनलाइनखबरलाई जानकारी दिए ।

सन् १८७० को एक चर्चित भारतीय पहलमानको भाइको भूमिकामा आफू प्रस्तुत हुन लागेको उनले जनाए । ‘छिनछिनमै इमोसनको उतारचढाव आउने पात्रको रोलमा म हुनेछु । त्यो चरित्र भनेको छिनमा हाँस्ने र छिनमै रुने हुनेछ,’ उनले भने ।

अनिल कपुरसँग अधिकांश समय पर्दामा सँगै देखिने भए पनि मुख्य पात्र भएकाले रणवीर कपुर र बबी देवलसँग पनि थोरै समय स्क्रिन सेयर हुनसक्ने उनले बताए । अहिले फिल्मको दोस्रो चरणको छायांकन भइरहेको र आफू चाहिं तेस्रो चरणको छायांकनमा सहभागी हुने विपिनले बताए ।

विपिनको कथांशको छायांकन बम्बे फिल्म स्टुडियोमा हुनेछ । यो फिल्मलाई अर्जुन रेड्डी फेम्ड निर्देशक सन्दीप रेड्डीले निर्देशन गर्दैछन् । विपिन र सन्दीप अहिले सम्पर्कमा समेत बसिरहेका छन् ।

अहिले काठमाडौंमा छायांकन भइरहेको फिल्म ‘के घर के डेरा’को छायांकनपछि विपिन मुम्बई जाने तयारीमा छन् । आफ्नो भागको ८० प्रतिशत छायांकन सकिएको र सकिने बित्तिकै हिंड्ने उनले बताए । ‘एनिमल’मा विपिनको छायांकन तालिका पाँच दिनको हुनेछ ।

मुख्य पात्रबीच असमझदारी चर्कंदै जाँदा कसरी मानिसमा जनावरको स्वभाव विकसित हुन्छ भन्ने कथामा ‘एनिमल’ निर्माण हुन लागेको हो । फिल्ममा दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दानाको समेत अभिनय हुनेछ ।

विपिन ‘एनिमल’ छायांकनबाट फर्किएपछि केही नेपाली फिल्मको छायांकनमा व्यस्त हुनेछन् । नयनराज पाण्डेद्वारा लिखित उपन्यास ‘लू’माथि बन्न लागेको सोही नामको फिल्ममा विपिन देखिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?