+
+

कूटनीतिक सन्तुलन मिलाएर मात्र बीआरआई कार्यान्वयन गर्न सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २८ गते २०:०७

२८ जेठ, काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्दा मुलुकको राष्ट्रिय स्वार्थलाई ध्यान दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।

न्यूज सोसाइटी नेपालले आयोजना गरेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्भिकता’ विषयक कार्यक्रममा नेपाल र श्रीलंकाका विज्ञहरुले राष्ट्रिय हित र कूटनीतिक सन्तुलनलाई ध्यान दिएर मात्रै अघि बढाउनुपर्ने बताएका हुन् ।

परराष्ट्र मामलाका जानकार गेजा शर्मा वाग्लेले नेपालले बीआरआईमा हस्ताक्षर गरेका कारण यसलाई अघि बढाउनुपर्ने राजनीतिक, कूटनीतिक र भूराजनीतिक बाध्यता रहेको बताए । तर, यस्ता परियोजना नेपालको राष्ट्रिय आवश्यकता, प्राथमिकता र प्रमुख राजनीतिक दलहरूको सहमतिको आधारमा अघि बढाउनुपर्ने उनको भनाइ छ ।

‘त्यो घोषित र अघोषित रुपमा त्रिकोणात्मक भूराजनीतिक र सामरिक प्रतिस्पर्धा नेपालमा छ । हामीले त्यसलाई मिनिमाइज गरेर नेपालको राष्ट्रिय आवश्यकताका आधारमा परियोजना लागू गर्नुपर्छ,’ उनले भने ।

बीआरआईमा हस्ताक्षरपछि केही हदसम्म अमेरिका र भारतबीच नेपालमा कसले आफ्नो प्रभाव विस्तार गर्ने भन्नेमा सामरिक प्रतिस्पर्धा देखिएको भन्दै उनले यसतर्फ नेपाल सचेत हुनुपर्ने बताए ।

नेपाल शक्ति राष्ट्रहरूको खेल मैदान बन्न सक्ने भन्दै वाग्लेले कूटनीतिक सन्तुलन कायम गरेर र उनीहरुको स्वार्थको बीचमा आफ्नो रणनीतिक सन्तुलन कायम गरेर अगाडि बढ्नुपर्ने बताए ।

पत्रकार अजयभद्र खनालले बीआरआईजस्ता योजना कार्यान्वयन गर्ने सन्दर्भमा नेपालले विशेषगरी तीनवटा विषयमा ध्यान दिनुपर्ने बताए । ‘पहिलो, हामीले सही पूर्वाधार छनोट गर्नुपर्छ । दोस्रो, ती आयोजनाहरू कार्यान्वयन गर्ने सन्दर्भमा सम्बन्धित राष्ट्रबाट नेपालको आन्तरिक मामिलामा हुने गरेको हस्तक्षेपलाई रोक्नुपर्छ,’ उनले भने, ‘तेस्रो कुरा, बीआरआईसहित अन्य योजना लिने कुरा चुनौती होइन, मुख्य चुनौती भ्रष्टाचार र कुशासन हुन् । यसलाई हटाउनुपर्छ ।’

कार्यक्रममा सहभागी श्रीलंकाका कूटनीति, इतिहास र सुरक्षा क्षेत्रका विज्ञ जर्ज आईएच कुकले श्रीलंकामा चीनको लगानीमा निर्मित परियोजना, त्यसको कार्यान्वयन लगायत विषयमा चर्चा गरे । उनले कुनै पनि दाता राष्ट्रको सहयोग लिँदा त्यसबाट दीर्घकालसम्म हुने प्रभाव वा असरका बारेमा ध्यान पु¥याउनुपर्नेमा जोड दिए । बीआरआईजस्ता परियोजनामा गाँसिएको स्वार्थलाई बुझ्न नसके कुनै पनि मुलुक दुर्घटनामा पर्नसक्ने तर्फ उनले सचेत गराए ।

‘हामीले योजनाहरु स्वीकार गर्दा किन, केका लागि, कति समयको लागि भन्ने जस्ता विषयमा ध्यान दिनुपर्छ । चीनजस्ता मुलुकले साना मुलुकमा लगानी गर्दा उनीहरूले सय वर्षसम्मको योजना बनाएका हुन्छन्,’ उनले भने, ‘आयोजनाहरूको विकल्प र उपादेयताका बारेमा उनीहरुले ध्यान दिएका हुन्छन् । हामीले पनि त्यहीअनुसार सोच्नुपर्छ ।’ उनले अन्य राष्ट्रमा सम्बन्धित योजनाको कार्यान्वयन अवस्था र प्रभावबारे पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्धमा कलम चलाउने अन्नपूर्ण एक्सप्रेसका प्रधान सम्पादक विश्वास बरालले बीआरआईजस्ता परियोजनाहरूको सम्झौताको पारदर्शितामा ध्यान दिनुपर्ने बताए । उनले निश्चित अधिकारीलाई बाहेक सम्झौता बारेमा थाहा नभएकाले आयोजना बन्दा मुलुकलाई घाटा र नाफा वा दीर्घकालसम्म पर्ने प्रभावका बारेमा जनता अनभिज्ञ रहने समस्या रहेको बताए ।

‘बीआरआईको डकुमेन्ट नै अहिलेसम्म कसैले देखेको छैन । सर्वप्रथम त यो पारदर्शी हुन आवश्यक छ,’ उनले भने, ‘हालै चीनका विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा रेल्वेको प्राविधिक सहयोग गर्नेबारे सम्झौता भएको थियो । तर, सरकारका निश्चित अधिकारीबाहेक अरू कसैलाई पनि थाहा छैन ।’

बीआरआईमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरे पनि अहिलेसम्म अघि बढाउन सकेको छैन । बीआरआईभन्दा पछि हस्ताक्षर भएको अमेरिकी परियोजना एमसिसी सम्झौता संसदबाटै अनुमोदन भएर कार्यान्वयनको प्रक्रियामा गइसक्दा समेत त्यसभन्दा पहिले हस्ताक्षर भएको परियोजना अघि नबढेको भन्दै प्रश्न उठ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?