+
+

आफ्नो परिवारका सदस्यका नाममा बजेट विनियोजन गर्ने छुट छैन : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २७ गते ११:२०

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसका नेताहरुलाई आफ्नो परिवारका सदस्यका नाममा बजेट विनियोजन गर्ने छुट नभएको बताएका छन् ।

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री, शिक्षामन्त्री र कांग्रेसका अन्य नेताहरुका परिवारका सदस्यका नाममा खोलिएका ट्रष्ट तथा प्रतिष्ठानको नाममा बजेट विनियोजन गरेपछि आलोचना भइरहेको बेला महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

आफ्नो हस्ताक्षर चल्छ भन्दैमा राज्य कोषको रकम जहाँ पनि खर्च गर्न नपाइने थापाले बताए । पूर्वमन्त्रीसमेत रहेका थापाले भने, ‘राज्यको कोषमा रहेको रकम मेरो प्राइभेट प्रोपर्टी होइन । मेरो हस्ताक्षर चल्छ भनेर मैले त्यसलाई जहाँ पनि खर्च गर्न पाउँछु ? त्यस्तो गर्न पाइँदैन । एक रुपैयाँ खर्च गर्दा पनि उत्तर दिनुपर्दछ ।’

आर्थिक वर्ष २०७९/८० को बजेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री एवम् कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको बुवाको नाममा खोलिएको ट्रष्टलाई ५० लाख र शिक्षामन्त्री मेखलाल श्रेष्ठका स्वर्गीय बुवा पुननारायण श्रेष्ठ र आमा धनकुमारी श्रेष्ठको नाममा स्थापना गरिएको ट्रष्टका लागि एक करोड बजेट छुट्याइएको थियो । यसैगरी कांग्रेस नेता अर्जुनप्रसाद जोशी, सीता कुमारी काफ्ले, राष्ट्रिय जनमोर्चाकी सांसद पियारी थापा लगायतले पनि आफ्ना परिवारका सदस्यका नाममा खोलेका प्रतिष्ठानमा बजेट पारेका थिए ।

यो कार्यको नागरिकस्तरबाट विरोध भएपछि मुख्यमन्त्री पोखरेलले उक्त बजेट फिर्ता गरी अन्य परोपकारको क्षेत्रमा खर्च गर्न निर्देशन दिएका छन् । साथै शिक्षामन्त्री श्रेष्ठले पनि आफ्नो बुवा-नाममा खोलिएको प्रतिष्ठानका लागि छुट्याइएको बजेट फिर्ता गर्न अर्थमन्त्री रामजी बराललाई सामाजिक सन्जालमार्फत् आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?