+
+

किन नगर्ने होटल-रेस्टुरेन्टको वर्गीकरण ?

यादवकुमार पाण्डे यादवकुमार पाण्डे
२०७९ असार २९ गते १५:०५

‘फुटपाथमा जथाभावी खानेकुरा बेच्न दिन हुँदैन’ भनियो भने निःसन्देह तपाईंको पारो तात्छ । अनि आक्रोशपूर्ण प्रश्न गर्नुहुनेछ, ‘के गरिबले गरिखान नपाउने ?’

एकतर्फी सोच्दा तपाईंको प्रश्न सही हो । घरभाडा तिर्नुपरेको छ, छोराछोरी पढाउनु परेको छ, पुख्र्यौली ऋण तिर्नुपरेको छ, आफ्नो औषधि-उपचार गर्नुपरेको छ । अनि बिहान-साँझ दुई छाकको जोहो गर्नुपरेको छ । यस्तो परिस्थितिमा सानोतिनो लगानी गरी होटल, रेस्टुरेन्ट वा ठेलामा व्यापार गर्नुपर्ने वाध्यता हुन्छ । हो, उनीहरुले ‘गरिखान’ पाउनुपर्छ ।

अब तपाईंले झैं एउटा प्रश्न गरौं, ‘के गरिबले ताजा र स्वस्थकर खाना खान नपाउने ?’

सडक किनारमा राखिएका चाउचाउ, चाउमिन, मःम, समोसा, चाट धनीमानीले खाँदैनन् । सानोतिनो होटल-रेस्टुरेन्टको भात, रोटी, मासु, अचार धनीमानीले खाँदैनन् । त्यहाँ त तपाईं-हामी सर्वसाधारण नै जाने हो । हामी निम्नवर्गीय नेपालीलाई ‘जे आउँछ मज्जाले पचाउँछ’ शैलीमा खानुपर्ने अवस्था छ ।

कोही दिनभर भारी बोकेर धुलो टक्टकाउँदै चाउमिन खाइरहेका छन्, कोही दिनभर रिक्सा ठेलेर पसिना चुहाउँदै दालभात खाइरहेका छन्, कोही दिनभरको दौडधूपपछि सुस्केरा हाल्दै चिया-डुनोट खाइरहेका छन् । के ती समोसा, चाउमिन, मःम, चाट, दालभात ताजा र पोषिलो होला ? हाम्रो जस्तो मुलुकको सन्दर्भमा यस्तो संशय गर्नु जरुरी छ ।

खानेकुरा कुनै कपडा जस्तो होइन, जो कमसल पनि बेच्न सकिन्छ । खानेकुराको गुणस्तरमा कुनै सम्झौता नै हुनसक्दैन । किनभने यो मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील र गम्भीर कुरा हो ।

खानेकुरामा झिंगा भन्किरहेको हुनसक्छ, साङ्ला (कक्रोच) मरेको हुनसक्छ, मुसाले जुठो लगाइदिएको हुनसक्छ । अघिल्लो दिन बाँकी रहेको बासी खानेकुरा फेरि पकाइएको हुनसक्छ, उही तेलमा पटक-पटक समोसा पकाइएको हुनसक्छ, चाउमिन भुटिएको हुनसक्छ, फोहोर पानीमा एकसरो पखालेर साग पकाइएको हुनसक्छ । स्वादिलो बनाउने चक्करमा जथाभावी मसला र रंग मिसाइएको हुनसक्छ । इनारको पानीले भाँडावर्तन सफा गरिएको हुनसक्छ ।

यसको जाँच कसले गर्ने ? अनुगमन कसले गर्ने ? कारवाही कसले गर्ने ?

हामीजस्ता ‘मामुली’ मान्छेले खाने ठाउँमा खानेकुराको गुणस्तर जाँच गरिंदैन । त्यो खानेकुरा खानयोग्य भए नभएको निगरानी गरिंदैन । खान अयोग्य भए त्यसमाथि कारबाही गरिंदैन । त्यसैले हामी जस्तोसुकै खानेकुरा खान बाध्य छौं । हो, यो हाम्रो बाध्यता हो । जबकि स्वस्थ र ताजा खानेकुरा खान पाउनु हरेक नागरिकको अधिकार हो ।

खानेकुरा कुनै कपडा जस्तो होइन, जो कमसल पनि बेच्न सकिन्छ । खानेकुराको गुणस्तरमा कुनै सम्झौता नै हुनसक्दैन । किनभने यो मान्छेको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको अति संवेदनशील र गम्भीर कुरा हो ।

जब कसैले कमसल खानेकुरा खुलेआम बिक्री गर्छ भने त्यसले ग्राहकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको ठहर्छ । कसैको स्वास्थ्यमाथि खेलबाड गर्न कसैलाई छुट नहोला ।

किनभने कमसल खानु ठ्याक्कै त्यस्तै हो, जस्तो कि स्लो पोइजन खानु । खराब खानाले हामीलाई क्रमशः रोगी र जीर्ण बनाउँदै लान्छ । शरीर कमजोर हुन्छ । थला पर्छ । यस्ता खानपानबाट कति बिरामी भइरहेका होलान्, कतिलाई गम्भीर रोगले गाँजिरहेको होला, कतिलाई मृत्युको मुखमा पुर्‍याइरहेका होलान् ? यसको कुनै लेखाजोखा छैन ।

रोगी त दिनप्रतिदिन बढिरहेकै छन् । त्यसमा पनि अधिकांश नेपाली पेटसम्बन्धी रोगले ग्रसित छन् भनिन्छ । पाचन प्रणालीसँग जोडिएका रोगहरुले नै नेपालीलाई अस्पताल पुर्‍याइरहेको छ ।

यादवप्रसाद पाण्डे

ग्यास्ट्रिक, अपच, युरिक एसिड, उच्च रक्तचाप, मधुमेह मात्र होइन क्यान्सर, माइग्रेन, स्नायुरोग, लिभर सिरोसिस, हृदयरोग । चिकित्सकहरु भनिरहेका छन्, यी सबै रोगको एउटै जड खराब खानपान हो ।

यसको स्पष्ट अर्थ हो, कमसल वा गुणस्तरहीन खानेकुरा खानु भनेको शरीरलाई रोगको भण्डार बनाउनु हो । त्यसो हो भने हामी दिनदिनै आफ्नो शरीरलाई रोगी बनाउँदैछौं । हामीसँग रहर र बाध्यता दुवै छ, घरबाहिरको खानेकुरा खान ।

कामधन्दाले गर्दा आफ्नै हातले पकाएको खान फुर्सद हुँदैन । खाजा-नास्ता घरबाटै बोकेर हिंड्ने चलन पनि छैन । त्यसैले बेफुर्सदमा हामी होटल, रेस्टुरेन्टको परिकारले भोक मेट्छौं । कहिलेकाहीं जिब्रोको स्वाद फेर्न पनि होटल, रेस्टुरेन्ट पुग्छौं । तर हामीले खाने होटल, रेस्टुरेन्ट चाहे त्यो फुटपाथको ठेला होस् यी सबैको खानेकुराको शुद्धतामा न ढुक्क हुने स्थिति छ न गुणस्तरमा नै ।

धनीमानीहरु स्तरीय रेस्टुरेन्ट पस्छन्, तारे होटल छिर्छन् । उनीहरु स्वस्थ, ताजा खानेकुरा खान्छन् । तर हाम्रो पहुँच त्यहाँसम्म पुग्दैन । हामी त दिनमा दुई-तीन सय रुपैयाँभन्दा बढी खर्च गर्न सक्दैनौं । त्यसैले हामी चोकगल्लीका होटल, रेस्टुरेन्ट नै जानुपर्छ वा सडक किनाराका पसल नै चहार्नुपर्छ । विडम्बना चाहिं के भने यी होटल, रेस्टुरेन्ट, ठेलामा खानेकुराको गुणस्तर मापन हुँदैन ।

त्यहाँको चाउमिन अलि गन्हाएको हुनसक्छ, मःमभित्र रौं भेटिनसक्छ, दालमा झिंगा भेटिनसक्छ । तर ग्राहकले त्यस विरुद्ध बोल्दैनन् । कहाँ गएर बोल्ने ? के भनेर बोल्ने ? बोलेर के हुन्छ ?

त्यसो भए अब के गर्ने त ?

यसको लागि दीर्घकालीन र वैज्ञानिक व्यवस्था अपनाउन सकिन्छ । त्यो भनेको यी सम्पूर्ण होटल, रेस्टुरेन्टको गुणस्तरमा न्यूनतम मापदण्ड बनाउने । गुणस्तर र सेवा अनुरुप त्यसको वर्गीकरण गर्ने । के यसो गर्न सम्भव छ त ?

सम्भव छ । र, यसलाई सम्भव तुल्याउनैपर्छ । किनभने यो सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय हो ।

हामी देख्छौं, फुटपाथमा खुलमखुला खानेकुरा राखिएको हुन्छ । काठमाडौं जस्तो प्रदूषित सहरमा यसरी खानेकुरा खुलमखुला राखेर बेच्नु कति सही हो ? यस्ता खानेकुरा खानेको स्वास्थ्यमा कति ठूलो हानी हुन्छ होला ?

गुणस्तरको मापदण्ड

एउटा अलग्गै बोर्डको जरुरी हुन्छ । यसमा खाद्य गुणस्तर विज्ञ, आहारविद् अनि हस्पिटालिटी व्यवस्थापनका विज्ञहरुलाई सम्मिलित गर्नुपर्ने हुन्छ । उनीहरुले होटल-रेस्टुरेन्टको आधारभूत गुणस्तरको खाका तयार गर्नेछन् ।

जस्तो कि, कुनै पनि होटल, रेस्टुरेन्ट, ठेला वा सडकमा राखिएको खानेकुरा यति ताजा हुनैपर्छ । त्यहाँ सरसफाइको व्यवस्था यसरी गरेकै हुनुपर्छ । भान्सा र भाँडा माझ्ने ठाउँको दूरी यति हुनैपर्छ । त्यहाँ भान्सेले यस्तो पहिरन, पञ्जा आदि लगाएको हुनैपर्छ ।

यी कुरालाई कडाइका साथ पालना गर्न लगाउनुपर्छ । र, उनीहरुले कायम राख्ने गुणस्तर अनि दिनसक्ने सेवाको आधारमा त्यसको वर्गीकरण गर्न सकिन्छ ।

चार भागमा वर्गीकरण

पाँचतारे होटल, बुटिक होटल आदिको वर्गीकरण गरिए झैं यी साना रेस्टुरेन्ट, होटलहरुलाई चार भागमा वर्गीकरण गर्न सकिन्छ । मानौं, ए प्लस, ए, बी, सी । कुन वर्गको होटल-रेस्टुरेन्ट हो, त्यसको संकेत स्पष्टसँग देखाउनुपर्छ । उपभोक्तालाई थाहा हुन्छ कि म कुन स्तरको होटल वा रेस्टुरेन्टमा खाँदैछु ।

नियमित अनुगमन

एक पटक गुणस्तर जाँच गरेर पुग्दैन । होटल, रेस्टुरेन्टको भान्सा कस्तो छ ? कस्तो खानेकुरा पाकिरहेको छ ? कसरी पाकिरहेको छ ? कसले पकाइरहेका छन् ? के कस्ता चिजबिज प्रयोग गरिरहेका छन् ? यसको नियमित अनुगमन हुनैपर्छ ।

कसैले उजुरी गरेको भरमा वा हाकिमलाई झोंक चलेको अवस्थामा मात्र अनुगमन गर्ने काइते परिपाटी हुनुहुँदैन । होटल, रेस्टुरन्टको खानेकुराको जाँच नियमित हुनुपर्छ ।

दण्ड जरिवानाको व्यवस्था

यदि कसैले कमसल खानेकुरा बेच्छ भने त्यो उसको अपराध हो । यस्ता अपराधलाई छुट दिनु हुँदैन । अतः कुनै ग्राहकले खानेकुराको गुणस्तरमाथि प्रश्न उठाउँछ भने उनीहरुले कहाँ गएर उजुरी गर्ने, कसरी गर्ने भन्ने कुरा सहज बनाउनुपर्छ ।

यदि गुणस्तरहीन, बासी, सडेगलेको, अखाद्य वस्तु मिसाइएको खानेकुरा बिक्री गरेको वा मापदण्ड विपरीत खानेकुरा बनाइएको पाइएमा दण्ड, जरिवानाको व्यवस्था गर्नैपर्छ । किनभने यो चानचुने अपराध होइन ।

फुटपाथको व्यवस्थापन

फुटपाथ वा ठेलाको खानेकुरा हटाउनुपर्छ भनिरहँदा विरोधको स्वर चर्को भएको छ । उनीहरुलाई गरिखान दिनैपर्छ । तर उनीहरुले कमसल खानेकुरा बेच्न पाउनुहुन्न । कसैप्रति करुणा दर्शाएर नराम्रो कुरामा पनि छुट दिंदै जाने हो भने यसले खराब थिति बसाउँछ । त्यसैले स्वास्थ्यको कुरामा कुनै सम्झौता गर्नैहुन्न ।

चाहे सडक किनारमा मकै पोल्ने होस् वा ठेलामा चटपटे बेच्ने । सबैले स्वास्थ्य मापदण्ड पालना गर्नैपर्छ । खानेकुरा ताजा, सफा बेच्नका लागि अतिरिक्त खर्च लाग्ने होइन । फोहोर, वासी, अस्वस्थ्यकर खानेकुरा बेच्नु भनेको लापरवाही हो । अर्काको स्वास्थ्यमाथि लापरवाही गर्नु दण्डनीय कृत्य हो ।

हामी देख्छौं, फुटपाथमा खुलमखुला खानेकुरा राखिएको हुन्छ । काठमाडौं जस्तो प्रदूषित सहरमा यसरी खानेकुरा खुलमखुला राखेर बेच्नु कति सही हो ? यस्ता खानेकुरा खानेको स्वास्थ्यमा कति ठूलो हानी हुन्छ होला ?

फुटपाथमा खानेकुरा बेच्न हुँदैन भन्ने होइन । तर यसलाई व्यवस्थापन गर्नु जरुरी छ । जस्तो कि सहरमा स्ट्रिट फुडको लागि निश्चित ठाउँको व्यवस्था गर्नुपर्छ । एकै ठाउँमा थरीथरीका खानेकुरा पाउने त भइयो नै त्यसलाई स्वास्थ मापदण्ड पनि पालना गराउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?