+
+
कभर स्टोरी :

यौन दुर्व्यवहार : पीडित सताउने सामाजिक, कानुनी र न्यायिक संरचना

बलात्कारलाई हत्यापछि सबैभन्दा गम्भीर प्रकृतिको अपराध मानिन्छ । तर, बलात्कार र यौन दुर्व्यवहारमा परेर न्याय खोजिरहेका पीडितलाई सामाजिक, कानुनी र न्यायिक संरचनाले उल्टो सताउने गरेको छ, कसरी ?

गौरव पोखरेल गौरव पोखरेल
२०७९ असार ३१ गते १६:०७

३१ असार, काठमाडौं । खोटाङकी खानीडाँडा (परिवर्तित नाम) १७ मंसिर २०७१ मा काकाबाट बलात्कृत भइन् । उनी चिच्याउन थालेपछि भाडामा बस्ने अन्य व्यक्तिहरू पनि कोठामा आए र काका झ्यालबाट हामफालेर भागे ।

बेहोश भएकी उनी ब्युँझिंदा थापाथली अस्पतालमा थिइन् । डिस्चार्ज भएपछि उनी प्रहरी वृत्त, ठिमी पुगिन् । तर आफन्तले नै ‘जे हुनु भयो, अब बिर्सिदे, हाम्रा पनि छोरीचेली छन् भोलि विवाह गरेर पठाउनुपर्छ । तेरो कारणले हाम्रा छोरीहरूको पनि विवाह हुँदैन’ भनेर उजुरी नदिन दबाव दिन थाले । पीडामा परेकी उनको पक्षमा आफ्नै परिवार पनि भएन ।

‘मैले उजुरी गरे सम्बन्ध नै नरहने बताउन थाल्नुभयो, तर मलाई परिवारभन्दा न्याय ठूलो लाग्यो’ उनी भन्छिन्, ‘तर मान्छे पक्राउ परेन ।’ गुनासो लिएर महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत पुग्दा पनि आफूले सहयोग नपाएको उनको भनाइ छ ।

घटनाको तीन महिनापछि प्रहरीको साथमा गएर गर्भपतन गराएको उनी बताउँछिन् । ‘त्योबेला ममाथि आइलागेको पीडा कसैले पनि महसुस गर्न सक्दैन, अहिलेसम्म पनि महिनावारी भएको बेला म उठ्नै सक्दिनँ’ उनी भन्छिन्, ‘मैले यही घटनाका कारण दुई वर्षसम्म डिप्रेसनको औषधि खानुपरेको थियो ।’

०००

झापाको बिर्तामोडमा रहेको इलाका प्रहरी कार्यालय अनारमनीमा हालै एकजना पीडित आफूमाथि छिमेकीले ६ महिनादेखि बलात्कार गरिरहेको उजुरी लिएर पुगिन् । स्थानीय अगुवाको सक्रियतामा प्रहरी कार्यालय पुगेकी उनले उल्टै महिला प्रहरीबाट लाञ्छना खेप्नुपर्‍यो ।

मुद्दा फाँटमा उजुरी गर्न जाँदा प्रहरीले ‘६ महिनासम्म नबोल्ने सुस्त हो कि क्या हो’ भनेर उल्टै प्रश्न गरेको स्थानीय अगुवा बताउँछन् । प्रहरीले पीडितलाई उल्टै ‘पैसा, कपडा दियो होला नि’ भनेर शंकाको दृष्टिकोणले हेरेको स्थानीयको भनाइ छ । अर्जुनधारा–७, झापाकी १५ वर्षीया पीडित बालिकाले भोगेको यो समस्याबारे स्थानीयले प्रहरी प्रधान कार्यालय, नक्सालमा पनि मौखिक उजुरी दिएका छन् । र, प्रहरीले छानबिन गर्ने आश्वासन दिएको छ ।

०००

४ जेठ २०७९ मा सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो क्लिप सार्वजनिक गर्दै एक युवतीले आफूलाई आठ वर्षअघि डर, त्रास र धम्की दिएर पटक–पटक बलात्कार गरिएको खुलासा गरिन् । आफू सहभागी सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डेले बानेश्वरको होटल एभरेष्टमा बोलाएर लठ्याउने औषधि खुवाएर बलात्कार गरेको उनको भनाइ थियो । त्यसदिन ती व्यक्तिले बलात्कार गरेको भिडियो तथा तस्वीर खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उनको भनाइ छ ।

घटनालगत्तै उनले पूर्वमिस नेपाल एवं प्रतियोगिताकी कोरियोग्राफर माल्भिका सुब्बासँग सहयोग मागिन् । तर उनीबाट राम्रो प्रतिक्रिया पाइनन् । उनले आफ्ना प्रेमीलाई पनि हिंसा भएको बारे बताइन् । उनीसँग पाण्डेको कन्सल्टेन्सीमा गएर फोटो, भिडियोहरू डिलिट गर्न लगाइन् ।

तर, एकपटक हिंसामा परेकी उनीमाथि पटक–पटक हिंसा दोहोरिरह्यो । प्रेमीले नै हिंसा गर्न थाले । कार्यस्थलमा पनि हिंसा भएको नमिठो अनुभव उनीसँग छ । उनको भनाइमा सुरुमा प्रहरीकहाँ जान प्रेमीले नै ‘इज्जतको डर देखाएर’ रोकेका थिए । तर यी सबै कुरा मनमा राखिरहँदा उनी दुर्व्यवहारको शिकार बनिन् ।

मनोज पाण्डे

उनले पटक–पटक आत्महत्या गर्ने प्रयास पनि गरिन् । केही गर्दा पनि आफूलाई सहज महसुस नभएपछि अन्तिम विकल्प स्वरुप उनले सामाजिक सञ्जालमा आएर विगतका कुराहरूबारे खुलाइन् ।

लामो समयपछि हिम्मत जुटाएर आफूमाथि भएको घटनाबारे बताउँदा पनि उनले कानुनी प्रक्रियामा थप झमेला व्यहोर्नुपर्‍यो । जब बलात्कार सम्बन्धी कसूरमा उजुरीका लागि हदम्याद भएको थाहा पाइन् र कानुनी तहमा आफ्नो पीडा नपुग्ने बुझेपछि उनी थप विक्षिप्त भइन् ।

पछि उनको पक्षमा आन्दोलन भयो र प्रहरीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा पीडक पाण्डेविरुद्ध मुद्दा चलायो । मुद्दा जिल्ला अदालत, काठमाडौंमा विचाराधीन छ, पाण्डे पुर्पक्षका लागि थुनामा छन् ।

०००

सुनसरीको इटहरीस्थित ब्लूमिङ लोटस इंग्लिस स्कुलको कक्षा ९ मा अध्ययनरत एक छात्रा पाँच वर्षअघि विद्यालयका प्रिन्सिपलबाटै बलात्कृत भएकी थिइन् । उनले इलाका प्रहरी कार्यालय, धरानमा २ भदौ २०७५ मा प्रिन्सिपल राजकुमार खड्काविरुद्ध किटानी जाहेरी पनि दिइन् ।

तर प्रहरीले पीडक खड्कालाई पक्राउ गरेन । प्रहरीको दाबी अनुसार उनी फेला नपरेपछि फरार प्रतिवादी बनाएर मुद्दा अघि बढाइएको थियो । पीडितको भनाइमा चाहिं खड्कालाई प्रहरीले फेला नपारेको होइन, खोज्नै चाहेको थिएन ।
पीडितले पटक–पटक प्रहरी कार्यालय गएर घटनाको अनुसन्धानमा भइरहेको प्रगतिबारे सोधीखोजी गरेकी थिइन् । तर उनले चित्तबुझ्दो जवाफ पाएकी थिइनन् ।

राजकुमार खड्का ।

काठमाडौंमा आठ वर्षअघि सौन्दर्य प्रतियोगिताका नाममा किशोरीलाई बलात्कार गरिएको घटना सार्वजनिक भएपछि उनले पनि घटनाबारे सार्वजनिक रूपमा बताउनुपर्छ भनेर हिम्मत गरिन् । अन्ततः सामाजिक सञ्जालमा पनि यो विषयले चर्चा पायो ।

प्रहरी प्रधान कार्यालयले खड्काको खोजीमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) नै परिचालन गर्‍यो  । खड्का १२ जेठमा काठमाडौंबाट पक्राउ परे ।

पीडितका अनुसार उनले उपचारका लागि अस्पताल लैजाने बहानामा होटल लगेर बलात्कार गरेका थिए । पछि स्कुलबाट रेष्टिकेट गरिदिने भन्दै धम्क्याएर पनि दुई वर्षसम्म जबर्जस्ती करणी गरेका थिए । ‘उसले मेरो अश्लील भिडियो पनि बनाएको थियो र मलाई पटक–पटक त्यो भिडियो देखाएर ब्ल्याकमेल गरेको थियो’ उनले भनेकी छन्, ‘एसईई दिउञ्जेलसम्म उसले बाथरुम, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, अफिस, होस्टेल कोठा, जहाँसुकै जहाँ भेटे पनि मलाई बलात्कार गर्‍यो ।’

०००

पहुँच र प्रभावहीनहरू मात्रै होइन आफूलाई राम्रो सार्वजनिक हैसियत बनाएका कतिपय अभियन्ताले समेत आफूमाथिको दुर्व्यवहार व्यक्त गर्न वर्षौं पर्खिनु परेको उदाहरण छ । २५ असार २०७९ मा एकजना चर्चित लेखक एवं अभियन्ताले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभमा आएर ६ वर्षअघि आफूमाथि भएको दुर्व्यवहारबारे बताइन् । लेखक संगीत श्रोताले आफ्नो किताब सम्पादनका क्रममा काठमाडौं आएका बेला दुर्व्यवहार गरेको उनको भनाइ थियो ।

पुस्तक सम्पादनका लागि काठमाडौं आएका बेला आफूलाई ‘दिदी’ भनेर सम्बोधन गर्दै श्रोताले घरै जाउँ भनेर भनेका कारण आफू संगीतकै कोठामा पुगेको उनको भनाइ छ । बेलुकी पुस्तकको काम सकेपछि अलग अलग कोठामा सुतेकोमा भोलिपल्ट बिहान आफूमाथि दुर्व्यवहार भएको उनी बताउँछिन् । बिहानपख आफू सुतिरहेको भान्साकोठाको खाटमा आएर संगीत पल्टिएको भन्दै उनले भनेकी छन्, ‘त्यतिबेला मैले केही सोच्नै सकिनँ, उठेर कोठाबाट बाहिर गएँ ।’

केहीबेरपछि कोठामा फर्किंदा संगीतले चिया बनाएर दिदी चिया खाउँ भनेको उनले सुनाइन् । आफ्नो प्रतिवादको सन्देश बुझ्यो होला भन्ने लागेर आफू त्यो दिन संगीतसँगै राजेन्द्र महर्जन र आहुतिलाई भेट्न गएको उनको भनाइ छ ।

तर, साँझ फेरि कोठामा आएर पुस्तकको काम गर्दा आफूले सोच्नै नसक्ने घटना भएको उनको भनाइ छ । ‘काम सकेर एकछिन कुराकानी गर्ने क्रममा संगीतले मेरो हातको चुरा समाएर चुरा किन लगाउनुहुन्छ भनेर सोधे’ उनले भनेकी छन्, ‘मैले त्यसको उत्तर दिन खोज्दा खोज्दै उसले हात मुसार्न थाल्यो, मैले आफ्नो हात आफूतिर तानें र, भाइ तपाईं सुत्न जानुस् भनें ।’

उनले अगाडि भनेकी छन्, ‘यो मान्छेले मसँग एड्भान्टेज लिन खोज्यो भन्ने महसुस भयो । म कमजोर भएँ भने उसले मलाई भ्याउँछ भन्ने लाग्यो ।’ त्यसपछि आफूले उनलाई धकेल्दै ढोकामा पुर्‍यउँदा नपुर्‍याउँदै च्याप्प समातेर गालामा किस गरेको उनको भनाइ छ । उनले भनेकी छन्, ‘यो अप्रत्यासित थियो, मैले त्यतिबेला तिमी र म त दिदीभाइ हो नि भाइ मात्र भन्न सकें ।’

पीडितका अनुसार यो २०७२ सालमा भएको घटना हो । अहिले सामाजिक अभियन्ता र कानुन व्यवसायीका रूपमा चिनिएकी पीडितले यसबारे तत्काल कसैलाई बताउन नसकेको उल्लेख गरेकी छन् । ‘मलाई निद्रा लाग्यो कि लागेन होला ? मलाई कस्तो लाग्यो होला भन्ने तपाईं सोच्नुस्’ उनले भनेकी छन्, ‘एउटा २० वर्षकी पीडितलाई जस्तो हुन्छ, मलाई पनि त्यस्तै भएको थियो ।’

‘अरूले के ठान्लान् र के सोच्लान् भन्ने डर’ कै कारण आफूमाथि भएको दुर्व्यवहारबारे कसैलाई बताउन नसकेको उनले भनेकी छन् । दुई वर्षपछि २०७४ सालमा प्रमोद धिताललाई किताब अनुवादको कामका सिलसिलामा घरमा आएका बेला त्यसबारे बताएको उनको भनाइ छ ।

पछि कवि अभय श्रेष्ठलाई पनि ‘महिलाको कुरा बुझ्ने मान्छे हुन्’ भन्ने लागेपछि सुनाएको उनको भनाइ छ । यद्यपि, तेस्रो घटना चाहिं त्यतिबेलासम्म पनि भन्न नसकेको उनको जिकिर छ । एकातिर उनले त्यो घटनाबारे स्पष्ट रूपमा बताउन सकिरहेकी थिइनन्, अर्कातिर चाहिं तिनै पीडक संगीतसँगै विभिन्न सिलसिलामा जोडिइरहनुपर्ने बाध्यता थियो । किनकि, दुवैजना एउटै क्षेत्रमा काम गरिरहेका थिए ।

‘मैले न्यायिक क्षेत्रमा काम गर्न थालेपछि भोगेको तर हिम्मत नगरेका चिजहरूले धेरै नै ट्रिगर गर्न थाल्यो’ उनी भन्छिन्, ‘त्यसपछि मैले विस्तारै आफूलाई संगीतहरूको संगतबाट डिट्याच गर्न थालें ।’ तर आफू जत्तिको मान्छेलाई त यस्तो गरेको छ भने अरू पनि पीडित हुनसक्छन् भन्नेमा आफूलाई सधैं चिन्ता भएको उनको भनाइ छ ।

उनी न्यायका लागि साथ मिल्छ कि भनेर प्रगतिशील लेखक संघसमक्ष पनि यो कुरा लिएर गएको बताउँछिन् । तर आफ्नो पक्षमा बोलिदिने कोही नभएको बरु उल्टै ‘माक्र्सलाई यौन हिंसासँग जोडेर लेख लेखेको विषय’मा स्पष्टीकरण सोधिएको उनी बताउँछिन् ।

पछि मानुषी भट्टराईलाई घटनाबारे बताउँदा पनि संगीतकै सहयोगी जस्तो व्यवहार गरेको उनको भनाइ छ । यो विषयमा विनोदविक्रम केसी लगायतसँग बसेर छलफल गर्दा ‘यो विषय सल्ट्याउनुपर्छ, एउटै बोलीले धेरैलाई ढाल्छ’ भनिएको उनी बताउँछिन् ।

घटना सार्वजनिक गरिसकेपछि पनि उल्टै आफूलाई लाञ्छना लगाउने काम भएको उनको भनाइ छ । रामेश्वरी पन्त जस्तो मान्छेले पनि ‘किन एक्लो पुरुष भएको ठाउँमा गइस् ?’ भनेर भन्नुभएको छ । उनको प्रश्न छ, ‘बाहिरका के भन्लान् भनेर सोच्दासोच्दै झन् दलदलमा परिंदो रहेछ, तर यस्ता प्रवृत्तिका व्यक्तिहरूको कर्तुत बचाउँदै हिंड्न पीडितहरूले कहिलेसम्म ठेक्का लिएर बस्ने ?’

यो घटना अझै कानुनी दायरामा त पुगेको छैन । तर सामाजिक रूपमा संगीत श्रोतामाथि प्रश्न उठेको छ । अहिले पनि पीडितमाथि समाजले प्रश्न उठाउन छाडेको छैन ।

हत्यापछिको जघन्य अपराध

कानुन व्यवसायी राजु चापागाईंका अनुसार जबर्जस्ती करणीको कसूरलाई हत्यापछिको जघन्य अपराध मानिन्छ । हत्यामा मानिसको भौतिक शरीर समाप्त हुन्छ भने बलात्कारमा मानसिक रूपमा ऊ मरेतुल्य हुन्छ ।

तर यस्तो संवेदनशील अपराध भएदेखि नै सामाजिक संरचना, राज्य संयन्त्र र न्याय प्रणालीभित्र पीडितले सहज महसुस गर्दैनन्, किनकि यो संरचना पीडितमैत्री छैन । पीडितले झन् पीडित हुने गरी अनेक तनाव झेल्नुपर्ने प्रस्तुत घटनाक्रमहरूले पनि देखाउँछ ।

सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिले नै आफूमाथि भएको अत्याचारबारे बोल्दा उल्टै लाञ्छना भोग्नु परिरहेको छ । झन् बोल्न नसक्ने सामान्य नागरिकको अवस्था के होला ? अनुमान गरिसाध्ये छैन ।

प्रहरी प्रधान कार्यालय, नक्सालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार आर्थिक वर्ष २०७७/७८ मा मात्रै जबरजस्ती करणी सम्बन्धी कसूरका २ हजार ५३२ मुद्दा देशभरका प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

सबैभन्दा बढी प्रदेश–१ मा २ हजार ५३२ मुद्दा दर्ता भएका छन् । यही अवधिमा जबर्जस्ती करणी उद्योगका ७३५ वटा मुद्दा दर्ता भएका छन् । महिला हिंसासँग जोडिएको यो आर्थिक वर्षका घटनामध्ये ८२.८९ प्रतिशतमा अभियुक्त चिनजानकै व्यक्ति छन् । राईका अनुसार १ हजार ३२० वटा घटनामा छिमेकी नै संलग्न देखिन्छन्, ३० वटा घटनामा शिक्षक पीडक छन् ।

आर्थिक वर्ष २०७७÷७८ मा भएका महिला हिंसाको घटनामा नातासम्बन्धको आधारमा अभियुक्तको विश्लेषण । स्रोतः प्रहरी प्रधान कार्यालय

राईका अनुसार सबैभन्दा बढी ११ देखि १६ वर्ष उमेर समूहका बालिका पीडित छन् । त्यसपछि १९ देखि २५ वर्ष उमेर समूहका युवती पीडित छन् । बलात्कारका १ हजार ४६५ घटनामा १९ देखि २५ वर्षका पुरुष पीडक छन् ।

अधिवक्ता शशि बस्नेतका अनुसार बलात्कारको घटना हुने वित्तिकै पीडितले बताउन नसक्नुका पछाडि सामाजिक संरचना पनि दोषी छ । ‘बलात्कार वा यौन हिंसाबाट पीडित घटना हुने वित्तिकै एकदमै विक्षिप्त अवस्थामा हुन्छ, उसले के गर्ने, के नगर्ने कसलाई भन्ने, नभन्ने नै सोच्नै सक्दैन’ बस्नेत भन्छिन्, ‘अझ डर, त्रास र धम्कीका कारण पनि कतिपय घटनामा आफूमाथिको ज्यादती बताउन नसकेको अवस्था हुन्छ ।’

एकातिर पीडकले घटनालाई दबाउन हरसम्भव प्रयत्न गरिरहने र अर्कातिर पीडित आफैं कठिन अवस्थामा हुने भएकाले पनि यस्ता घटना तत्काल बाहिर आउँदैनन् । बस्नेतको भनाइमा कतिपयले हिंसाबारे उजुरी गर्दा उल्टै लाञ्छना खेप्नु परेको छ । कतिपयको गोपनीयता कायम भएको छैन । त्यसैले आफू ‘एक्सपोज’ हुन्छु कि वा उल्टै आफैंमाथि प्रश्न उठ्ने हो कि भन्ने डरले पनि पीडितहरू खुल्न नचाहने गरेको उनी बताउँछिन् ।

अधिवक्ता चापागाईंको बुझाइमा पनि बलात्कार वा हिंसा पीडितका लागि पहिलो समस्या परिवारबाटै सुरु हुन्छ । ‘गाउँघरमा पीडितलाई सहयोग गर्ने वातावरण नै हुँदैन, कतिपय घटनामा जसले उसलाई संरक्षण गर्नुपर्ने हो, ऊ नै पीडिक भइदिन्छ’ उनी भन्छन्, ‘यस्तो अवस्थामा पीडितले उजुरी गर्छु, न्याय खोज्छु भनेर हिंड्दा पनि आर्थिक र सामाजिक सहयोग नहुने अवस्था छ ।’

परिवारभित्रकै व्यक्ति पीडक भएको घटनामा घरमा बसेर न्यायको ढोका ढक्ढक्याउनु पीडितका लागि झनै जटिल विषय बन्छ । अझ न्यायका लागि आफन्त, साथीभाइ वा अरू कोही कहाँ बसेर लड्छु भन्दा पनि उल्टै हिंसामा पर्ने गरेको उदाहरण छन् ।

घरपरिवारबाट निस्किएर हेर्दा समुदायबाट पनि पीडितले सहयोग पाउने वातावरण छैन । बरु कतिपय बलात्कारका घटनामा जनप्रतिनिधि वा समुदायबाटै लेनदेनमा मिलाउने प्रयास भएका उदाहरण छन् ।

वरिष्ठ अधिवक्ता मीरा ढुंगानाको भनाइमा समाजले पीडितलाई कानुनी तहमा जान प्रेरित गर्दैन, बरु कसरी गाउँठाउँमै मिलाउन सकिन्छ भन्नेतिरै ध्यान दिने गरेको छ, जुन दुखद् हो ।

घरपरिवार र समाजले गर्ने असहयोगबाट उठेर पीडित उजुरीका लागि प्रहरी कार्यालय पुग्दा पुनः पीडित हुनुपर्ने अवस्था छ । माथि उल्लिखित झापाको घटनामा महिला प्रहरीले नै पीडितसँग दुर्व्यवहार गरेकी छन् । अझ कतिपय प्रहरी कार्यालयमा त पर्याप्त महिला प्रहरी पनि छैनन् ।

‘नेपाल प्रहरीले लैंगिक संवेदनशीलतालाई ध्यान दिंदै मुद्दा चल्ने हरेक युनिटमा महिला प्रहरी अनिवार्य गरेको छ’ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का निर्देशक उत्तमराज सुवेदी भन्छन्, ‘यदाकदा समस्या भएका घटना सुनिएलान् तर प्रहरीले आफूलाई सुधार्दै लगेको छ ।’

नेपालमा पछिल्लो तीन वर्ष भएका महिला हिंसाका घटना । स्रोतः प्रहरी प्रधान कार्यालय

तर मानवअधिकारकर्मी एवं नागरिक अगुवा मोहना अन्सारीको विचारमा सधैं ‘प्रि–अकुपाइन्ड माइन्ड’बाट सोच्ने हुँदा महिला र बालबालिकासँग सम्बन्धित गुनासोमा प्रहरी अझै संवेदनशील बन्न सकेको छैन ।

‘महिला र बालबालिकासँग सम्बन्धित घटनामा नागरिकले सूचना दिने वित्तिकै एक्सनमा जानुपर्नेमा उल्टै पीडितलाई शंका गर्ने प्रवृत्ति छ’ उनी भन्छिन्, ‘यसले प्रहरीले नागरिक विश्वास गुमाइरहेको छ ।’

प्रहरीकहाँ पुगिसकेपछि पनि कतिपय घटनामा घटनालाई मिलाउन भूमिका खेलेको आरोप लागेको छ । २०७४ माघमा काठमाडौंमा भएको चर्चित दरबारमार्ग सामूहिक बलात्कार प्रकरणमा पनि प्रहरीकै रोहबरमा ३० लाख रुपैयाँ लेनदेन भएको खुलेको थियो ।

घटनाबारे सञ्चारमाध्यममा सार्वजनिक भएपछि तत्कालीन दरबारमार्ग प्रहरी प्रमुख डीएसपी तिलक भारतीलाई जिल्ला प्रहरी परिसर, काठमाडौं तानिएको थियो । प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारी निलम्बित भएका थिए ।

पितृसत्तात्मक समाजको प्रभाव पनि हुनसक्छ, जति तालिम दिए पनि अनुसन्धान अधिकृतहरू यस्तो घटनामा संवेदनशील हुनसकेका देखिंदैनन् । गोपनीयता पनि कागजी रूपमा कायम गरेको जस्तो देखाउने चलन छ, तर व्यवहारमा पीडितको केही कुरा गोप्य रहँदैन

‘प्रहरीले पीडितलाई उजुरी दर्ता गर्न सहज वातावरण बनाउनुपर्ने र संरक्षण गर्नुपर्नेमा उल्टै निरुत्साहित गर्ने प्रवृत्ति छ, अझ कुनै पीडकलाई समात्ने वित्तिकै राजनीतिक र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिहरूकै फोन आउने गरेको छ ।’

यति गरेर जाहेरी दर्ता भइसकेपछि पनि कतिपय घटनामा प्रहरीले आरोपीलाई पक्राउ गर्न त्यति धेरै सक्रियता देखाएको देखिंदैन । चर्चामा आउने घटनामा प्रहरी कारबाही तीव्र छ । तर ओझेलमा परेका घटनाहरूमा आरोपी नसमातिएका उदाहरण धेरै छन् ।

अनुसन्धानका क्रममा पनि पीडितलाई संरक्षण गर्नुपर्नेमा त्यसो हुन नसकेको चापागाईं बताउँछन् । ‘पितृसत्तात्मक समाजको प्रभाव पनि हुनसक्छ, जति तालिम दिए पनि अनुसन्धान अधिकृतहरू यस्तो घटनामा संवेदनशील हुनसकेका देखिंदैनन्’ उनी भन्छन्, ‘कागजी रूपमा गोपनीयता कायम गरेको जस्तो देखाउने चलन छ, तर व्यवहारमा पीडितबारे सबैलाई थाहा हुन्छ ।’

अहिले केही जिल्लामा पीडितलाई राख्न सेफ हाउसको व्यवस्था गरिए पनि पर्याप्त नभएको उनी बताउँछन् । उपत्यकाको एक युनिटको मुद्दा शाखामा कार्यरत प्रहरी निरीक्षक स्वयम् पीडकबाट पीडितलाई सुरक्षा दिनै समस्या रहेको बताउँछन् । ‘घटना हुने वित्तिकै पीडकको पक्षमा हूल आउँछ, उजुरी दिनबाट रोक्न भयंकर प्रयास गर्छ’ उनी भन्छन्, ‘प्रहरी र पीडितलाई प्रभावमा पार्ने प्रयास हुन्छ ।’

कतिपय घटनालाई राजनीतीकरण गराएर पीडितको पक्षमा दबाव दिने प्रवृत्ति रहेको बताउँदै उनी भन्छन्, ‘पीडितको पक्षमा चाहिं एकदमै कमजोर उपस्थिति देखिन्छ, यसले पीडितलाई झनै मानसिक रूपमा विक्षिप्त बनाउने अवस्था छ ।’

बलात्कारको घटनामा पीडितको स्वास्थ्य जाँचलाई पनि महत्वपूर्ण मानिन्छ । तर स्वास्थ्य परीक्षण गर्ने प्रणाली पनि सहज र विश्वसनीय नरहेको घटनाक्रमहरूले देखाउँछ । पीडितलाई स्वास्थ्य जाँचका लागि घन्टौं अस्पतालमा बस्नुपर्ने अवस्था छ ।

डोल्पाको एउटा सामूहिक बलात्कारको घटनामा जिल्ला अस्पताल र भेरी अञ्चल अस्पतालले भिन्दाभिन्दै रिपोर्ट दिएको उदाहरण छ । जिल्लाले पीडितको यौनांगको जाँचबाट करणी भएको नदेखिएको रिपोर्ट दियो भने अञ्चल अस्पतालले विपरित रिपोर्ट दियो । घटनाको छानबिनका लागि फरेन्सिक विज्ञ डा. हरिहर वस्तीको नेतृत्वमा समिति नै बन्यो ।

जानकारहरूका अनुसार पीडितका लागि कानुनी प्रक्रियामा जाँदा ‘फर्मालिटी’का कुराहरू नै बढी छन् । न्याय खोज्दै जाँदा पीडितले झनै झन्झट व्यहोर्नु परिरहेको उनीहरू बताउँछन् ।

०००

जानकारहरूका अनुसार प्रहरीले अनुसन्धानका सिलसिलामा कतिपय अभियोग पत्रमा क्षतिपूर्तिको दाबी नै गरिदिंदैन । प्रहरीको अनुसन्धानलाई सुपरीवेक्षण गर्ने दायित्व सरकारी वकिलको पनि हो । तर प्रहरीले कसरी अनुसन्धान गरिरहेको छ भन्ने हेर्ने फुर्सद सरकारी वकिललाई पनि हुँदैन ।

एक सरकारी वकिलको भनाइमा मुद्दाहरूका चाप हुने हुँदा चर्चामा आएका घटना बाहेकमा त्यति धेरै ध्यान दिएर हेर्न असम्भव जस्तै हुन्छ । अधिवक्ता चापागाईंका अनुसार सरकारी वकिलसम्म अनुसन्धान प्रतिवेदन पुगेपछि पीडितसँग सम्पर्कमा बसेर निरन्तर उनको अवस्था बुझेर सहयोगी वातावरण बनाउनुपर्ने हो । अनुसन्धानकै क्रममा प्रमाणहरूको मूल्यांकन गर्नुपर्ने हो ।

तर, यही पाटोमा कमजोरी हुँदा अधिकांश मुद्दा अदालतसम्म पुग्दा अधिकांश घटनामा पीडित होस्टायल (बयानबाट पछि हट्ने) गरेका छन् । ‘अदालतसम्म पुगुञ्जेलसम्म मिडियाको प्रेसर पनि कम भइसकेको हुन्छ, अभियन्ताहरूको ध्यान पनि कमजोर हुँदै जान्छ’ चापागाईं भन्छन्, ‘त्यतिबेलै प्रलोभन दिएर पीडितलाई बयान परिवर्तन गर्न लगाउने खेल हुन्छ ।’

अभिनेता पल शाह मुछिएको बलात्कार प्रकरणमा पनि यही भयो, सुरुवातमा बलात्कार भएको बताउने पीडित किशोरी र उनको परिवारले पछि बयान परिवर्तन गर्‍यो । यद्यपि, अदालतले पछि फेरिएको बयानलाई प्राथमिकता दिएन ।

यौन हिंसाका घटनामा फास्ट ट्रयाक अदालतका कुरा पनि उठ्ने गरेको छ, सर्वोच्च अदालतले फास्ट ट्रयाक अदालत बनाउन भनेर आदेश नै दिएको छ ।

‘तर अझै सोचे जस्तो हुनसकेको छैन, यस्ता केसहरूलाई छिटो टुंगोमा पुर्‍याउनुपर्छ भन्ने मान्यता त स्थापित भएको छ’ चापागाईं भन्छन्, ‘अझै पर्याप्त चाहिं छैन ।’

उनको बुझाइमा पीडितले उजुरी दिएदेखि अनुसन्धान, सरकारी वकिल र अदालतसम्म पुग्ने चरणसम्ममा सहयोगका लागि एउटा सरकारी संयन्त्रको खाँचो छ, जसले पीडितलाई हरेक आर्थिक, सामाजिक र न्यायिक लडाइँमा सहयोग गरोस् ।

कभर स्टोरी
लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि सुरक्षा, अपराध तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?