+
+

कथा : मधेसतिर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १५:५३

सुनकोशी र तामाकोशीको संगममा बिहान भयो । सुनकोशी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोशी धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोशीमा मिसिन्थ्यो । सुनकोशीलाई तर्न सक्ने कोहीकोही मात्र होलान्, तर तामाकोशीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रुखपातहरु ठाडै उभिएका जस्ता थिए ।

सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केजस्तो गरेर नदीका किनारमा घुम्लुङ्ग परेर सुतेका चार-पाँच जना उठे । सबैको मनमा उठ्नासाथ प्रश्न उठ्यो- पेट कसरी भर्ने ?

एउटाले अर्कोको मनोभाव बुझेको जस्तो गरेर सबै मुखामुख गर्न लागे । विधवाको दृष्टि गोरेमाथि थियो । विधवाले सबैलाई सम्बोधन गरेर भनिन्,  ‘होइन, तिमीहरु घरबाट हिंड्दा पेट भर्न के उपाय गरेर हिंडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?’

सबैजना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो, ‘मेरो त घरै छैन ।’

बुढोले भन्यो, ‘मेरो त थियो, तर अब म पनि घरद्वार नभएको छु । तर नानी, तिम्रो भए किन यहाँ आएकी त ?’

घरद्वार नभएका यी चार जना माग्ने भनूँ वा कुल्ली भनूँ, काम पाए कुल्ली नत्र माग्नेका माझमा घरद्वार भएकी विधवा कागको हुलमा हंसिनी थिइन् । तिनले अन्नपूर्ण झैं झट्ट आफ्नो पोकोबाट चिउरा झिकिन् र भाग लाउन थालिन् । सबैको चिउरामाथि थपथप चाकुका डल्ला राखिन् ।

सबैको आँखामा अकस्मात् तेज आयो र सबैको हृदयमा विधवाप्रति महान् आदरको भाव उत्पन्न भयो । गोरेलाई आफ्नो भागबाट चिउरा थपिदिंदै भनिन्, ‘तिमी जवान छौ । तिमीलाई अरुभन्दा बढ्ता भोक लाग्दो हो ।’

फेरि सबैलाई सम्बोधन गरेर भनिन्, ‘मधेसतिर हिंडेकी, पोइ छैनन् । सासूससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रूखो, माया गर्थ्यो तर पोइ नभएको घरमा टिक्न सकिनँ ।’

यो वाक्यले ती चारै जनाको हृदयमा खुब प्रभाव पार्‍यो । खान पाउने ठाउँ पोइ छैन भन्दैमा लत्याएर हिंड्नु तरतरो काम होइन । तिनीहरु ती विधवालाई झन् मान गर्न थाले । उनले सोधिन्, ‘तिमीहरु कहाँ हिंडेका नि ? तिमीहरुले त राति पनि केही खाएको देखिनँ, त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकोले तिमीहरुनेर आएर सुतें । रातभरि तिमीहरुको माया लागिरहृयो ।’

भोटेले बडो आश्चर्य मानी सोध्यो, ‘तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंको पोइ होइनौं, छोरा होइनौं, बाबु होइनौं ।’

विधवाले भनिन्, ‘तिमीहरु मान्छे त हौ ।’

हिजो दिनभरि नखाएको पेटमा चिउराका कणहरु पर्दा सबै फूर्तिला भएर उत्साहसँग कराई कुरा गर्न थाले । बुढोले भन्यो, ‘नानी, हामीहरु चार जनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिंडेको । अहिले तिम्रा कुराले मधेस जानुपर्ने जस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।
उत्निखेर सबैले मधेस लाग्ने निश्चय गरे र पाँचैजना, चार लोग्ने मानिस एक स्वास्नी मानिस दक्षिणको बाटो लागे । बुढो आफ्नो बितेको जीवनका घटनालाई भन्थ्यो- ‘उसले एकचोटि निकै पैसा कमायो, सत्र रोपनी खेती गर्थ्यो । पछि त्यसै बिग्रीबिग्री आयो । त्यसबेला त्यो जवान थियो, निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामर्थ्य छैन । नत्र यो बुढो यसै भोकभोकै हल्लिरहन्थ्यो ? अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकेर मात्र यताउति हिंड्नुपरेको ।’

विधवाले भनिन्, ‘मेरो त मधेसमा गएर राम्ररी घरबार गरेर बस्ने इच्छा छ । सानो खेतीबारी गर्‍यो । वहाँ खेती गर्न सजिलो छ रे । जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासूससुराका कचकचले अड्नै सकिएन । फेरि पोइ मरेका ठाउँमा त्यसै उच्चाट लागेर आउने ।’

भोटे र धने यिनीहरुको कुरा चाख मानेर सुनिरहेका थिए । तर आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबभन्दा पछि गोडा घसारी हिंडिरहेको थियो । विधवा गोरेको निम्ति पर्खिन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिकै आएपछि विधवाले भनिन्, ‘के थाक्यौ, गोरे ? घाम पनि अग्घोर छ । तिम्रो टाउको तात्यो होला । लौ लेऊ, यो कपडा टाउकोमा राख ।’

उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकामा राखिदिइन् । फेरि सबै जना हिंड्न थाले । त्यो बुढो भन्नु मात्र थियो, त्यो सबभन्दा अघिअघि लमकलमक गरेर हिंड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनीसुनी हिंडिरहेका थिए । आफ्नो पछिल्लो जीवनको घटनालाई त्यसरी रूचाएर तिनीहरुले सुनेको देख्ता बुढो झन् सुरिएर भए नभएको कुरा गर्न थाल्यो । भोटे र धने पक्क परेर सुनिरहेका थिए । भित्रभित्र तिनीहरु बुढाको आदर गर्थे ।

विधवा र गोरे पछिपछि बिस्तारै बिस्तारै आइरहेका थिए । गोरेको उमेर पच्चीस वर्षको हुँदो हो, विधवाको तीस । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको परिश्रमले झन् तल भासिएको थियो, आँखा ज्योतिहीन थिए । विधवाले सोधिन्, ‘तिमी मधेस गएर के गर्छौ ?’

गोरेले भन्यो, ‘कुन्नि ।’

विधवाले भनिन्, ‘के तिमी घरबार गर्दैनौ ? खेतीबारी गरी बस्न मन छैन ।’

गोरेले भन्यो, ‘पैसा खोइ नि ।’

विधवाले भनिन्, ‘मधेसमा खेती गर्न त्यसै पाइन्छ । वहाँ खेत सितैं पाइन्छ । तिम्रो उमेर के भयो होला ? घरद्वार गर । स्वास्नी पाल, छोराछोरी पाल । यस्तो उरन्ठ्याउलो भएर कति दिन बिताउँछौ ।’

विधवाले फेरि एक्कासि प्रश्न गरिन्, ‘तिमीलाई स्वास्नीमानिस मन पर्दैनन् ?’

गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हेर्‍यो र भन्यो, ‘किन मन पर्दैनन् ?’

विधवाले भन्न थालिन्, ‘म मधेस गएर खेतीबारी गर्छु । घरबार गर्छु, तर स्वास्नीमान्छेले मात्र घर बनाउन सक्तैनन्, लोग्नेमानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो, किन हामी दुई जना मिलेर घर नचलाऔं ?’

गोरेले विस्मयको दृष्टिले विधवालाई हेर्‍यो । विधवाले अलिक अप्रतिभ भएर भनिन्, ‘के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त, मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएको छैन । मेरो सन्तान पनि कोही भएन, त्यसो हुनाले शरीर बिग्रन पाएन ।’

गोरेले चकित भई विधवालाई हेरिरह्यो । विधवाले भनिन्, ‘गोरे, मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्तिनँ र ? खोइ मेरा छोराछोरी ? खोइ मेरो आफ्नो घर ? खोइ मेरो आफ्नो मान्छे ?’

विधवाको मुख अकस्मात् रून्चेजस्तो भयो । उनको मुख रातो भयो । मुन्टो तल गाडेर नबोली हिंड्न थालिन् । धेरैबेरसम्म उनीहरु नबोली हिंडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निस्तब्धतालाई भंग गरेर भनिन्, ‘गोरे, मसँग अलिक गहना पनि छ, रूपियाँ पनि छ, त्यसैले गएर खेती किनौंला, घरद्वार बनाउँला, तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।’

अलिक पर बुढो, भोटे र धने एउटा ठूलो ढुंगामा बसेर तिनीहरुलाई पर्खिरहेका थिए । उनीहरुलाई आएको देखेर टाढैबाट बुढोले भन्यो, ‘अब बस्ने होइन ? खाने के नि ?’

सबैको दृष्टि विधवामाथि पर्‍यो । उनले भनिन्, ‘अलिकता चिउरा बाँचेको छ, पेटभरि नभए पनि अलिअलि त थेग्ला ।’

तिनीहरु बसेर चिउरा फाँक्न थाले र आकाशलाई छानो बनाएर गुँडुल्किएर त्यहीं बाटोको छेउमा सुते । दिनभरि हिंडेका हुनाले तिनीहरु सुत्न पनि पाएका थिएनन्, भुसुक्क निदाए ।

बिहान सूर्यको पहिलो किरणको साथसाथैमा बुढो उठ्यो र खोक्न थाल्यो । सबजना उठे । तर गोरेको पत्ता थिएन । विधवाले आत्तिएर सोधिन्, ‘गोरे खोइ ?’

बुढोले शान्त भएर भन्यो, ‘गयो होला कतै, अब हामीले हिंडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय हुन सक्छ ।’

विधवाको हृदय भारी भयो र उनी बुढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुर्दिनको सँगी यसरी अल्पिंदा यिनीहरुको मनमा अलिकता पनि दुःख नहुनु ? तिनी आफ्नो पोको बटुल्न थालिन् । उनको हृदय धक्क भयो । उनको गहनाको पोको छैन ।

सबजना हिंड्न तयार भए । तर विधवा बसेर पोकाहरु बाँधबुँध मात्र गरिरहेकी थिइन् । त्यो देखेर बुढाले सोध्यो, ‘के गरिरहेको ? हिंडिहालौं नत्र साँझसम्म पुगिंदैन । भोकै सुत्नुपर्ला ।’

विधवाले रून्चे स्वरले भनिन्, ‘मेरो गहनाको पोको छैन ।’

सबजना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो, ‘तिमी गहनागुरिया लिएर कहाँ हिंडेको त ? लग्यो होला, गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नु ?’

विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्, ‘चुप लाग, बुढा । त्यस गहनाले मैले के के गरूँला भन्ने विचार गरेकी थिएँ, खेती किनुँला, बिहा गरूँला, घर जमाउँला, छोरा पाउँला । मेरो सारा आशा नष्ट भयो ।’

यति भनेर डाँको छोडेर रून लागिन् । बुढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो, ‘किन रोएकी, नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भइहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ । तिम्रो घर पनि हुन्छ । नआत्तियौ, लौ हिंड ।’

विधवा टोल्हाएर उभिइन् र बुढोको पछिपछि लागेर हिंड्न थालिन् ।

त्यो टाढाको टाकुरामा पुगेर बुढोले बडो उत्साहसँग दक्षिणतिरको आँखाले भ्याउन्जेलसम्मको, ठूलो विस्तीर्ण मैदानलाई देखाएर आफ्ना साथीहरुलाई भन्न थाल्यो, ‘ऊ त्यही हो मधेस । त्यहीं हाम्रो उद्धार हुन्छ । त्यहीं हामीले अघाउन्जेल खान पाउँछौं ।’

भोटे र धनेको आँखामा उत्साहको आभा दगुर्‍यो । भोकले सुकेको गालामा पनि आनन्दको गुलाफी देखियो । कानसम्म मुखको कुना पुर्‍याएर मुखभरि चाउरी पारेर तिनीहरु हाँसिरहे ।

तर विधवामा उत्साह थिएन । आफ्नो उमेर ढलिसकेको थियो । उनले तिनै गहना र रूपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई (आफ्नो सानो घर, छोराछोरी) सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घर झैं भताभुङ्ग भयो । उनले पनि देखासिकी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् ।

(विश्वेश्वरप्रसाद कोइरालाको पहिलो कथा संग्रह ‘दोषी चश्मा’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?