+
+

पाँच पटक नै जुम्ल्याहा जन्मिएपछि श्रीमतीसँग डिभोर्स

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १२:२७

काठमाडौं । चिकित्सा विज्ञानका अनुसार संसारमा हरेक १ हजार जन्ममा ४।५ वटा जुम्ल्याहा बच्चा जन्मिन्छन् ।

जब महिलाको शरीरमा एकै पटकमा दुईवटा डिम्ब परिपक्क हुन्छन् र दुबै डिम्बसँग शुक्रकिटको मिलन भएर भ्रूण बन्दछ तब जुम्ल्याहा बच्चा बन्दछन् । यो वास्तवमै प्राकृतिक कुरा हो । यसमा महिलाको आफ्नो कुनै हात हुँदैन । तर मानिसलाई अज्ञानताको बादलले छोपेपछि के गर्नु ? लगालग जुम्ल्याहा जन्माएको भन्दै एक पुरुषले आफ्नी पत्नीसँग डिभोर्स गरेका छन् ।

ती महिलाले पाँचौँ पटकमा पनि जुम्ल्याहा बच्चा जन्माएपछि उनलाई असामान्य भएको आरोप लगाउँदै लोग्नेले छाडेका हुन् । ती महिलाका हाल १० जना सन्तान छन् र लोग्नेले छाडेपछि उनलाई लालनपालनमा समस्या भएको छ ।

यो घटना अफ्रिकी देश युगान्डाको हो । त्यहाँकी नालोंगो ग्लोरिया नामकी महिलाले पाँच पटक नै जुम्ल्याहा जन्माएको भन्दै उनका पति सालोंगोले उनलाई छाडेका छन् । उनले हालैमात्र नयाँ जुम्ल्याहा जन्माएकी हुन् ।

ग्लोरियाले स्थानीय टेलिभिजनसँगको कुराकानीमा भनेकी छिन्– जब मैले तेस्रो पटक जुम्ल्याहा बच्चा जन्माएकी थिएँ तब नै मेरो पतिले त्यो उसका लागि निकै धेरै भएको बताएका थिए । त्यसबेला नै उनले मलाई घर छाडेर जान भनेका थिए ।

आफूलाई १० बच्चाको जन्म दिएकोमा कुनै दुखेसो नरहेको भन्दै उनले बाबुले नहेरे पनि आफुले बच्चालाई कहिल्यै छाड्न नसक्ने बताउँछिन् । आफ्ना जुम्ल्याहा बच्चाहरु भगवानको देन रहेको र सबै कुरा भगवानमाथि नै छाड्ने उनले बताइन् ।

पछिल्लो समय आफू भाडामा बस्दै आएको घरका मालिकले समेत आफूलाई कोठा छाड्न भनेपछि उनी झनै समस्यामा परेको बताइएको छ ।

–एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?