+
+

त्रिचन्द्र क्याम्पसलाई कसरी जोगाउने ? प्राज्ञहरुसँग प्रधानमन्त्रीले गरे यस्तो प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते २०:४८

१० साउन, काठमाडौं । त्रिचन्द्र क्याम्पसबाट स्नातक हुन् प्रधानमन्त्री शेरबहादुर देउवा । आफूले समेत पढेको, नेपालकै पुरानो क्याम्पसको दूरावस्थाबारे उनी आफैं के सोच्दा होलान् ?

मंगलबार मृगेन्द्रराज पाण्डे, केदारभक्त माथेमा, सुरेशराज चालिसेलगायत प्राज्ञहरुसँग बालुवाटारस्थित आफ्नो सरकारी निवासमा झण्डै एक घण्टा छलफल गरेका देउवाले त्रिचन्द्रको संरक्षण र सम्बद्र्धनबारे उठिरहेका नागरिक चासोबारे आफू जानकार रहेको बताए ।

उनले आफू पढेका विगत दिनहरुको सम्झना गरे । अनि त्रिचन्द्रको मौलिक कला नबिग्रने गरी कसरी जीर्णोद्धार सम्भव होला भन्नेबारे आफ्नै सोचाइहरुलाई पनि प्रकट हुन दिए ।

‘त्यो सरस्वती भवनलाई जस्ताको तस्तै राखेर अरु पुराना भवन भत्काइदिए हुँदैन ?’, देउवाले प्रबुद्ध अगुवाहरुलाई सोधे, ‘घन्टाघर छेउको मुख्य बिल्डिङ पनि जोगाउने, अरु भवनलाई भत्काएर पुरानो मौलिकता देखाइदिऔं । अझै राम्रो पारौं । कि कसो भन्नुहुन्छ ?’

माथेमा, चालिसेसँगै प्रधानमन्त्री भेट्न गएका मधु घिमिरे, प्रकाशचन्द्र लोहनी, वसन्त लोहनी, आमोदमणि दीक्षित, किशोर नेपाल र चाल्र्स मेन्डिजले त्रिचन्द्र क्याम्पस नेपालमा लोकतन्त्र स्थापनाको लडाइँमा अग्रणी संस्था रहेको भन्दै सरकारबाट अग्रसरताको अपेक्षा गरे ।

‘यो शैक्षिक प्राज्ञिक संस्था मात्रै होइन, यसमा पढेका अथवा यसको परिसरमा आएका धेरैले प्रजातन्त्रको लडाइँमा योगदान गरेका छन्’, सहभागीको सार खिच्दै नेपालले सुनाए, ‘प्रधानमन्त्रीज्यूले दिएको विकल्पसहित यसलाई कसरी राम्रो गर्न सकिन्छ छलफल हुनुपर्‍यो । तर ढिलो नगरी सरकारले काम अघि बढाउनुपर्‍यो ।’

प्रधानमन्त्री देउवाले सबैको जिज्ञासा सुनिसकेपछि सरकार तथा नागरिक दुवैको तर्फबाट कोष खडा गरी काम गर्नु उपयुक्त हुने विकल्प सुझाएका थिए ।

लामो समय त्रिचन्द्रमा पढाएका त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले प्रधानमन्त्रीसँगको छलफलबारे अनलाइनखबरसँग कुरा गर्दै सम्पदाको संरक्षण गर्दै नयाँ संरचना निर्माण हुनुपर्ने आफूहरुको अडान रहेको सुनाए ।

‘त्रिचन्द्र भनेको घरहरुको संरचनामात्रै होइन, यो आफैंमा सम्पदा पनि भएकाले जस्तो पायो त्यस्तै बिल्डिङ ठड्याउने गल्ती नगरोस् भनी आग्रह गर्‍यौं’, उनले भने, ‘प्रधानमन्त्रीबाट जस्तो किसिमको सकारात्मक जवाफ पाएका छौं, त्यस्तै सरकारी व्यवहार पनि होस् भन्ने हाम्रो अपेक्षा हो ।’

प्रधानमन्त्रीलाई भेट्न पुगेकाहरुले त्रिचन्द्र कलेज संरक्षण र प्रवर्द्धनका निम्ति गठित पूर्वविद्यार्थीहरुको सरोकार समितिका तर्फबाट चार बुँदे प्रस्ताव पनि गरेका छन् ।

उनीहरुले कलेजको र घन्टाघरको ऐतिहासिक महत्वलाई उच्च मूल्यांकन गरी यसलाई राष्ट्रिय मौलिक सम्पदा र धरोहर ठानी कुनै हानी नोक्सानी हुन नदिई आवश्यक भौतिक मर्मत र दिगो संरक्षण सुनिश्चित गर्न सुझाव दिएका छन् ।

त्यस्तै कलेज परिसर तथा परिसर वाहिर रहेका कलेजका अचल सम्पत्तिसमेतलाई समेटेर त्रिचन्द्रको वातावरणीय र भौतिक सबलीकरण गर्ने, कलेजको शिक्षा प्रदान शक्तिको अर्थपूर्ण सबलीकरण गर्ने प्रस्ताव पनि उनीहरुले गरेका छन् ।

पूर्वविद्यार्थीको सरोकार समितिको प्रमुख सल्लाहकारमा डा. मृगेन्द्र राज पाण्डे र संवाद सहजकर्तामा किशोर नेपाल छन् ।  संयोजकमा डा. मधु घिमिरे, सहसंयोजकमा बसन्त लोहनी र चार्ल्स मेन्डिज तथा कोषाध्यक्षमा ज्ञानेन्द्रराज तुलाधर रहेका छन् ।

सदस्यहरुमा दमननाथ ढुंगाना, डा. प्रकाशचन्द्र लोहनी, केदारभक्त माथेमा, जीवराज पोखरेल, डा. आमोदमणि दीक्षित, गौरीनाथ रिमाल, मनोहर राजभण्डारी र किशोर थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?