+
+
रंगमञ्च :

हिउँको पृथ्वी यात्रा : एउटा नवीन प्रयत्न

परम्परागत आदिवासी ज्ञानको क्रमिक अवसान अनि मानवीय संवेदनालाई विकाससँग गरिएको निकृष्ट विनिमयलाई नाटकले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।

ज्वालामुखी लामिछाने ज्वालामुखी लामिछाने
२०७९ साउन २१ गते १८:४३

‘महलमा बसेर हेर्दा र झुपडीमा बसेर हेर्दा बेग्लाबेग्लै देखिन्छ दुनियाँ। महलमा बस्नेहरू बाँध बाँध्न चाहन्छन् नदीमा र बिजुली निकालेर झिलिमिली बनाउन खोज्छन् महललाई। झुपडीमा बस्ने हामीहरू माछा मार्छौं र पाल्छौं आफ्ना पेट ।’

प्रेमी (रविन परियार)सँग नदीमा बाँध्न लागिएको बाँधको विरुद्धमा प्रेमिका (संगीता उराव)ले दिएको तर्क हो यो । नाटकको लगभग उत्कर्षतिरको एउटा दृश्यमा देखिन्छ यो यथार्थमा चुर्लुम्म डुबेको संवाद । शेख अहमद प्रवेज नाटकबारे भन्छन्, ‘प्रकृति पक्षपात गर्दैन। मानवदोहनबाट प्रकृतिमा पर्ने असर र उक्त असरले मानव जीवनमा ल्याउने कठिनाइ भने उपल्लो वर्गमा भन्दा तल्लो वर्गमा बढी पर्छ। नाटकमा यही यथार्थ देखाउने प्रयत्न गरिएको छ।’

नाटक निर्माण र निर्देशन कर्मका एक हस्ती प्रवेजको यो भनाइ नाटक हेर्दै जाँदा शतप्रतिशत सत्य लाग्दै जान्छ।

हिमालयबाट हिउँ पग्लिंदै पग्लिंदै तल झर्छ र नदीहरू बन्छन् । ती नदीहरू फुक्काफाल दगुर्न (बग्न) थाल्छन् पृथ्वीमा । यही दृश्यबाट सुरु हुन्छ नाटक हिउँको पृथ्वी यात्रा । अहिले बगर बनेको कुनैबेलाको आफू बगिरहेको बाटोमा हिंड्न (सुस्त सुस्त बग्न) संघर्ष गर्दागर्दै मरुभूमि झैं लाग्ने बगरको बालुवासँग हारेर मर्छन् नदीहरू । बगरको असरल्ल बालुवामा पल्टिरहेको नदीको लास (नदी सुकेको अर्थमा)को दृश्यसँगै अन्त्य हुन्छ नाटक ।

नदीहरूको जीवनचक्र सकिंदासम्म अनेक दृश्य देखिन्छन् रङ्गमञ्चमा । हरेक दृश्यमा दर्शकले आफ्नो जीवनमा आफूले गरेका पर्यावरण विरोधी क्रियाकलाप सम्झन्छन् र दुःखी बन्छन् । आफ्नो गाउँघरको बिग्रँदो दृश्य नाटकको दृश्यसँगै रिलेट हुन थाल्छन् । पवित्रा खड्का, गोविन्द ओली र ज्योति पोखरेलले नदीको भूमिका गुनासो नरहने गरी निभाएका छन् नाटकमा।

नेपालका थिएटरहरूमा पर्यावरणको दोहन र यसबाट सिर्जित विकराल समस्याको विषयमा नाटक बनाइएको र मञ्चन गरिएको विरलै सुनिन्छ/पढिन्छ। घिमिरे युवराज र शेख अहमद प्रवेज हृदयदेखिको सलामको हकदार यसकारण छन् कि पर्यावरणजस्तो जटिल विषयलाई सरल ढंगले नाट्य रूपान्तरण गर्न सफल भएका छन् । दैलै अगाडि ठूलै प्रकोपको दुन्दुभी बजाएर नृत्य गरिरहेको जलवायु परिवर्तनप्रति राजनीतिक दलहरू, सरकार लगायत सम्बन्धित सरोकारवालाहरू कानमा तेल हालेर सुतिरहँदा पर्यावरणीय दोहनको कारण सिर्जित मानवीय समस्यामा देखिएको उहाँहरूको यो सक्रियता लोभलाग्दो छ ।

रङ्गमञ्चमै नदी बगाउन सरल पक्कै हुँदैन। यो जटिल विषयमा नाटक लेखन र निर्देशन गर्ने जस्तो कष्टसाध्य कार्य गर्ने उहाँहरूको साहस र जोखिम मोल्ने आँट पनि प्रशंसनीय छ।

दादी अर्थात् हजुरआमा (पवित्रा खड्का), आमाबुवा (ज्योति पोखरेल र झकेन्द्र बीसी) र एक-एक जना छोरा (हिमाल भुजेल) र छोरी (संगीता उराव) सहित पाँच जनाको एउटा परिवारको वरिपरि नाटक फनफनी घुम्छ । त्यही परिवारको विगत र वर्तमानको कथामार्फत पर्यावरणमाथि लादिएको मानवीय आतंक र उक्त आतंकको डरलाग्दो परिणाम नाटकले समेटेको सेरोफेरो हो । आकाशमा डम्म बादल लाग्ने, ठूलो ठूलो आवाजमा चट्याङ पर्ने, तुरुन्तै घाम चर्किने तर पानी नपर्ने, कहिलेकाहीं घाम लाग्दालाग्दै उत्निखेरै गाउँलाई नै बगर बनाउने गरी पानी पर्ने, धेरैजसो समय पानीको हाहाकार हुने, नदीको आकार निलो धर्सोमा मात्र सीमित हुने यी दृश्यले जलवायु परिवर्तनबारे अनुभूत गराउँछन् कलात्मक ढङ्गले। बिना व्याख्या, बिना प्रवचन पर्यावरणीय समस्याबारे हृदय झनझनाउने अनुभूति दर्शकलाई दिलाउन सक्नु नाटकको अब्बल पक्ष हो।

थोरै पशुपालन गरेर अनि धेरै चाहिं माछा मारेर आफ्नो गुजारा चलाउने परिवार नदीमा माछा पाइन छोडेपछि चिन्तित बन्छ। नदीको माथि बाँध बाँधेर बिजुली निकालिन्छ। सुकेर सिन्काजस्तो भएको नदी मात्रको नदीमा न पर्याप्त पानी हुन्छ न माछा। त्यही आन्ध्राजस्तो नदीमा पनि डुङ्गा खियाएर माछा पाइने आशामा दैनिकजसो पुग्छन् बाबुछोरा ।

पहिला स्वतन्त्र जमिनपछि राष्ट्रिय निकुञ्ज बनिसकेको हुन्छ । निकुञ्जभित्र माछा मार्न प्रतिबन्ध लगाइन्छ र उक्त परिवारलाई अस्तित्वकै सङ्कटमा पुर्‍याइन्छ। एक दिन त निकुञ्जका सुरक्षा गार्डले बाबु र डुङ्गा दुवै पक्रिएर लैजान्छन् । परिवारमाथि ठूलो बज्रपात पर्छ । निकुञ्जका हात्तीहरूको गाउँ प्रवेशले आक्रान्त छ परिवार। कतिखेरको मान्छेको इहलीला समाप्त पार्ने हो या कुन चिजलाई आफ्नो पाउमुनि दबाएर सिध्याउने हो हात्तीले भन्ने त्रासको बीचमै जिन्दगीको रथ दगुरिरहन्छ ।

विकास निर्माणका ठूला-ठूला परियोजनाहरू सञ्चालन हुन थालेपछि बिग्रेको पर्यावरणीय सन्तुलन र सीमान्तकृत वर्गमा उक्त असन्तुलनले निम्त्याएको विकराल संकट दर्शकको आँखाले देख्नुभन्दा बढी मस्तिष्कले अनुभूत गरिरहन्छ नाटकको अवधिभरि । परम्परागत आदिवासी ज्ञानको क्रमिक अवसान अनि मानवीय संवेदनालाई विकाससँग गरिएको निकृष्ट विनिमयलाई नाटकले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।

बाँध बाँध्ने क्रममा नदीका दुई भागमा परेका प्रेमिल जोडी डल्फिनको वियोगको दृश्यले मुटु निचोर्छ। पृथ्वी मान्छेको मात्र हो र उसको इच्छामुताबिक यसको प्रयोग (दुरूपयोग ?) गर्नु नाजायज होइन भन्ने स्वार्थी मानसिकताको केन्द्रमै भाला प्रहार गर्छ यो दृश्यले । सुशीला लोहार, ज्याक बराल अनि रविन परियारले हात्ती, डल्फिन तथा माछाको भूमिका सशक्त ढङ्गले निभाएर पृथ्वीको पर्यावरण बिग्रँदा मान्छे मात्र होइन सबैको हालत खराब हुने विषयलाई जीवन्त बनाएका छन् ।

नाटकमा मानव भर्सेज मानवेतर जीव तथा उपल्लो वर्ग भर्सेज तल्लो वर्ग (सीमान्तकृत)को दोहोरो द्वन्द्व जीवन्त ढंगले अभिव्यक्त भएको छ । उपल्लो वर्गको मानवीय आवश्यकता परिपूर्तिको लागि कसरी पर्यावरणको दोहन भइरहेको छ अनि उक्त दोहनबाट सीर्जित समस्याले मानवेतर जीव र सीमान्तकृत मानवको जीवनका खुसीका रङ्गहरू कसरी मेटिंदै छन् भन्ने कठिन कथा भन्छ नाटकले।

प्रेमीसँग साँझको समयमा भागी भागी भेट्न गएकी छोरीलाई हात्तीले कुल्चेर मारेपछि अन्तिम संस्कारको लागि घाटमा पुर्‍याइन्छ । त्यतैखेरै अनपेक्षित मुसलधारे पानी पर्छ । बाढी आउँछ। बाढीले आमा ज्योति पोखरेल र हजुरआमा पवित्रा खड्कालाई आफ्नो गर्तमा समाहित गर्छ। पीडाको असीमित भारले थिचिएर बगरमा बसेका बाबुछोरालाई राहत दिन मन्त्री पुग्छ। मन्त्रीका आसेपासेको चाकरीको दृश्यले दर्शकलाई हसाउँछ।

मन्त्रीले बीस हजार रूपैयाँको चेक हस्तान्तरण गरी बिदा हुनेबित्तिकै घनघोर वर्षा हुन्छ। बाबुछोरा उक्त चेकलाई छाताजसरी ओढ्छन् पानीबाट बच्नको लागि। यो दृश्यले एकैपटक सयौं कथा भन्छ। हजारौं दुःख यो एउटै दृश्यले बोल्छ । खाना खान र पानी पिउन नपाएको बेलामा निर्जन भूमिमा चेकको काम छाताजसरी पानी छेक्नु हुन्छ।

बाढीले बगर बनाएको गाउँमा नदी बालुवाभित्रै हराउँछ। नदीको दु:खद् अन्त्य हुन्छ। एउटा सुखी (सापेक्ष रूपमा) परिवारको पनि दु:खद् विघटन हुन्छ। पानी नपाएर तड्पिएका हात्तीको लस्करले नमिठो गरी मन दुःखाउँछ दर्शकको। डल्फिन र माछाहरूको छटपटाहटले छट्पटी पनि बनाउँछ ।

तर नाटकका केही सीमितता छन् । कथाको सिलसिला सलल बगेको छैन। एउटा परिवारको कथा सलल बगिरहेको बेलामा नदीहरू आइपुग्छन् रङ्गमञ्चमा । नदी बगिरहेको बेलामा पारिवारिक कथाको दृश्य अकस्मात् आइपुग्छ । पारिवारिक कथा र नदीको यात्राको जालो पर्यावरणीय क्षेत्रमा रुचि राख्नेले मात्र सजिलोगरी बुझ्छ ।

गम्भीर विषयमा बनाइएको नाटकको कथा केही कमजोर प्रतीत हुन्छ। नदीको मानवीकरण एउटा नवीन प्रयत्न हुँदाहुँदै पनि जीवन्त देखिंदैन । विविधतायुक्त समाज र पारिवारिक समावेशिताको सुन्दरता देखाउन भाषिक विविधताको प्रयोग गरिएको छ । तर भाषिक विविधता सहज र सरल लाग्दैन । यान्त्रिक लाग्छ। भाषिक पकड कमजोर भएकाहरूलाई संवाद बुझ्न जटिल हुन्छ । उराव, मैथिली र नेपाली भाषाको सम्मिश्रण छ नाटकमा।

र, अन्त्यमा ‘द डायलेक्टिकल सोसाइटी’का साथीहरूले थिएटर प्राङ्गणमा एउटा छलफल गर्‍यौं । सात जना साथीहरूको साझा निष्कर्ष थियो कि नाटक हेर्ने कुरा अब निम्न वर्ग र निम्नमध्यम वर्गको पहुँचमा रहेन। दैनिक ३०० रूपैयाँ हाराहारीमा कमाइ गर्ने वर्गले नाटक हेर्न ५०० रूपैयाँ तिर्न कठिन होइन असम्भव देखिन्छ। इतिहासमा राजा तथा राणाहरूको मनोरञ्जनको खातिर देखाइने नाटक फेरि बिस्तारै उपल्लो वर्गको मनोरञ्जनको साधनमा फेरिंदै गएको दृश्यले हाम्रो मन अमिलो बनायो। जुन वर्गको समस्यामा नाटक केन्द्रित छ उहीं वर्गको लागि नाटक ‘आकाशको फल आँखा तरि मर’ नबनेको भए जाति हुन्थ्यो। अब थिएटरहरूले सोच्नै पर्छ कि ‘जसको बिहे उसैले देख्न नदे’को यो अवस्थामा परिवर्तन जरुरी बनिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?