+
+

बुटवलमा २ अर्ब लागतको थोक कृषि बजार बन्ने प्रक्रिया अघि बढ्यो

टोपराज शर्मा टोपराज शर्मा
२०७९ साउन २६ गते १३:१६
कृषि बजार स्थापना गर्ने सम्बन्धी छलफल ।

२६ साउन, बुटवल । बुटवलको सेमलारमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा आधुनिक थोक कृषि बजार बन्ने प्रक्रिया अघि बढेको छ ।

नेदरल्याण्ड्स सरकारको अनुदानमा २ अर्ब रुपैयाँ भन्दा बढी लागतमा स्वदेशमा उत्पादित कृषि उपज निर्यात र बिचौलिया रोक्ने योजनासहित बुटवल १५ र १६ मा पर्ने सेमलार क्षेत्रमा कृषि बजार निर्माणको प्रक्रिया अघि बढेको हो ।

नेपाल सरकारले नेदरल्याण्ड्स सरकारलाई आधुनिक प्रविधियुक्त थोक कृषि बजार निर्माणको लागि अनुरोध गरेपछि सन् २०१९ डिसेम्बर १७ मा पहिलो र दोस्रो चरणको सम्भाव्यता अध्ययनको लागि अनुदान सम्झौता भएको थियो ।

तीन वर्षअघिदेखि थोक बजार बनाउने पहल भए पनि जग्गा प्राप्ति नहुँदा आयोजना अन्योलमा थियो । बुधबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त स्थानमा नदी उकास क्षेत्रको ४२ बिघा जमिनमा कृषि बजार स्थापनाका लागि सहमति जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय भैरहवामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले सो जग्गा विपद्का लागि प्रयोग नहुने र जोखिमपूर्ण स्थानमा नरहेकोले सिफारिस गर्ने निर्णय गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

स्थानीयको सहमतिपश्चात् बुटवल उपमहानगरपालिकाले विपद् व्यवस्थापन समितिको बैठकमा प्रस्ताव लगेको थियो ।

विपद् व्यवस्थापन समितिले बुटवल उपमहानगरपालिकालाई जग्गा उपलब्ध गराउन कुनै बाधा नदेखिएको भन्दै सिफारिस गरेपछि बुटवल उपमहानगरपालिकाको नाममा जग्गा प्राप्तिको लागि प्रस्ताव लग्न बाटो खुलेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिए ।

संघीय सरकार अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवद्र्धन केन्द्रले यसको डीपीआर तयार पारिसकेको छ । मुलुकभर निर्माण हुन लागेका ९ कृषि उपज केन्द्रमध्ये यो सबैभन्दा ठूलो र आधुनिक हो । कृषि उपज भण्डारणका लागि ३४ वटा संरचना तयार हुनेछन् ।

केन्द्रमा किसानले उत्पादन गरेका कृषि र पशुपन्छीसम्बन्धी सम्पूर्ण उत्पादनको खरिद बिक्रीको व्यवस्था मिलाइनेछ । ‘यो आधुनिक कृषि उपज केन्द्र हो, यहाँ चिस्यान केन्द्रदेखि फोहोर प्रशोधन गर्दै कम्पोस्ट मल बनाउने पूर्वाधारसमेत बन्नेछन्’, बुटवल–१५ का वडाध्यक्ष शिव रानाले बताए ।

कृषि उपज केन्द्रमा छुट्टै क्वारेन्टाइन रहने र त्यसले कृषिजन्य वस्तु विदेश पठाउन सिफारिस दिनेछ । केन्द्रभित्र एक लाख मेट्रिक टन क्षमताको खाद्यान्न बालीको गोदामसहित विभिन्न ६ वटा गोदाम घर बन्नेछन् । ५० हजार टन क्षमताको तरकारी, पशुपन्छी, फलफूलसम्बन्धी वैज्ञानिक प्रविधिसहित गोदाम घर बन्नेछ ।

यसबाहेक खाद्य, तरकारी, फलफूल राख्न शीतभण्डार गृह, तिनको गुणस्तर निर्धारण गर्ने प्रयोगशाला, बायोग्यास उत्पादन केन्द्र, फोहोर प्रशोधन केन्द्र र बिउ भण्डार गृह निर्माण गरिनेछ । पशुजन्य उत्पादन बिक्रीका लागि छुट्टै क्वारेन्टाइन भवन बन्नेछ ।

तीन वटा जिउदो माछा बिक्री केन्द्र बन्नेछन् । थोक बजारमा पेट्रोलपम्प, गेस्टहाउससहित एक होटल, एक चमेना गृह तथा ५ वटा शौचालय र एक सय मेट्रिक टन तौलिनसक्ने तौल पुल (धर्मकाटा) पनि राख्ने प्रस्ताव गरिएको छ ।
उत्पादित कृषि उपजको बजार मूल्य कम भएको समयमा गोदाम घरमा भण्डारण गरिने र मूल्य वृद्धि हुंदा किसानले बिक्री गर्न सक्ने छन् । बिक्री हुन नसकेका कृषि उपज र पशुपन्छी प्रशोधन गर्न होलसेल सटर १ सय ३७ र रिटेल सटर ५४ वटा बनाइनेछ । यो कृषि उपजले वार्षिक अर्बाैंको कृषिजन्य वस्तु आयात रोक्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?