+
+
सम्झना :

प्रदीप गिरिको त्यो भविष्यवाणी

आज प्रदीप गिरि हामीसामु छैनन् तर उनले हामीलाई जीवन र जगतलाई बुझ्न सघाउने कैयौं ज्ञान र दृष्टिकोण छोडेर गएका छन्। नेपालमा राजनीतिज्ञहरू सत्ताको छिनाझपटीमा लागिरहँदा त्योभन्दा पर बसेर राजनीति हुन्छ भन्ने उदाहरण र कैयौं अनुभव छोडेर गएका छन्। कैयौं भेटघाटको यादहरू छोडेर गएका छन्।

दिव्येश गिरी दिव्येश गिरी
२०७९ भदौ ७ गते १८:५०

भर्खरै कांग्रेस नेता तथा चिन्तक प्रदीप गिरिले भौतिक संसार परित्याग गरी महाप्रस्थान गरेका छन्। करिब पाँच दशक नेपाली राजनीतिमा बिताएका गिरि मात्रै त्यस्ता पात्र हुन् जसलाई कांग्रेस मात्र नभई कम्युनिस्ट, पहिचानवादी धार, वैकल्पिक राजनीतिक धारका राजनीतिज्ञ/अगुवा समेतले शिर निहुराउँछन्।

भारतमा अध्ययन गर्ने बेलादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनका नेता तथा कांग्रेसका संस्थापक हुन्- बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई लगायत नेताहरू। यिनै कांग्रेस संस्थापकहरूसँगको सम्बन्ध र संगत, अध्ययनप्रतिको तिर्खा र त्यसले जन्माएको चिन्तक हुन्- प्रदीप गिरि। उनी एउटा मात्रै त्यस्तो पुस्ताको प्रतिनिधि हुन् जसले बीपी कोइराला र अहिलेका युवा दुवैसँग राजनीतिक संवाद र छलफल गर्‍यो।

दिव्येश गिरी

पञ्चायत विरुद्धको किशोर चेतनादेखि आजको समयमा पर्यावरण र लोकतन्त्रको उन्नतीकरणको पक्षमा उनले उठाउने आवाजले सायद उनको त्यो उच्च राजनीतिक कदको प्रतिबिम्बित गर्थ्यो। संसद्मा उनले दिएका मन्तव्यहरू केवल बोल्नको लागि बोलिएका थिएनन्। तिनले गहिरो अर्थ बोकिरहेकै हुन्थे।

कहिले ग्रामीण अर्थतन्त्र त कहिले पर्यावरण, कहिले सीमान्तकृतका मुद्दा त कहिले लैङ्गिक विभेदमा परेकाहरूका मुद्दा, उनले लोकतन्त्रप्रतिको निष्ठासँगै आफ्नो सामाजिक चेतनाले सीमान्तकृतको पक्षमा बोल्नुपर्ने कुरा जहिल्यै बोलिरहे।

गान्धीवादी विचारक, समाजवादी चिन्तक र अध्ययनशील नेताको छवि बनाएका गिरि हाम्रो पुस्तालाई जीवित हिसाबले बीपीको पुस्तासँग जोड्ने पात्र थिए। मार्क्सदेखि लेनिन, हरारीदेखि नेल्सन मन्डेलासम्मलाई अध्ययन गरेका उनले त्यसको सरल व्याख्या गर्न सक्थे। त्यसले उनको ज्ञानलाई पछिल्लो पुस्ताले अङ्गीकार गर्न सहज मान्दथ्यो। सादगी जीवनशैली, लोकतन्त्र/समाजवादप्रतिको अविरल निष्ठा, अध्ययनप्रतिको लगाव र युवा पुस्तालाई त्यो ज्ञान सञ्चार गर्न रुचाउने उनले सत्ताको अनावश्यक बाछिटा आफूसामू पर्न दिएनन्।

उनी पार्टीको महत्त्वपूर्ण जिम्मेवारी र सरकारमा जान मिल्ने अनेक अवसरभन्दा पर बसे। राजनीतिक सङ्घर्ष, त्यसको सिकाइ, भोगाइ र त्यसमा थप अध्ययन गरेर उनी ज्ञानवान बनेर बुझाइ निर्माण गर्दथे। महाभारत र समग्र पूर्वीय सभ्यता बुद्धबारे व्याख्या गर्न सक्थे। कृष्णदेखि एरिस्टोटल हुँदै हरारीसम्म फैलिएको उनको अध्ययनको दायरा निकै चाक्लो थियो।

उनी सादगी जीवन, राजनीतिक अध्ययन र त्यसबाट आफूलाई बोध भएको कुरा नयाँ पुस्तालाई संचार गर्ने कुरामा सदैव लागिरहे। सम्भवतः त्यही कारण उनले सबैले आदर गर्ने नेताको रूपमा आफ्नो जीवन बाँचे। नेपाली राजनीतिक र बौद्धिक जमातलाई एउटा अग्लो चिन्तकका रूपमा गिरिको सदैव अभाव खट्किने नै छ।

धार्मिक कट्टरवादबारे उनको त्यो विचार

प्रदीप गिरिसँगको पङ्क्तिकारको पहिलो भेट भारतको हैदरावादमा भएको थियो। आजभन्दा करिब २० वर्ष अगाडि २००३ को जनवरीमा हैदरावादमा एउटा ठूलो कार्यक्रम चलिरहेको थियो। म हैदरावादको निजाम क्याम्पसमा अध्ययन गरिरहेको थिएँ। त्यो बेला राजनीतिप्रति चासो धेरै भए पनि बुझाइ कम थियो। त्यतिबेला क्याम्पसमा भएको एउटा इभेन्ट र नजिकै रहेका केही स्थानमा भएका भेटघाटमा मेरो पनि उनीसँग भेट भएको थियो।

कार्यक्रममा गिरि र कांग्रेसका अर्का नेता विमलेन्द्र निधि दुवै सँगै थिए। पङ्क्तिकारसँगको भेटमा उनले सोधेको पहिलो प्रश्न हिन्दीमा थियो। उनले ‘तिमी नेपालदेखि हौ ?’ जब मैले आफू जनकपुरको महुवा गाउँको बताएँ त्यतिबेला उनले थप स्नेह देखाएका थिए। नेता निधिसँग पनि त्यही कार्यक्रममै मेरो चिनजान भएको थियो।

करिब ६ दिन चलेको उक्त कार्यक्रम अन्तर्राष्ट्रियस्तरको राजनीतिक, वैचारिक सम्मेलन थियो। एसियन सोसल फोरमको पहिलो सम्मेलन २००३ को जनवरी २ देखि ७ मा हैदरावादमा भएको थियो।

एसियन सोसल फोरम भूमण्डलीकरण र त्यसले निम्त्याएको अन्यायका विरुद्ध लडिरहेकाहरूको एउटा संस्था थियो। वर्ल्ड सोसल फोरमकै हिस्साको रूपमा रहेको एसियन सोसल फोरमले हैदरावादमा ‘अर्को विश्व सम्भव छ’ भन्ने मुख्य नारामा रहेर उक्त कार्यक्रम आयोजित थियो।

अहिले फर्केर हेर्दा निजाम क्याम्पस र आसपास भएका ती भेट धमिलो भइसकेका छन् तर जीवन र जगतलाई हेर्ने दृष्टिकोण बनाउन उनले बोलेका विषय मेरो राजनीतिक बुझाइ निर्माणका प्रस्थानविन्दु बन्न सके।

करिब १२ वटा मुख्य सम्मेलन, ६० सेमिनार, १६४ कार्यशाला, १०० भन्दा बढी फिल्म शो र सडक नाटक प्रदर्शनहरू गरिएको थियो। आयोजक एएसएफले भूमण्डलीकरण र साम्प्रदायिकता विरुद्ध लड्न, जनताको अधिकारका लागि लडिरहेका करिब ८४० संगठनका १४ हजार ४२६ स्वदेशी प्रतिनिधिहरू र ७८० विदेशी प्रतिनिधिलाई बोलाएर उक्त कार्यक्रम आयोजना गरेको थियो।

पूर्वी एसिया, दक्षिण एसिया, मध्ये एसियाका विभिन्न नेता/विचारक सम्मिलित उक्त कार्यक्रममा प्रदीप गिरिले एसियामा ‘धार्मिक कट्टरवाद र नागरिकको पहल’ शीर्षकमा आफ्नो धारणा राखेका थिए। त्यो समय दक्षिण एसियामा धार्मिक कट्टरपन्थको थोरै थोरै बाछिटा देखिन थालेको थियो।

भारतमा सन् २००२ मा गुजरात काण्ड भएको थियो। यद्यपि त्यो समय भारतीय राजनीतिको केन्द्रमा बीजेपी स्थापित भइसकेको थिएन। कम्युनिस्ट, कांग्रेस र समाजवादीहरू नै त्यहाँका राजनीतिको केन्द्र वरपर थिए। तर उक्त कार्यक्रममा प्रदीप गिरिले जोडतोडले उठाएको एउटा विषय धार्मिक कट्टरपन्थ विरुद्धको आवाज।

त्यतिबेला रेडियो र टेलिभिजनले नेपाल र भारतमा विस्तारै पहुँच बढाइरहेका थिए। गिरिले यसकै आसपास आफ्नो विचार राखेका थिए। रेडियो र टेलिभिजन अनि पोस्टर मार्फत गरिने कार्यक्रममा धार्मिक कुरालाई बङ्गाएर शान्त स्वरूपमा रहेका देउता/भगवानहरूलाई आक्रामक बनाएर जनतामा प्रस्तुत गरिन्थ्यो। त्यसले मान्छेको काल्पनिकता नै बदल्ने र त्यसको माध्यमबाट आफू बाहेकको या आफूभन्दा फरक धर्म अँगाल्ने माथि विस्तारै समाजले घृणा निम्त्याउँछ भन्ने उनको भनाइ थियो।

उनले त्यसबेला सामान्य लाग्ने रामायणमा रामको स्वरूप र राम/रावणको घृणालाई ग्लोरिफाई गरेको कुरालाई उदाहरणको रूपमा उनले प्रस्तुत गरेका थिए। त्यति मात्र नभई दक्षिण एसियाली समाजमा देखिएको दलित समस्या/महिलाहरूको समस्याको बारेमा उनले खुलेर बोलेका थिए।

पङ्क्तिकारलाई धमिलो सम्झना रहे पनि उनले त्यो कार्यक्रममा बोलेको कुराले सही अर्थको धार्मिक सहिष्णुता बनाउन नसक्दा विस्तारै दक्षिण एसिया एउटा भुमरीमा फसेको छ भन्ने सन्देश दिएका थिए। भारत होस् या बङ्गलादेश, नेपाल होस् या पाकिस्तान आफ्नोभन्दा फरक धर्म मान्ने या फरक आस्था राख्नेप्रति समाज यति धेरै असहिष्णु बन्दै गएकोमा उनले जोड दिएका थिए।

उक्त कार्यक्रममा प्रदीप गिरिले त्यो समयलाई हेरेर एसिया र मुख्यगरी दक्षिण एसियामा बढ्न सक्ने धार्मिक अतिवादको बारेमा कुरा गरिरहेका थिए। उक्त सम्मेलन सम्पन्न भएको झण्डै २० वर्षपछि दक्षिण एसियाको स्वरूप र यहाँको परिस्थिति हेर्दा गिरिले त्यतिबेला भनेजस्तै धार्मिक कट्टरता बढेको देखिन्छ।

भारतमा हिन्दु र मुस्लिम समुदायबीचमा बढ्दै गएको द्वन्द्वले गिरिको त्यो भनाइलाई थप सान्दर्भिक बनाइरहेको छ। दक्षिण एसियामा हुर्कंदै गरेको धार्मिक अतिवादले यो क्षेत्रमा भर्खरै हुर्किँदै गरेको शिशु लोकतन्त्रको विकास नै अवरुद्ध हुने त होइन भन्ने चिन्ता बढाएको छ।

संसारकै ठूलो लोकतन्त्र भनेर चिनिने भारतमा पछिल्लो समय लोकतन्त्रका सूचकांकहरू खस्किइरहेका छन्। स्वयं नेपालमा पनि धर्मको राजनीतिलाई उचालेर आफ्नो राजनीतिको रोटी सेक्ने परम्परा बढिरहेको छ। यसले समाजलाई एउटा धर्म मान्ने र अर्को धर्म मान्ने, एउटा समुदाय र अर्को समुदायबीच विभिन्न खाले तनाव सृजना गर्ने खतरा बढिरहेको छ।

दक्षिण एसियाली समाजमा बहिष्करणमा परेका समुदाय या लिङ्गलाई माथि नउठाएसम्म न्यायिक विकास हुँदैन भन्ने प्रदीप गिरिको त्यो धारणा सामाजिक न्याय कस्तो हुनुपर्छ भन्ने मेरो बुझाइको जग बनेको छ।

मूलतः दलित समुदाय र महिलाका मुद्दाहरू सम्बोधन नगरूञ्जेल सबैलाई बराबरीसहितको विकासमा हिंडाउन नसकिने कुरा उनको मन्तव्यको सार थियो। मलाई उनका यी दुई कुराले राजनीतिमा धर्मनिरपेक्षताको पक्षधर बन्न र सामाजिक न्याय तथा बहिष्करणमा परेका समुदायको पक्षमा निरन्तर राजनीतिक मुद्दा उठाउनुपर्छ भन्ने चेतना भर्न प्रेरित गरेको थियो।

अहिले फर्केर हेर्दा निजाम क्याम्पस र आसपास भएका ती भेट धमिलो भइसकेका छन् तर जीवन र जगतलाई हेर्ने दृष्टिकोण बनाउन उनले बोलेका विषयहरू मेरो राजनीतिक बुझाइ निर्माणका प्रस्थानविन्दु बन्न सके।

आज प्रदीप गिरि हामीसामु छैनन् तर उनले हामीलाई जीवन र जगतलाई बुझ्न सघाउने कैयौं ज्ञान र दृष्टिकोण छोडेर गएका छन्। नेपालमा राजनीतिज्ञहरू सत्ताको छिनाझपटीमा लागिरहँदा त्योभन्दा पर बसेर राजनीति हुन्छ भन्ने उदाहरण र कैयौं अनुभव छोडेर गएका छन्। कैयौं भेटघाटको यादहरू छोडेर गएका छन्।

उनको मनमौजी स्वभाव, अध्ययनप्रतिको भोक र राजनीतिलाई अध्ययनसँग जोडिरहनुपर्छ भन्ने त्यो अविचलित जीवनपद्धतिमा सम्भवतः अहिलेको पुस्ताले सिक्नुपर्ने महत्वपूर्ण सन्देश अन्तरनिहित छ। यही कुरा उनीबाट सिक्न सकियो भने साँचो अर्थमा उनीमाथिको श्रद्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?