+
+

बाल्यकालको दशैं : ‘चामलको भात र लुगाको बास्‍ना’

प्रकाश सपुत प्रकाश सपुत
२०७९ असोज ३ गते १२:४०

खेतबारीमा लहलह धानको बाला झुलिरहेको, मन्द हावा चलिरहेको, कञ्चन सफा आकाश, पारिलो घाम, ओभानो मौसम । शरद् ऋतुको त्यो मोहक मौसममा दशैंको आगमनले सबैमा खुसी छाउँथ्यो । बागलुङको धम्जामा मनाएको बाल्यकालको दशैं सम्झेर मन रोमाञ्चक हुन्छ । त्यसबेला मीठो खान पाइन्छ, विदेशमा भएका बुवा घर आउँछन् भन्ने कुराले अरु खुसी बढाइदिन्थ्यो ।

गरिबीको कारण बुवा हामीसँग बस्न पाउनुभएन । विदेशमै रोजीरोटीका लागि भौतारिरहे । दशैं यस्तो अवसर हुन्थ्यो, जतिबेला विदेशिएका बुवा घरमा आउँथे ।

दशैं आउनुअघि नै दशैंको माहौल सुरु भइसकेको हुन्थ्यो । परदेशिएकाहरु घर फर्कन्थे । घरका भित्तामा कमेरो र रंग लगाइन्थ्यो । डाँडामा पिङ हाल्ने तयारी हुन्थ्यो । घरको आँगनमा खसीबोका बाँधिन थाल्थे । सबैको भान्सामा मीठो-मसिनो परिकारको बास्ना आउन थाल्थ्यो ।

अरुबेला रोटी, ढिंडो खानुपथ्र्यो । दशैंका लागि भने चामल साँचेर राखिएको हुन्थ्यो । चामलको भात र मासु कम्ता स्वादिलो लाग्दैनथ्यो ।

गायक प्रकाश सपुत । फाइल तस्वीर

दशैंमा नयाँ लुगा लगाउने उत्साह उत्तिकै हुन्थ्यो । तर दशैंमा किनिदिएको लुगा विद्यालयको युनिफर्म जस्तै हुने । जस्तै भन्दा पनि दुवै काम चल्ने खालको । दशैंमा एकसरो नयाँ लुगा पनि हुने, त्यही लुगा पछि विद्यालयका लागि पनि ।

तर पनि यसमा कुनै गुनासो हुँदैनथ्यो । दशैंको नयाँ लुगामा आउने बास्नाले मन यसै फुरुंग हुन्थ्यो । अहिले त त्यस्तो बास्ना अनुभव नै गर्न पाइँदैन ।

दशैंमा पाउने दक्षिणा पनि कम महत्वको हुँदैनथ्यो । तर धेरै ठाउँमा हामी छोरालाई दक्षिणा दिइँदैनथ्यो, नरिवल र मिश्री मात्र दिइन्थ्यो । दिदीबहिनीहरुले भने पाँच रुपैयाँ, दश रुपैयाँका नयाँ नयाँ नोट पाउँथे ।

दक्षिणा पाउनका लागि मामाघर पुग्नैपर्ने । एकपटक त मामाघरमा ७५ रुपैयाँ दक्षिणा पाइयो । त्यसबेला संसारै पाए जस्तो भएको थियो । एकदमै गद्गद् भएको थिएँ । यसरी पाएको दक्षिणा म जतनसाथ राख्ने गर्थें । आफूलाई चाहिएको सामान किन्थें । त्यसमा पनि पेन्सिल, कपी किन्ने गरिन्थ्यो ।

केटाकेटीमा दक्षिणा भनेपछि हुरुक्कै भइने । दक्षिणा पाइन्छ भनेरै आफन्त, चिनेजानेका घरतिर टीका थाप्न दौडिन्थ्यौं । घरमा बस्ने फुर्सद हुँदैनथ्यो । एउटा घरमा टीका थापेर आइसक्न पाएको हुँदैन, अर्को घरमा दौडिहाल्यो । दक्षिणामा धेरै पैसा दिने चलन थिएन, त्यसमा पनि छोरालाई । तै पनि दक्षिणवापत पाएको पैसा असाध्यै ठूलो लाग्ने ।

कसैको घरमा टीका थाप्न जाँदा हाम्रो एउटै ध्याउन्न हुन्थ्यो, दक्षिणामा । ठूलोबडालाई मानेर, आर्शिवाद थाप्नुपर्छ भन्ने चेतले नभई पैसा धेरै बटुल्ने लोभले हामी टीका लाउन आज्ञाकारी भएर बसेका हुन्थ्यौं । टीका लगाइरहँदा हाम्रो आँखा थालीमा सजाइएको पैसामा हुन्थ्यो । यहाँ कति पाइन्छ ? यो कौतुहलताले हामीलाई अधैर्य बनाइरहन्थ्यो । कतिपय घरमा टीका लगाइसकेपछि पैसा दिन बिर्सन्थे । यतिबेला हामी लडीबुडी गर्दै रोइदिन्थ्यौं । किनभने हामीलाई पैसा जो, पाउनु थियो ।

टीकाको मेलोमेसो चलिरहँदा भान्सामा मीठो-मसिनो खानेकुरा पाकिरहेको हुन्थ्यो । तर हामी त्यहाँ पाकेको खानेकुरामा होइन, बजारको खानेकुरामा लोभिन्थ्यौं । हतार हतार भात खाएर हातको पानी पनि नसुक्दै हामी पैसा बोकेर पसलमा पुगिसकेका हुन्थ्यौं ।

हामी सोच्थ्यौं, यस्तो दशैं त कहिले नगए नि हुन्थ्यो । सधैं दशैं आइरहनु नि । तर केही दिनपछि दशैं सकिन्थ्यो । फेरि गाउँघर रित्तिन थाल्थे । डाँडापाखामा सन्नाटा छाउन थाल्थ्यो । अर्को दशैंको लागि फेरि पृथ्वीले एक फन्को लगाउनुपर्थ्यो, जतिबेला हामी को-कहाँ पुगिसकेका हुन्थ्यौं । यसरी हरेक वर्ष फेरिने पात्रोसँगै जीवनका अनमोल क्षणहरु पनि मेटिंदै जाने रहेछ ।

(मनिषा थापासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?