+
+

ब्याजदर वृद्धिको निर्णयप्रति महासंघको गम्भीर ध्यानाकर्षण

बैंक वित्तीय संस्थाहरूले १ असोजदेखि लागू हुने गरी ब्याजदरमा गरेको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ५ गते १८:१०

५ असोज, काठमाडौं । बैंक वित्तीय संस्थाहरूले १ असोजदेखि लागू हुने गरी ब्याजदरमा गरेको वृद्धिप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड–१९ महामारी, त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी–व्यवसायी मर्माहत हुने महासंघको भनाइ छ । यसबारे महासंघले सरकार, केन्द्रीय बैंक र बैंक वित्तीय संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासंघले उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर बनेको बताएको छ । ८ प्रतिशत भन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको यस निर्णयले थप माथि लैजाने समेत बताइएको छ ।

अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २० प्रतिशतले न्यून हुन गएको महासंघले जनाएको छ ।

संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था भएको समेत महासंघको भनाइ छ ।

कोभिड–१९ का कारण पहिलो बन्दाबन्दीको अवस्थामा बैकिङ क्षेत्रबाट प्राप्त सहयोगको महासंघ प्रशंसा गरेको छ । तर, पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुनेछ । यस सन्दर्भमा विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण पनि स्मरणीय छ ।

अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन समेत गरेको छ । अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?