+
+

झनै महँगियो डलर

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १८:५२

९ असोज, काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । शुक्रबार करिब २ महिना अगाडिको मूल्यबाट माथि लागेको डलरको मूल्य आइतबार फेरि बढेर १ डलर बराबर १२९ रुपैयाँ ८९ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बंकले तोकेको खरिद मूल्य १२९ रुपैयाँ २९ पैसा रहेको छ । गत शुक्रबार १ अमेरिकी डलरको बिक्री मूल्य १२९ रुपैयाँ ६८ पैसा रहेको र खरिद मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको थियो ।

बिहीबार १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २७ पैसा रहेकोमा शुक्रबार एकैदिन १ रुपैयाँ ४१ पैसाले बढेको थियो । आइतबार पनि डलरको मूल्य थप २१ पैसा बढेको छ ।

शुक्रबार डलरको मूल्य २ महिना अगाडिको रेकर्ड तोड्दै माथि लागेको थियो । यसअघि ५ साउन २०७९ मा १ अमेरिकी डलरको बिक्री मूल्य १२८ रुपैयाँ २९ पैसा र खरिद मूल्य १२७ रुपैयाँ ६९ पैसासम्म पुगेको थियो ।

१८ साउनमा १ अमेरिकी डलरको बिक्री मूल्य १२६ रुपैयाँ २५ पैसा र खरिद मूल्य १२५ रुपैयाँ ६५ पैसासम्म झरेको थियो । त्यसपछि पुनः बढ्न लागेको डलरको मूल्यले शुक्रबार नयाँ उचाई कायम गरेको हो ।

अमेरिकी केन्द्रीय बैंक ‘फेडेरल रिजर्भ’ (फेड) ले ब्याजदर बढाउँदा अमेरिक डलर बलियो हो । अगामी दिनेमा फेडले ब्याजदर थप बढाउने प्रक्षेपण भइरहँदा डलर बलियो बनेको अर्थशास्त्रीहरु बताउँछन् ।

फेडले ब्याजदर बढाउँदा भारत सहित विश्वभरी रहेको अमेरिकी लगानी (पोर्टफोलियो) अमेरिका फिर्ता हुँदा डलर झनै बलियो बन्दै गएको छ । मुद्रास्फीति नियन्त्रण गर्न विश्वभरका केन्द्रिय बैंकले ब्याजदर वृद्धि गरिरहेका छन् । सोहीबीच अमेरिकी केन्द्रिय बैंकले पनि ब्याजदर बढाउँदा डलर थप बलियो बनेको हो ।

यसका साथै रसिया र युक्रेन युद्धले तेल र ग्यासको आपूर्ति सहज नहुँदा युरोयियन अर्थतन्त्र कमजोर बनेका कारणले पनि डलर महँगिएको राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देश्क तथा अर्थशास्त्री नरबहादुर थापा बताउँछन् । यस्तै विश्वभरी बढ्दो महँगिको लाभ समेत डलरलाई भएको उनले बताए ।

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको थापा बताउँछन् । यसको साथै डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप पर्ने उनको तर्क छ । डलरको मुल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम रहेको थापाले बताए ।

रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्ने उनले बताए ।

अमेरिकी डलर बलियो बन्दै जाँदा युरो भने कमजोर बन्दै गएको छ । २०१७ यता लगातार डलर भन्दा बलियो रहेको युरो पछिल्लो १/२ महिना यता भने कमजोर बनेको छ । शुक्रबार युरोको खरिद मूल्य १२७ रुपैयाँ ५७ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेकोमा ९ असोज आइतबार युरोको खरिद मूल्य १२६ रुपैयाँ २० पैसा र बिक्री मूल्य १२६ रुपैयाँ ७९ पैसामा घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?