+
+
ब्लग :

त्यसपछि बाआमाले भने : यो मेरो छोरै होइन

यमुना अर्याल (काफ्ले) यमुना अर्याल (काफ्ले)
२०७९ असोज १४ गते १४:३१

समस्या, पीडा, भोगाइ कस्ता कस्ता हुन्छन् होला ? कुनै भोगाइ सामान्य हुन्छन्, कुनै कुनै अधिकांशले भोगेका हुन्छन्, कुनै कुनै त कोही कोहीले मात्रै आक्कलझुक्कल मात्रै भोगेका हुन्छन् । यस्तै कोही कोहीले मात्रै भोगेका सीमित भोगाइमध्येको एउटा भोगाइ यहाँ प्रस्तुत गर्दैछु ।

उमेरले ४० नाघिसकेको एकजना दाइले अपत्यारिलो तर विरक्त लाग्दो कहानी सुनाउनुभयो । ती दाइको कहानी सुन्दा एकैछिन त यस्तो पनि हुन्छ र ? भन्ने लाग्यो तर दाइका भोगाइहरू अनवरत बगिरहँदा भने पत्याउन करै लाग्यो ।

परिवारमा साहिंलो छोरो दाइ । दाजुभाइ पाँच जना, दिदीबहिनी तीन जना, हजुरबा, हजुरआमा, बुवाआमासहितको कुनै समयको जमेको परिवार । बुवा इन्डियन आर्मी, गाउँमा सबैले लाहुरेको घर, आर्मीको घर भन्थे रे ! परिवारमा सबैजना पढालेखा ।

त्यो जमानामा पनि दिदीबहिनीहरू सबैले पढ्न पाएका । पढ्न मात्रै होइन जागिरै खाएका रे ! कसैले राम्रो परिवारको उदाहरण दिनु पर्‍यो भने सबैभन्दा पहिले दाइकै परिवारको नाम आउँथ्यो रे !

दाइको गाउँबाट पहिलो सरकारी कर्मचारी भएकै ठुल्दाइ । ठुल्दाइकै प्रेरणाले गाउँका धेरै भाइबहिनी सरकारी सेवाप्रति आकर्षित हुन पुगेछन् । एक हिसाबले गाउँँकै आइडल बन्नुभयो ठुल्दाइ ।

दाइले कहानी एकपछि अर्को गरी सुनाउँदै जानुभयो । परिवारका सबैजना सरकारी जागिरे । कोही शिक्षण पेशातिर, कोही निजामती त कोही संस्थानतिर । जता होस्, सरकारी ढुकुटीबाट तलब भत्ता खाने मेरै दाजुभाइ दिदीबहिनी धेरै थिए ।

ठुल्दाइ, माइलो दाइले सरकारी स्कुलमा पढाउँथे । दुई जना भाइहरू निजामती सेवाका जागिरे । ठुली दिदी शिक्षक, माइली र कान्छी दिदी संस्थानका जागिरे । सुरु-सुरुमा दाइहरू पनि ढाडस दिन्थे, तँ पनि कोसिस गर साहिंला नाम निस्कन्छ भनेर । दाइ, दिदीको मिहिनेत र लगाव देखेर म पनि निकै पढाइमा घोटिएँ ।

मभन्दा साना भाइबहिनीहरूको नाम निस्कियो । मेरो निस्किएन । एक दुईचोटिमा किन हार खाने ? दाइहरूले ढाडस दिइरहेका थिए, फेरि पढ् फेरि पढ् भन्दै । बुवाआमा पनि एकचोटिमा हार खाएर हुन्छ ? हिम्मत गर् भन्नुहुन्थ्यो ।

सबैको उत्प्रेरणाले थप कोसिस गर्दै गएँ । जतिपटक कोसिस गर्दा पनि सफल हुन सकिनँ । जहाँजहाँ फारम खुल्छ, घण्टौंसम्म तातो घाममा, साउने झरीमा पनि झर्को नमानिकन फारम भरें ।

परिवारभित्रै म डिप्रेसनको शिकार भइसकेको थिएँ । मान्छेलाई तड्पाउन उसमाथि हमला गर्नुपर्दैन । बचनका तीरले क्षत–विक्षत हुने गरी रोपेपछि पर्याप्त हुँदोरहेछ । जागिरेहरूको बीचमा म हाँसको बथानमा बकुल्लो जस्तै भएँ ।

चार–पाँच चोटि पनि नाम निकाल्न नसकेपछि ठुल्दाइले छेड हान्न थाले । कतै नयाँ विज्ञापन देख्दा दाइलाई सोध्थें, ‘दाइ यहाँ फारम भरौं ? यो कस्तो कार्यालय हो ?’
यसो विज्ञापन हेर्थे दाइले, अनि नाक खुम्च्याउँदै भन्थे, ‘नाम निकाल्न सके त यो पनि राम्रो हो नि ! आखिर सरकारी अफिस हो । तर के गर्नु ? तेरो यसपालि पनि उही फारम भरेको भर हुने होला ।’

कत्रो उत्साहले दाइलाई जिज्ञासा राखेको म, दाइका मनै बिझ्ने कुराले खिस्रिक्क पर्न थालें । ठुल्दाइको सिको माहिलो दाइले पनि गर्न थाले ।

‘कस्तो पढ्छस् हँ साहिंला ? तैंले पढ्ने किताबै पढेका हुन् त अरूले नि ! (नाम निकालेकाहरूको नाम लिंदै) । उनीहरूको फ्याट्ट नाम निस्कन्छ । तेरो मात्रै नाम ननिस्कने के हो ? तँभन्दा साना भाइहरूले समेत नाम निकाले, अलिकति त लाज पनि हुनुपर्ने हो, इख पनि हुनुपर्ने हो … !’

अब उत्साह र जोश मनमनै मर्न थाल्यो । कोसिस गरिरहेको छु तर सफल हुन्न । सरकारी जागिर जहाँ भए पनि खानुपर्‍यो, अन्यत्र खाएको केही महत्व छैन मेरो घरमा मात्रै होइन सिंगो टोलमै । यति जनाले यहाँ नाम निकाले, उति जनाले उता नाम निकाले । चर्चा योभन्दा अरू हुँदैन ।

अब घरबाट भाइहरूले पनि मलाई छेडखानी गर्न थाले । ‘माथिका दुई भाइको निस्क्यो, पछाडिका दुई भाइको पनि निस्क्यो । बीचको पर्‍यो साहिंलो त्यही भएर यता न उता… !’ यस्तै यस्तै ।

मनमनै ‘तिमीहरूलाई यसपालि देखाउँछु’ भन्थें । तर एकतिर पढ्यो, अर्कैतिरबाट प्रश्न आउने, मेरो भाग्यले पनि साथ नदिएको होला । फेरि पनि नाम निस्किएन ।
दिदीहरू पनि ममाथि खनिन थाले ।

‘यो एक जनाले गर्दा हो, नत्र हाम्रो परिवारका सबैजना सरकारी जागिरे हुन्थ्यौं, कत्रो शान हुन्थ्यो, यो एउटाले केही गरिखाने भएन । के पढ्छस् हो भाइ ? पढ्ने बेलामा ध्यान कहाँ जान्छ तेरो ? अलि ध्यान दिएर पढ्ने गर् । नाम निकालेकाहरूको संगत गर् … ! यस्तो पाराले के गर्छस् ? केही इलम नभएकासँग कसले बिहे गर्छ ?’

हुँदाहुँदा बावुआमा पनि ममाथि नै जंगिन थाले । एकदिन त खाना खानेबेला भएको थियो । सबैजना दाजुभाइ सँगै थियौं, आमाले फ्याट्ट भन्नुभयो, ‘हेर साहिंला तँ मात्रै मेरो कोखमा कस्तो सन्तान परेछस् ? सबै दाजुभाइ, दिदीबहिनीहरू आफ्नो लाइनमा छन्, तँ किन यस्तो डुकुलन्ठ भएको ? दाइ–दिदीको देखेर केही गरौं भन्ने लाग्दैन ?’

आमाको कुरामा मौन बसें, एकाएक आँसु झरेछन् । छेउबाट बुवा बोल्नुभयो, ‘हेर त यो हुतिहाराको आँसु झरेको ? अभागीलाई खाना खाने बेलामा आँसु आउँछ भन्थे । यो मोरो त्यस्तै भयो । केही उन्नति गर्नु छैन, पस्किएर खान दिएको पनि खाँदा खेरी आँसु झार्नु छ … ।’

दाइ–भाइका नजर मैतिर तिखो तीर जस्तै तेर्सिएका थिए । कसैसँग केही बोलिनँ । आँसु र भात बराबर गरेर खाएँ । बाबुआमाले त ढाडस देलान् भन्ने थियो । उनीहरूको नजरमा पनि म केही काम नलाग्ने रहेछु भन्ने पुष्टि हुन थाल्यो ।

जति गर्दा पनि सरकारी जागिर खाने छाँट देखिनँ । एकजना साथीले कोरियन भाषा परीक्षाको तयारी गरेको थाहा पाएँ । उसैलाई भेट्न गएँ । उसले कोरियामा रोजगारीका लागि आफू जस्तै युवा लैजाने, कमाइ राम्रो हुने त्यसको लागि कोरियन भाषा पढ्ने र परीक्षा पास गर्नुपर्ने उपाय सिकायो ।

लोकसेवाका किताब थन्क्याएँ र कोरियन भाषाको तयारी गर्न थालें । लिखित परीक्षा राम्रै गरें । धेरै हन्डर खाइसकेको भएर होला सानोतिनो चोटको दुखाइ पनि महसुस हुन छाडिसकेको थियो । यत्रा जाँच त पास भइएन, यो झन् के पास भइएला र ? मन भित्रभित्रै मरिसकेको थियो ।

रिजल्ट निस्केछ । पाँच नम्बरमा नाम निस्क्यो भन्ने कुरा त्यही साथीले सुनायो । आफूलाई पत्यार लागेन । रिजल्ट आफैं हेरें । अझ पनि पत्यार लागेन । फेरि हेरें र ढुक्क भएँ ।

घरमा सबैजना पक्कै पनि खुसी होलान् भनेर सुनाएँ । तर मेरो खुसी धेरैबेर टिकेन । बावुआमा नै खुसी छैनन् । दाजुभाइ त कसरी खुसी हुन्थे र ? ‘आफ्नै देशमा लछारपाटो लगाइहालिस्, अब अर्काको देशमा गएर के के न गर्छस् ?’ बाले भनिहाल्नुभयो ।

‘घरीघरी त कस्तो छोरो जन्माएछु भन्ने पनि लाग्छ । अरूका अगाडि यो मेरो छोरो हो भन्न नि लाज लाग्ने गरायो यसले, यहाँ पढ्न नसक्ने अर्काको देशमा गएर थन्किने त हो नि …’ आमाको जवाफ आयो ।

दाइहरूको त शानै अर्को थियो । उनीहरू मेरो खुसीमा अवाक् बने । केही नगर्नु भन्दा त आफ्नो ज्यान पाल्छ भन्न थाले । परिवारभित्रै म डिप्रेसनको शिकार भइसकेको थिएँ । मान्छेलाई तड्पाउन उसमाथि हमला गर्नु पर्दैन । बचनका तीरले क्षत–विक्षत हुने गरी रोपेपछि पर्याप्त हुँदोरहेछ । जागिरेहरूको बीचमा म हाँसको बथानमा बकुल्लो जस्तै भएँ ।

कोरियाको भिसा आयो, म कोरिया गएँ । जब प्लेन चढें, मलाई घरपरिवार, बुवाआमाको यादभन्दा बढी आफ्नै याद आउन थाल्यो । ‘तँ कम्तीमा आफ्नो काम गरेर खान्छस्, कसैको बचन सुनेर आँसु र भात खानुपर्दैन’ भन्ने हिम्मत मेरो आत्माले दिन थाल्यो ।

पाँच वर्ष कोरिया बसें । कोरियामा कमाइ राम्रो थियो । महिनामा एकलाख बचत गर्थें । पाँच वर्षमा काठमाडौंमा चारआना घडेरी जोडें । सरकारी जागिर नखाए पनि बाँच्न सकिन्छ भन्ने हिम्मत जुटाएँ । आफ्नो भाग्य कहाँ कति बेला खुल्छ ? जबर्जस्ती एउटा क्षेत्रमा मात्रै घोटिन हुँदोरहेनछ भन्ने जानकारी पाएँ ।

मेरो जस्तो भोगाइ भएका धेरै साथी भेट्टाएँ । दाइ–दिदीको जोडी पनि सरकारी क्षेत्रकै व्यक्तिसँग गाँसिएको थियो । उनीहरूको शान बेग्लै थियो । मैले पाँच वर्षपछि नेपाल फर्किएर बिहे गरें । आफ्नै दुःखले बनाएको घरमा बेहुली भित्र्याएँ ।

पाँच वर्षपछि पुनः कोरिया नजाने निधो गरें । यतै व्यवसाय गर्न थालें । श्रीमतीको आफ्नै फाइनान्स थियो । दुई जनाको कमाइ राम्रै थियो । महिनामा २० हजार घरभाडा आउँथ्यो ।

एउटा छोरा छ, एक हिसाबले भन्दा सानोतिनो स्वर्ग यहीं छ मेरो लागि । हिजो मलाई हुतिहारा भन्ने मेरा दाइहरू कोरियाबाट आउँदा मेरो लागि यो ल्याइदे, ऊ ल्याइदे भन्थे । दिदीहरू पनि कोरियाको यो सामान राम्रो हुन्छ, त्यो राम्रो हुन्छ भनेर लिस्ट पठाउँथे । मैले सबैको चित्त बुझाएँ ।

अहिले मेरा एकजना दाइको घर छ । अरू डेरामै बस्छन् । दिदीहरूको आफ्नै घर छ । बुवाआमा कान्छो भाइसँग बस्नुहुन्छ । ‘कान्छासित बसिहाल्यौं, बीचमा छोडेर आउन नि नमिल्ने, अर्काको घरमा भन्दा त छोराको यत्रो घर छ । यहीं बस्न आनन्द आउँथ्यो’ भन्नुहुन्छ । आएको बेलामा एक–दुई साता बुवाआमा मेरै घरमा बस्नुहुन्छ ।

मैले बुवाआमाको एक रुपैयाँ पनि अंश लिइनँ । जति गर्छु आफ्नै बलबुतामा गर्छु भनें, गरें पनि । मैले आफैंले आफैंलाई चिन्ने मौका पाएँ । जब तपाईं आफू कमजोर हुनुहुन्छ, जन्म दिने बावुआमा पनि तपाईंको साथमा नहुने रहेछन् भन्ने ठूलो पाठ सिकें । अरूले जे जस्तो भने पनि आमाले समेत ‘तँ मेरो छोराको लायक भइनस्’ भन्नुहुन्छ होला भन्ने कल्पनामा पनि सोचेको थिइनँ ।

दाइभाइको व्यहोरा त अरूको हेरेर पनि चाल पाइसकेको थिएँ, अरू दाइभाइको दाँजोमा पुग्न नसकेपछि आफ्नै बावुआमाले पनि आफ्नो सन्तान हो भन्न धक मान्ने रहेछन् ।
मैले छोरालाई सानैदेखि भनेको छु, ‘हेर छोरा तँ जे कुरामा फिट हुन्छु भन्ने ठान्छस् त्यही विषय पढ् । अर्काको देखासिकीमा कहिल्यै बहकिने काम नगर् । एउटा ज्यान पाखुरा बजारेर जसरी पनि पाल्न सकिन्छ तर आँसुसँग भात मुछेर मैले जस्तो बचन सुनेर तैंले मेरो इज्जत राख्नुपर्दैन ।’

कुरा गर्दै जाँदा बीचबीचमा दाइ निकै विक्षिप्त बन्नुहुन्थ्यो । हामी ‘पुरुषका के पीडा हुन्छन् र’ भन्छौं । तर, यी दाइका पीडा सुन्दा आफैंलाई पनि बीच–बीचमा सम्हाल्न कठिन भयो ।

दाइको कुराले आफैंलाई धेरैबेरसम्म ऐंठन बनायो । बाहिर यस्तो खुसी देखिने दाइका मनभित्र यति पीडाका आँधी नै लुकेका रहेछन् । सरकारी जागिरे केटो भएन भनेर टिकाटालो गरेको बिहे रद्द गरेको सम्झिएँ । आफ्नै दाइले आफ्नै बहिनीलाई साथी आउँदा ‘यो काकाकी छोरी हो’ भनेर चिनाएको सम्झें ।

गाउँँबाट धुलैमैलै भएर शहरको अस्पतालमा चेक गराउन आएका सहोदर बाउलाई साथीको बाउ हुन् भनेर चिनाउने शहरिया छोरा सम्झें । बहिनीले मन पराएको केटा आफ्नो परिवारको लायक छैन भनेर पेशाकै कारण बिहे रोकिएका घटनाहरू एकपछि अर्को सम्झें ।

अरूले त भने भने कम्तीमा जन्मदाता मातापिताले आफ्ना सन्तानलाई अरूको अगाडि कहिल्यै पनि नालायक नभनून् भन्ने लागिरह्यो । भगवान (प्रकृति) का हरेक सृजना केही न केही गर्नकै लागि धर्तीमा आएका हुन् । आफ्नो जीविका चलाउन केही न केही गर्छन्, पारिवारिक दबावमा मानसिक तनाव दिएर थप विचलित कसैले पनि नगराऔं ।

हुन त समाज भनेकै बलेको आगो ताप्ने संयन्त्र हो । कम्तीमा बाउआमा त्यही कोटिमा समाहित नभइदिनुस् । तपाईंका सन्तान केही अवश्य गरेर खान्छन् । कोही एक्लो प्रयासमा सफल होलान्, कोही हन्डर खाँदाखाँदै सफल हुन्छन् तर केही न केही गर्छु भन्ने मनसाय भएकाहरू गरेरै खान्छन् । यी दाइको जस्तो मानसिक पीडा अरू कसैको जिन्दगीमा नहोस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?