+
+

नेमकिपाको गढमा चुनाव लडिरहेका २ उम्मेदवार

क्रमशः खुम्चिदै गएर अघिल्लो चुनावबाट राष्ट्रिय दल समेत बन्न नसकेको नेमकिपा भक्तपुर १ मा पर्ने चाँगुनाराण नगरपालिकामै कमजोर छ । यहाँ एमाले र कांग्रेसले शक्ति विस्तार गरेका छन् । उनीहरुको ध्यान अब चाँगुनारायण नगरपालिका क्षेत्रमा टेकेर भक्तपुर नगरभित्र छिर्ने रहेको देखिन्छ ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ कात्तिक ६ गते ८:११

६ कात्तिक, काठमाडौं । ०४८ यताका सबै चुनावको नतिजाले भन्छ, भक्तपुर क्षेत्र नम्बर १ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को गढ हो । भक्तपुरको २ मा कहिले जित्ने त कहिले हार्ने गरेको नेमकिपाले देशभर उम्मेदवार उठाउने गरेको छ । तीन पटक (०५१, ०६४ र ०७०) मा चार सिटको दल बनेको नेमकिपा ०७४ मा एकमा खुम्चियो ।

यो पटक पनि नेमकिपाले प्रतिनिधि सभाका १०९ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । धेरैजसो क्षेत्रमा नेमकिपाका उम्मेदवारले जमानत जोगाउन संघर्ष गर्नुपर्दा भक्तपुर-१ मा अरु दलका उम्मेदवारको यो अवस्था नहोला भन्न सकिन्न ।

यही कारण पनि हुनसक्छ, सत्ता गठबन्धनको सिट बाँडफाँटमा दलहरुको प्राथमिकतामा यो क्षेत्र परेन । तर पनि माओवादी केन्द्रले सुनिल गोठे उम्मेदवार बने भने नेकपा एमालेबाट नवराज गेलाल उठेका छन् । राप्रपाबाट भरतबहादुर खड्का उम्मेदवार छन् ।

गत स्थानीय तह निर्वाचनको वडागत मत हेर्दा एमालेले १४ हजार ११९, कांग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६ र माओवादीले एक हजार ३८८ मत पाएका थिए ।

एउटा नगरको पकडलें सधै जित्छ नेमकिपा

भक्तपुर-१ मा पर्ने भक्तपुर नगरपालिकामा नेमकिपाले एउटा सदस्य पनि अरुलाई आउन दिएको छैन ।

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नेमकिपाले भक्तपुर नगरपालिकामा क्लिनस्वीप गर्यो । मेयरका नेमकिपाका उम्मेदवार सुनिल प्रजापतीले २९ हजार २५२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३२०७ मत ल्याए भने एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ८४१ ।

चाँगुनारायणमा भने उसले एउटा वडाध्यक्ष मात्रै जितेको छ । नगरभरिबाट नेमकिपाले पाएको मत पनि ३ हजार ९६८ मात्र छ । तर चाँगुनारायणको मतले प्रतिनिधिसभा सदस्यका लागि हुने निर्वाचनको नतिजामा परक पर्ने अवस्था देखिएको छैन ।

यो क्षेत्रमा नेमकिपाले पाएको वडागत मत ३३ हजार ८९५ छ भने बाँकी सबै एक ठाउँमा जोड्दा मात्र यसलाई भेट्टाउँछ । बाँकी सबै एक ठाउँमा हुने अवस्था छैन ।  एमाले, माओवादी, राप्रपासहित १० दलीय र चार स्वतन्त्र गरी १४ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेककिपाले प्रेम सुवाललाई नै उम्मेदवार बनाएको छ ।

नेमकिपाका उम्मेदवार प्रेम सुवाल ।

२०७४ को प्रतिनिधिसभा चुनावमा पनि सुवालले यो पटक वडागत रुपमा देखिएकै हाराहारी मत पाएका थिए । उति बेला सुवालले ३३ हजार ७६ मत पाएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याएका थिए । एमाले-माओवादी गठबन्धनबाट माओवादी केन्द्रका मिलन सुवालले १५ हजार ३७४ मत ल्याएका थिए ।

उम्मेदवारको गुनासो : उत्तर कोरियाको शासन चल्यो

भक्तपुर नगरमा नेमकिपाको गढ तोड्न नसकेका ठूला दलले यहाँ उत्तर कोरियाको जस्तो शासन चलिरहेको आरोप लगाइरहेका छन् । नेमकिपासँग भिड्न लागेका ठूला दलका दुई उम्मेदवार यही कारण आफूहरु प्रभावी बन्न नसकेको दावी गर्छन् ।

माओवादीका उम्मेदवार गोठे भक्तपुर नगरका मतदाताले नेमकिपाकै ‘डर’मा नयाँ उम्मेदवारलाई चयन गर्न नसकेको दाबी गर्छन् । तल्लो तहदेखि नै नगरभित्र पकड जमाएको नेमकिपालाई भोट नदिँदा नगरपालिकाबाट पाउने सेवासुविधाबाट समेत बन्चित भइने भय मतदातामा रहेको उनको दाबी छ ।

एमालेका उम्मेदवार गेलालको पनि उस्तै गुनासो छ । नेमिकपाले त्यहाँ अरु पार्टीसँग समन्वय गर्ने नगरेको, भक्तपुर नगरका सूचनामा सर्वसाधारणलाई पहुँच राख्न नदिएको र एकपक्षीय सन्देश मात्रै प्रवाह गरिरहेको उनको दाबी छ । ‘नेमकिपाको अरु पार्टीसँग समन्वय छैन,’ गेलाल भन्छन्, ‘यहाँ भित्रका अलि असहमति राख्ने मान्छेहरु, अलि रचनात्मक आलोचना गर्ने मान्छेहरुसँग सम्पर्क समन्वय हुँदैन । नगरपालिकाले एकलौटीरुपमा आफ्नो कुरा बाहिर भनेको छ । केही मिडिया र मान्छेले त्यो कुरा बाहिर पत्याएका छन् ।’

चाँगुनारायण टेकेर भक्तपुर छिर्ने दाउ

एउटा यस्तो समय पनि थियो, जतिबेला नेमकिपाले जुम्ला र दैलेखमा समेत चुनाव जित्थ्यो । ०५१ को आम चुनावमा उसले भक्तपुरको १ र २ दुवै, दैलेख २ र जुम्लामा चुनाव जितेको थियो । त्यसयता भक्तपुर बाहिर चुनाव जित्न नसकेको नेमकिपाले भक्तपुर २ मा पछिल्लो पटक २०६४ मा पनि जितेको थियो ।

क्रमशः खुम्चिदै गएर अघिल्लो चुनावबाट राष्ट्रिय दल समेत बन्न नसकेको नेमकिपा भक्तपुर १ मा पर्ने चाँगुनाराण नगरपालिकामै कमजोर छ । यहाँ एमाले र कांग्रेसले शक्ति विस्तार गरेका छन् । उनीहरुको ध्यान अब चाँगुनारायण नगरपालिका क्षेत्रमा टेकेर भक्तपुर नगरभित्र छिर्ने रहेको देखिन्छ ।

एमाले-कांग्रेसका उम्मेदवारले यसलाई एजेन्डा पनि बनाएका छन् । सत्ता गठबन्धनका उम्मेदवार गोठेले आफ्नो एजेन्डामा चाँगुनारायण क्षेत्रको विकास राखेका छन् । ‘नगरकोट पर्यटकीय क्षेत्र हो तर, त्यहाँ भौतिक पूर्वाधारहरु सम्पन्न भइसकेका छैनन्,’ उनले सुनाए, ‘त्यहाँ बत्तीमुनिको अध्याँरो छ, त्यहाँका जनतालाई खानेपानी, स्वास्थ्य लगायतका सेवा पुर्याउने मेरो एजेन्डा हो ।’

भक्तपुर नगरभित्र खानेपानीको समस्या रहेको भन्दै उनले त्यो समाधानका लागि आफूले मात्रै पहल गर्न सक्ने दाबी गर्छन् गोठे । ‘यो चुनावपछि गठबन्धनको सरकार बन्ने निश्चित जस्तै हो,’ उनको दावा छ, ‘त्यसैले पहुँच गठबन्धनका उम्मेदवारको मात्रै पुग्छ । जसको पहुँच हुन्छ र जसले त्यो अपेक्षा पूरा गर्न सक्छ, जनताले त्यसैलाई छान्ने हो ।’

एमालेका गेलालका एजेण्डा पनि चाँगुनारायण केन्दि्रत छन् । ‘चाँगुनारायण नगरपालिकालाई पर्यटकीय क्षेत्र बनाउनुपर्छ,’ गेलाल भन्छन्, ‘चाँगुनारायण र भक्तपुर नगरपालिकामा आएका पर्यटकहरुलाई भक्तपुरभित्रै रमाउने वातावरण बनाउनुपर्छ ।’

नेमकिपाले संसदीय चुनाव जितेको क्षेत्रभन्दा आफूले जितेको (भक्तपुर २) मा विकास गरेर देखाएको उनको दाबी छ । ‘भक्तपुरमै जति विकास हुनुपर्ने हो, त्यो भएको देखिँदैन,’ उनी भन्छन्, ‘शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र अरु क्षेको विकासका लागि सांसदको पनि भूमिका हुनुपर्थ्यो त्यो हामीले देखेनौं ।’

उनी भक्तपुर-१ नेमकिपाले जित्छ, अरु नगए पनि हुन्छ भन्ने खालको बुझाइ नै गलत मान्छन् । गेलाल भन्छन्, ‘प्रत्येक मान्छे परिवर्तनकारी हुन्छ । समाज र पार्टी परिवर्तनकारी हुन्छ । भक्तपुरका जनताले पनि परिवर्तन चाहेका छन् ।’

माओवादीका उम्मेदवार गोठेले चाहिँ यसलाई चुनाव नभई आन्दोलनका रुपमा व्याख्या गरे । ‘हार्ने चुनाव हुँदै होइन, यो आन्दोलन हो,’ उनले अनलाइनखबरसँग भने, ‘यो उपलब्धि जोगाउने आन्दोलन हो । आन्दोलनको अवधि हुनसक्छ, त हार हुँदैन । जनताले गर्ने संघर्षको अवधि हुनसक्छ तर हार हुँदैन ।’

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?