+
+

एमालेको सहयोगमा संसद छिर्ने धवलको धोको

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १ गते १६:०५

संसद छिर्न २५ वर्षपछि फेरि नेकपा (एमाले)को फेरो समाएका डा. धवलशमशेर राणा राजनीतिक खानदानबाट राजनीतिमा उदाएका नेता हुन् ।

२०५४ र २०७४ सालमा नेपालगञ्जको मेयर बनेका ६१ वर्षका उनलाई धेरैले ‘धवल राजा’ भन्छन् । श्री ३ देवशमशेर राणाका पुस्ता धवललाई नामबाट बोलाउन धेरै हिच्किचाउँछन् ।

२०४९ सालमा जिल्ला अध्यक्ष भएर राष्ट्रिय प्रजातन्त्र पार्टीको युवक संघ हाँकेका राणालाई संसद भवन छिर्ने उनको महत्वाकांक्षाले २८ वर्षपछि चौथो पटक चुनावी मैदानमा ओरालेको छ ।

र, २५ वर्षपछि फेरि ‘एमाले दौंतरी’हरूसँग चुनावी दोस्तियारी गरिरहेका छन् । भर्खरै बहुदल आएको त्यो बेला नै ‘पञ्चेहरूको पार्टी’ भनेर चिनिने राप्रपाको युवा संघ हाँकेका उनमा राजनीतिक महत्वाकांक्षाका चाङ उस्तै थिए ।

२०५१ सालसम्म पुग्दा नपुग्दै राप्रपामा उनले आफ्नो ‘चान्स’ देखिरहेका थिएनन् । र, उनले विस्तारै राप्रपामा राजनीतिक क्रियाशीलताको रफ्तार घटाउन थाले ।

२०५१ सालको आम चुनावमा उनी ‘स्वतन्त्र उम्मेदवार’ भएर पहिलो पटक संसदीय चुनाव लडे । जित्न नभएर देखाउन चुनावी मैदानमा उत्रिएका उनले दिन चाहेको सन्देश थियो, ‘धवल पनि संसदीय चुनाव लड्न सक्छ ।’

तर यो त्यही चुनाव जहाँ बाँकेको इतिहासमा पहिलो पटक राप्रपाले जिल्लाको तीनै सिट कब्जा गर्‍यो । पञ्चायत ढलेको पाँच वर्षमै यहाँका जनताले फेरि ‘पञ्च’हरूलाई संसद भवन मात्र छिराएनन्, राप्रपाको ‘हुरी’ले धवललाई नेपालगञ्जको राजनीतिबाट कोसौं टाढा पुर्‍याइदिएको थियो ।

तर पनि उनी शान्त रहेनन् । बाँकेको राजनीतिमा ‘सम्भावना’ बोकेको एउटा तन्नेरी धवलमाथि सबैजसो पार्टीका आँखा गडिरहेको थियो । उनी २०५२ सालमा एमाले प्रवेश गरे ।

२०५४ सालमा भएको स्थानीय चुनावमा एमालेले उनलाई तत्कालीन नेपालगन्ज नगरपालिकामा मेयर लड्न टिकट दियो । देशैभरि एमालेको लहर चलेको बेला धवल मेयर चुनिए ।

जसरी २०५१ अघि राप्रपामा सुस्त सुस्त बनेका थिए, त्यही शैली अपनाएर उनी एमालेबाट टाढिए । उनले ‘आदर्श’ मान्ने राजसंस्थाको अन्त्य हुनुभन्दा पहिला नै धवल फेरि पुरानै घर फर्किसकेका थिए ।

२०६३ सालको राजनीतिक र शाककीय स्वरुप परिवर्तन हुँदै गर्दा धवल पार्टीको एउटा जिम्मेवार पदमा पुगिसकेका थिए । २०६४ मा पहिलो संविधानसभा भयो, धवल राप्रपाबाट बाँके–३ मा चुनाव लडे । कांग्रेसका सुशील कोइरालासँग पराजित भए । २०७० सालमा राप्रपा नेपालबाट उठेका उनको संसद पुग्ने चाहना पूरा भएन ।

२०७२ मा जारी भएको नयाँ संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनायो, धवल मेयर बन्न अघि सरे । २०७४ को स्थानीय चुनावमा उनी एक्लै लडे राप्रपाबाटै । यो बेलासम्म नेपालगञ्ज ‘उपमहानगर’ भइसकेको थियो । धवल पनि राप्रपाका सहमहामन्त्री भइसकेका थिए । राजनीतिशास्त्रमै अमेरिकाबाट पीएचडी गरेका उनले चुनाव पनि जिते ।

पाँच वर्ष बित्न कति नै लाग्छ र ! मेयरको कार्यकाल सकिंदा नसकिंदै उनले मेयरमा नदोहोरिने घोषणा गरे । उनको त्यो घोषणापछि गरिएको अनुमानलाई सत्यसावित गर्दै यसपालिको चुनावमा उनी फेरि संसदीय यात्राको एउटा कठिन परीक्षामा उत्रिएका छन् । र, उनका सारथी छन् एमालेहरू ।

केही ठाउँमा एकअर्कालाई सघाउने गरी एमालेले राप्रपा र जनता समाजवादी पार्टी जसपासँग केन्द्रीयस्तरमै छुट्टा छुट्टै समझदारी भएको छ । एमालेले समझदारी गरेका राप्रपाबाट राणा र जसपाबाट मोहम्मद इश्तियाक राई बाँके २ मा उम्मेदवार छन् । तर एमालले राईलाई छाडेर राणालाई साथ दिएको छ । जसले गर्दा बाँके २ मा राणा, राई र सत्तागठन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका सुदीप नरसिंह राणाबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

अलि अनौठो लाग्ने यो चुनावी ‘तालमेल’लाई बाँकेका एमालेजनले हृदयबाटै आत्मसात् गरेका छैनन् । मुख्य पदमा रहेका र पार्टीमा खट्ने नेता कार्यकर्ताबाहेक एमाले समर्थकले धेरै चासो दिएका छैनन् । ‘आफूले जित्ने बेला यी राणालाई सधैं एमाले चाहिने !’ नेपालगञ्जका एक पुराना एमाले नेता भन्छन्, ‘पहिला पनि एमालेले मेयर बनाइदिएकै हो । यसपालि पनि हामीले माननीय बनाइदिनुपर्ने ?’

तर आफूलाई नेपालगञ्जकै ‘ब्राण्ड’ ठान्ने ‘धवल राजा’ ले चुनाव जित्छु भन्ने आत्मविश्वास डगमगाउन दिएका छैनन् । यसै साता एमाले र राप्रपाको संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गर्दै धवलले भनेका थिए, ‘नेपालगञ्ज मेरो घर हो ।

दश वर्षसम्मको युद्धले आफ्नै घर बिग्रिरहेको बेला म देश बनाउन त्यो बेला संसद जान चाहिनँ । पहिला आफ्नै घर सम्हाल्छु भनेर २०७४ सालमा नेपालगञ्जको मेयर भएँ । अब देश बनाउने बेला भयो । संसदमा जाँदैछु ।’

चुनावी अंकगणित

बाँके क्षेत्र नम्बर २ मा डुडुवा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १६ र १७ बाहेकका बाँकी २१ वटा वडा पर्छन् । २०७४ सालको चुनावमा १२ हजार ५१५ मतका साथ मेयर चुनिएका थिए धवल । जबकी राप्रपाले सबै वडामा पाएको मत सात हजार ६९५ मात्रै थियो ।

पार्टीको मत भन्दा झण्डै दोब्बर मत राणाले ल्याउनुका पछाडि उनको व्यक्तिगत लोकप्रियता थियो । यसले नेपालगञ्जमा राणा उनको पार्टी राप्रपा भन्दा पनि बढी लोकप्रिय भएको प्रमाणित हुन्छ ।

तर २०७९ को चुनावलाई हेर्ने हो बाँके २ को अंकगणितलाई मात्र आधार मान्दा उनको पक्षमा छैन । यो क्षेत्रका वडामा स्थानीय तह चुनावमा पाएको मतका आधारमा कांग्रेस पहिलो, एमाले दोस्रो, जनता समाजवादी पार्टी (जसपा) तेस्रो र राप्रपा चौथो दल हो ।

कांग्रेसले १८ हजार ३७ मत पाउँदा नेकपा एमालेले १५ हजार ४७८ मत पाएको छ । जसपाले १३ हजार ८०९ र राप्रपाले ८ हजार ४९४ मत पाएको छ । कांग्रेसलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रको ६ हजार ८५९ मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?