+

आटा ढुक्कले खाए हुन्छ, मैदा किन हुँदैन ?

२०७९ मंसिर  २ गते १६:४९ २०७९ मंसिर २ गते १६:४९
Shares
आटा ढुक्कले खाए हुन्छ, मैदा किन हुँदैन ?

मःम, चाउमिन, समोसा, रोटी, पराठा, चिप्स, बिस्कुट, चाउचाउ, थुक्पा । यी हाम्रा दैनिक खाजा-नास्ताका सूची हुन्, जुन मैदाबाट बन्छन् । यसको अर्थ हाम्रो आहारमा मैदा अनिवार्य जस्तै हुन थालेको छ । तर चिकित्सकहरु भन्छन्, ‘मैदा खानु स्वास्थ्यका लागि उचित छैन ।’

खासमा मैदा किन ‘खान हुन्न’ भनिन्छ ? मैदा कसरी बन्छ ? मैदाजन्य खानेकुराले शरीरमा के गर्छ ?

आटा र मैदामा फरक

आटा भनेको प्रकृति हो र मैदा भनेको विकृति । गहुँ अन्नहरूमध्ये सर्वोकृष्ट खाद्य पदार्थ हो । यसमा फाइबर, भिटामिन र मिनरल्स हुन्छ । यसमा भएका प्राकृतिक गुणहरूलाई नष्ट नगरी आटा तयार गरिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई हटाएर मैदा बन्छ, जसमा पोषिलो तत्व नष्ट हुनपुग्छ ।

मैदा बनाउन गहुँमा भएको बोक्रा निकालिन्छ र सेतो भागलाई अत्यन्त मसिनो गरी पिसिन्छ । गहुँमा भएको प्राकृतिक गुणलाई मिल्काएर मैदा तयार गरिन्छ त्यसलाई उज्यालो, सेतो र चम्किलो बनाउन ब्लिचिङ गरिन्छ र केही रसायन पनि मिसाइन्छ । त्यसैले आटालाई स्वस्थकर मानिन्छ र मैदालाई अस्वस्थकर ।

आटा सुपाच्य हुन्छ । आटाले क्षरीय तत्त्वको निर्माण गर्छ र यो सजिलै पच्छ । तर मैदा पेटमा पुगेपछि त्यसले अम्लीय तत्त्वको निर्माण गर्छ । अम्ल हाम्रो शरीरमा जति बढी भयो त्यति हानिकारक हुन्छ ।

मैदामा अतिरिक्त रसायनको मिश्रण

मैदालाई सेतो र चम्किलो बनाउन ब्लिचिङ केमिकलको प्रयोग गरिन्छ । केही मिनरल्स केमिकलको पनि प्रयोग हुन्छ जसले गहुँमा भएको पोषकतत्त्व घटाउँछ । मैदालाई प्याक गर्नको लागि हावा सजिलै नपस्ने बोराको प्रयोग गरिन्छ । जुन खानेकुरामा हावा सजिलै प्रवाह हुँदैन त्यो खानेकुरा अस्वस्थकर हुन्छ ।

मैदा अखाद्य होइन तर अस्वस्थकर 

मैदा अखाद्य भन्दा पनि हानिकारक हो । साबुनलाई खानेकुरामा मिसाइयो भने त्यो चाहिं अखाद्य हुन्छ, किनकि साबुन खानै मिल्दैन । मैदालाई खान त मिल्छ तर यो स्वस्थरकर भने होइन । मैदालाई हानिकारक खाद्य पदार्थ भन्न सकिन्छ । विश्वमा ८० देखि ९० प्रतिशत खानेकुरा मैदाकै छ । तर यसले हाम्रो स्वास्थ्यलाई फाइदा भन्दा पनि हानि गर्छ ।

मैदा बनाउँदा सबैभन्दा पहिले गहुँको बोक्रा निकालिन्छ । बोक्रामा फाइबर हुन्छ बोक्रा निकालेपछि त्यसमा फाइबर भएन । दानामा भिटामिन हुन्छ । धेरै मसिनो गरी पिस्दा धुँदा त्यसमा भएको भिटामिन पनि नष्ट हुन्छ । दानाको सबैभन्दा भित्रको भागमा सूक्ष्म पोषकतत्त्व ‘मिनरल्स’ हुन्छ । धेरै पिसेर निचोरेपछि त्यसमा भएको मिनरल्स पनि नष्ट हुन पुग्छ । यसरी यसमा भएका सम्पूर्ण गुण नष्ट भएपछि यो हानिकारक हुन्छ ।

मैदामा रमायो जिब्रो

हामी स्वस्थकरभन्दा पनि स्वादिलो खानेकुरामा बढी जोड दिन थाल्यौं । ६० किलोको शरीरलाई ध्यान नदिएर ६० ग्रामको जिब्रोको वशमा हामी परेका छौं । जसले हामीलाई मैदाजन्य खानेकुरा बढी मन पर्छ र बजारमा पनि त्यही मैदाले बनेको खानेकुरा बढी उपलब्ध हुन थाल्यो ।

गहुँको च्याँख्ला, दलिया र सामान्य आटा खायो भने हामी पुरानो जमानाको हुन्छौं । त्यही गहुँको मैदाबाट बनेको केक, पाउरोटी खायो भने सहरिया हुन्छौं । त्यसैले सहरिया आधुनिक हुने होडमा मान्छेले मैदाले बनेका खानेकुरा बढी खान थाले र बजारमा पाइने धेरैजसो खानेकुरा मैदाकै पाइन थाल्यो ।

आटा सजिलै पच्छ, मैदा पच्दैन

आटाको बोक्रामा हुने फाइबरले हाम्रो आन्द्रालाई सबलता दिन्छ । खानेकुरा टुक्रिन र पच्न फाइबर आवश्यक हुन्छ । तर मैदा बनाउँदा बोक्रा फालिन्छ । फाइबर नभएकाले मैदालाई हाम्रो पेटले राम्ररी पचाउन सक्दैन जसले गर्दा कब्जियत, अपच, भोक नलाग्ने, कोलेस्टेरोल हुने हुन्छ ।

स्वादका लागि र पेट भर्न मात्र मैदाजन्य खानेकुरा ठीक हो । तर स्वस्थ शरीरको लागि भने यो हानिकारक हो ।

ढुक्कले खाए हुन्छ आटा

आटा धेरै स्वस्थकर हो । तर आजभोलि बजारमा आटा पनि केमिकल प्रोसेसिङ भएको पाइन्छ । त्यसलाई भने ध्यान दिनुपर्छ । नत्र भने आटा ढुक्कले खाए हुन्छ । बजारमा अहिले चाउमिन चाउचाउ पनि आटाले बनेको पाउँछ । मःम पनि आटाबाट बनाउन सकिन्छ । आधुनिक कुरा खाए पनि आटाको खानु राम्रो हो ।

(डा. राजु अधिकारी आहारविद् एवं योग प्रशिक्षक हुन् । उनले खानपानसम्बन्धी ‘खाने कसरी, पिउने कसरी ?’ पुस्तक लेखेका छन् ।)

सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित

आटा खानेकुरा मैदा
डा. राजु अधिकारी
लेखक
डा. राजु अधिकारी
आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक

अध्ययन : मानव चेतना एवं योग विज्ञानमा स्नातकोत्तर र पीएचडी अखिल विश्व गायत्री परिवार, नेपालका स्वयंसेवक, विभिन्न स्कुल, बैंक तथा कलेजहरुमा जीवनशैली र योग प्रशिक्षकको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय