+
+

जो ३० हजार बढी मत प्राप्त गरेर पनि पराजित भए   

रासस रासस
२०७९ मंसिर १७ गते १९:४५

१७ मङ्सिर, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा २० जना उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गरेर पनि पराजित भएका छन् । जसमा नेपाली कांग्रेसका आठ, नेकपा एमालेका सात, नेकपा माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका एक र राष्ट्रिय जनमोर्चाका एक उम्मेदवार ३० हजारभन्दा बढी मत प्राप्त गर्दा पनि पराजित हुनुपरेको छ ।

प्रदेश नं १ बाट पाँचथर–१ मा नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेले ३२ हजार ८९ मत प्राप्त गरे पनि ४६ मतान्तरले पराजित भए । कांग्रेसकै कृष्णप्रसाद सिटौला पनि झापा–३ मा ३७ हजार तीन सय ८६ मत प्राप्त गर्दा पनि पराजित भए ।

मोरङ–२ मा कांग्रेसकी सुजाता कोइरालाले ३१ हजार नौ सय ४०, सुनसरी–३ मा कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार छ सय, सुनसरी–४ मा नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गरे पनि विजयी हुन सकेनन् ।

त्यस्तै मधेस प्रदेशबाट सर्लाही–३ मा नेकपा माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार एक सय ६८ र बारा–१ मा कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त हुँदा पनि पराजित भए ।

बागमती प्रदेशमा रामेछाप–१ मा एमालेका कैलाशप्रसाद ढुङ्गेलले ३० हजार सात सय ३० मत, काभ्रेपलाञ्चोक–१ मा एमालेका रेशमबहादुर लामाले ३० हजार पाँच सय ४८ मत, काभ्रेपलाञ्चोक–२ मा कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार चार सय ८२ मत, मकवानपुर–२ मा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार चार सय ३२ मत प्राप्त भएर पनि पराजित भएका छन् ।

गण्डकी प्रदेशबाट लमजुङ–१ मा माओवादी केन्द्रका देवप्रसाद गुरुङले ३१ हजार सात सय ९१ मत, नवलपरासी बर्दघाट सुस्तापूर्व–२ मा एमालेका तिलबहादुर महत क्षेत्रीले ३४ हजार एक सय १० मत पाएर पनि हार बेहोर्नुपर्‍यो ।

यस्तै लुम्बिनी प्रदेशबाट गुल्मी–१ मा एमालेका प्रदीपकुमार ज्ञवालीले ३२ हजार एक सय ५२ मत, अर्घाखाँची–१ मा कांगे्रसकी पुष्पा भुसालले (गौतम) ४० हजार नौ सय ४५ मत, रुपन्देही–३ मा कांग्रेसका बालकृष्ण खाँणले ३४ हजार ३६, कपिलवस्तु–२ मा एमालेका बृजेशकुमार गुप्ताले ३८ हजार छ सय ९७ मत, प्यूठान–१ मा राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त भए पनि पराजित भएका हुन् ।

कर्णाली प्रदेशमा सुर्खेत–१ मा एमालेका धुव्रकुमार शाहीलाई ३० हजार नौ सय ८८ मतदान भएर पराजित भएका हुन् । सुदूरपश्चिम प्रदेशमा बैतडी–१ मा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवर ३२ हजार ८० मत पाएर पनि पराजित भएका निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?