+
+

बल्लतल्ल मानेका थिए ओली, माधव नेपालको ढंगै पुगेन

शीतलनिवासमा २० महिनापछि संवादहीनता तोडियो केपी ओली र माधव नेपालको । तर यसले कुनै आकार पाउन नसक्ने संकेत देखिएका छन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ पुष १२ गते १९:५७

१२ पुस, काठमाडौं । नेपालका कम्युनिस्टहरु छिमेकी चीनका नेता माओ त्सेतुङले भनेको भन्दै एउटा वाक्य उद्धरण गरिरहन्छन्– ‘राजनीतिमा स्थायी मित्र र शत्रु हुँदैन ।’

कतिले यो भनाइ मदन भण्डारीले भनेको पनि भन्छन् । मूलस्रोत हालसम्म उल्लेख छैन । वाक्यमा जसको मूल अधिकार भए पनि नेपाली राजनीतिमा यो सत्यजस्तै प्रतीत हुन्छ ।

तर एमाले अध्यक्ष केपी शर्मा ओली र यस दलबाट फुटेर गएका एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच भने यो वाक्यले काम गर्न सकेको छैन । हिजो सोमबार शीतल निवासको भेट पनि अपवादमात्रै बन्न पुग्यो ।

चुनावअघि माधव नेपालले ओलीलाई ‘गफाडी महाराज’ भने । ओलीले नेपाललाई ‘कुहिएको फर्सी’ भने । निकटस्थहरुका अनुसार यी दुई नेताबीचको सम्बन्ध व्यक्तिगत स्तरमै बिग्रेको छ ।

अन्तर्संघर्ष चुलिँदाका दिनहरुमा बिरामी ओलीलाई स्वास्थ्यलाभको कामना गर्न जाँदा ‘तपाईंको शुभकामना चाहिँदैन’ भनेर फर्काएका थिए । हिजोआजसम्म पनि नेपाल त्यो कुरो सम्झिरहन्छन् । दुई साताअघि अनलाइनखबरले नेपालसँग उनको कार्यालयमा भेट्दा यो प्रसंग झिकेर तिक्तता पोखे ।

आफूसँगै ओलीविरोधी गठबन्धनमा गएका माओवादी केन्द्र अध्यक्षसँग एमालेको ‘प्याच अप’ भइसक्यो । पुनर्गठित मित्रताको फल चाख्दै प्रचण्ड प्रधानमन्त्रीसमेत बनिसके । तर ओली–नेपालबीच न्यानोपनको कुनै छनक छैन ।

संयोगवश माओकै जन्मदिनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तेस्रो प्रधानमन्त्रीकालको शपथग्रहण समारोह पर्न गयो । शीतल निवासमा गएका बेला ओली र माधव सँगैका कुर्सीमा बस्न पुगे । तस्वीरहरुमा उनीहरु मुखमा कुनै खानेकुरा कोचेर बसेझैं देखिन्छन् । उनीहरुबीच त्यहाँनेर शिष्टाचार साटासाट भएको पनि जानकारीमा आएन ।

शपथग्रहण सकिएपछि भने दुई नेताबीच अर्को कोठामा छलफल भयो । स्वास्थ्य सोधासोध भयो । अरु पनि केही कुराहरु भए । त्यसले कुनै गति पैदा भने गर्न सकेन ।

एमाले र नेकपा एकीकृत समाजवादी (एस) दुवैतिरका पदाधिकारी तथा नेताहरुको भनाइमा यस्तो हुनुमा ओलीभन्दा नेपालको शैलीले पछिल्लोपल्ट बढ्ता काम गर्न पुग्यो ।

हामीले एमाले र एकीकृत समाजवादीका विभिन्न नेताहरुसँग कुराकानी गर्‍यौं, जहाँबाट यी दुई शीर्ष नेताहरुबीचको तिक्तता मेटाउन भएका पछिल्ला प्रयासहरुबारे थुप्रै जानकारी मिल्यो ।

यसको सबैभन्दा निर्णायक प्रयास भएको थियो पुस ९ गते शनिबार । आइतबार प्रचण्ड प्रधानमन्त्री बन्नुभन्दा अघिल्लो दिन र साँझको कुरा, जुन दिन ओली र नेपाललाई भेटाउन सबै प्रयासहरु भएका थिए ।

त्यसको अघिल्लो दिन एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाललाई उनको घर कोटेश्वर पुगेर भने, ‘तपाईंहरुको इगोले आन्दोलन समाप्त हुन दिँदैनौं, तुरुन्त मिल्नुस् ।’

अनलाइनखबरसँग कुरा गर्दै गुरुङले भने, म कुनै पनि हालतमा अब मिल्नुपर्छ भनेर माधव कमरेडलाई मनाउन गएको थिएँ । उहाँले ‘ठीकै छ, तपाईंहरु लाग्दै गर्नुहोस्’ भन्नुभयो, तर उहाँ उत्साहित भएको जस्तो फिटिक्कै लागेन ।’

नेपालले त्यस बेला गुरुङलाई भनेछन्, ‘केपी सुध्रिने होइनन्, तपाईंहरुले मसँग कुराकानी गरेर के हुन्छ र ?’

चुनावअघिसम्म ओलीले दोहोर्‍याई दोहोर्‍याई भाषण गरेका थिए, ‘माधव नेपालबाहेक साथीहरु अहिले पनि फर्कन्छन् भने आएर काम गर्न आग्रह छ ।’ उनले नेपाल कम्युनिस्ट आन्दोलनका गद्दार भएको भन्दै क्षमा दिन नसक्ने बताएका थिए ।

अहिले ओली तिनै नेपालसँग छलफलका लागि तयार भएका थिए । यसका लागि सुवास नेम्बाङ, विष्णु पौडेल, शंकर पोखरेल र पृथ्वी सुब्बाले अनवरत कोशिस गरे । ओली तयार भएपछि नेम्बाङ र गुरुङले नेपालसँग कुरा गरेका थिए ।

२० महिनायता जमेको बरफको ढिक्का फुट्ने संकेत मिल्यो ।

एकीकृत समाजवादीका एक उच्च नेताले अनलाइनखबरसँग बताए अनुसार त्यसै बमोजिम ओलीले शनिबार बिहान नेपाललाई फोन गरे । उनले देउवा नेतृत्वको गठबन्धन भत्किन लागेको संकेत दिए । दुई नेताहरुले सँगै बसेर कुरा गर्नुपर्ने प्रस्ताव गरे ।

एकीकृत समाजवादीका अर्का पदाधिकारीका अनुसार नेपालले ओलीलाई जवाफ दिए, ‘मेरो घरमा आउनुहोस् ।’

नेपाल ओलीलाई आफ्नो निवासमा डाकेर एउटा राजनीतिक सन्देश दिन चाहन्थे । ओलीले आफू झुक्न गएको जस्तो देखिन सक्ने भन्दै त्यो अस्वीकार गरे ।

अब ओलीलाई फोन गरेर मनाउने पालो एकीकृत समाजवादीका नेताहरुकोमा आयो । उनीहरुले ओलीलाई फोन गरेर भेट हुनैपर्ने जिकिर गरे ।

ओलीले फोनमा शर्त राखे, ‘ठीकै छ, म तपाईंकहाँ आउन कुनै समस्या छैन । साँझमा चिया खान आउँछु । तर बाहिर प्रचार हुन भएन ।’

नेपालले फोनमै भन्दिए, ‘अब घरमा को आयो, को गयो भनेर मैले भन्ने कुरा भएन । तर बाहिर चुहियो भने त मैले कसरी जिम्मा लिन सक्छु ?’

ओलीको मनमा चिसो पस्यो । उनले संक्षिप्त कुरा राखेर फोन राखिदिए ।

केहीबेरपछि एकीकृत समाजवादीका ती पदाधिकारीले अध्यक्ष नेपाललाई भेटेर भने, ‘ओलीले शंकर पोखरेललाई भेट्न पठाउनुहुन्छ । कुरा गर्नुपर्‍यो ।’

‘मैले शंकरसँग के कुरा गर्ने, प्रमेशजी (हमाल) सँग भेटे हुन्छ उहाँले ।’

त्यो प्रस्ताव शंकर पोखरेलले मान्ने कुरै थिएन । उनले एकीकृत समाजवादीका नेताहरुसँग नेपालसँग संवाद अघि बढ्न कठिन रहेको निष्कर्ष फोनमै सुनाइदिए ।

आफ्ना अध्यक्षसँग विस्मित एकीकृत समाजवादीका पदाधिकारीले अनलाइनखबरसँग भने, ‘त्यो दिन माधव कमरेडलाई के भएको थियो, हामीले बुझ्नै सकेनौं । यसरी त कसरी राजनीति अघि बढ्छ ?’

एकीकृत समाजवादीका नेताहरुले यो सवाल उनै नेपालसँग पनि राखेछन् । त्यसमा नेपालको जवाफ सुनेर उनीहरु छक्क परे ।

नेपालले उनीहरुलाई चीन र अमेरिकाबीच शीतयुद्ध टुंग्याउन कसरी संवाद भएको थियो भन्ने उदाहरण दिए । नेपाललाई उधृत गर्दै एसका नेताहरुले सुनाए, ‘पहिले दुई पक्षबीच एकअर्काविरुद्ध कुनै वक्तव्यबाजी नगर्ने, दूतहरु पठाउने, एक अर्काविरुद्ध आक्रमण नगर्ने, पहिले अमेरिकी दूत चीन आउने, त्यसपछि चिनियाँ दूत अमेरिका जाने, फाइनल्ली दुई देशका प्रमुखले कुरा गर्ने समझदारी भएको थियो । तर यहाँ हेर्नुस् त … (मोबाइल खोलेर अनलाइन मिडियाका समाचार शीर्षकहरु देखाउँदै) अस्ति, हिजो र आजमै ओलीले कतिपल्ट हाम्रा विरुद्ध बोलिसके ? उनले पहिले त्यो बन्द गर्नुपर्छ ।’

एकीकृत समाजवादी पार्टीका नेताहरु सुनाउँछन्, ‘हामीले अध्यक्षलाई भन्यौं– त्यो दुई देशबीचको कुरो भयो । ओली भनेका अस्तिसम्म हामी एउटै पार्टीमा हुँदा अध्यक्ष भएको नेता । शंकर पोखरेल महाधिवेशनबाट आएका महासचिव । विगतमा तपाईंको क्याबिनेटका मन्त्री । तपाईंले उहाँलाई महासचिव नमाने पनि ओलीको विश्वास जितेको नेता त हो नि । किन नभेटेको ?’

नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूसँग संवाद नगरी ओलीसँग कुरा गरेको भन्दै नेपालले उनीप्रति पनि रोष प्रकट गरे ।

भोलिपल्ट आइतबार दिनभरि के भयो भन्ने सबैलाई थाहा छ । अनलाइनखबरले बालुवाटार र बालकोटमा भएका भेटघाटहरुको समयसारिणीसहित लामै स्टोरी गरिसकेको छ ।

त्यस अनुरुप प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भए । राष्ट्रिय स्वतन्त्र पार्टीदेखि, जसपा, जनमत पार्टी, राप्रपालगायतले उनलाई साथ दिँदा माधव नेपाल छुटे ।

माधव नेपालले यो संवाददातासँग सोमबार कुरा गर्दै एमालेले आफूसँग कुराकानी गरेको पुष्टि गरेका थिए । ‘मसँग कुरा नभएको होइन, विश्वसनीयताको तहमा नपुगेकाले मैले नपत्याएको हो’, नेपालले भने, ‘परिस्थिति अलिक परिपक्व हुनुपर्‍यो नि ।’

एकीकृत समाजवादीका नेताहरु भने एमाले र एकीकृत समाजवादीका बीचमा हाललाई गठबन्धन, पछि पार्टी एकतासम्मको परिस्थितिका लागि मिलेर काम गर्ने अवसर गुमेको भन्दै आफ्ना अध्यक्ष नेपालसँग क्षुब्ध छन् । निर्णय गर्न नसक्ने नेपालको पुरानै स्वभाव यसपालि पनि दोहोरिएको भन्दै उनका कारण आफूहरु अलगथलग पर्न लागेको गुनासो सुनाए ।

‘तपाईं हेर्नुस् न, हाम्रा अध्यक्षको ढंगै पुगेन । मुखैमा आएको त्यत्रो अवसर गुम्यो,’ एकीकृत समाजवादीका ती नेताले भने, ‘सरकारमा जाने कुरामात्रै सरोकार छैन हाम्रा लागि । भोलिको राजनीति कता जान्छ, हामी कहाँ हुन्छौं भन्ने चासो छ ।’

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?