+
+

निर्जीवन बीमा बजार र जोखिम मूल्यांकन

हरेक बिमकले जोखिम न्यूनीकरण गरी बीमा जारी गर्नुपर्छ । तर बजारमा पहिला व्यापार-व्यवसाय वृद्धि तथा प्राप्ति गर्ने दौड चलिरहेको छ र बीमा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ ।

नारायण खनाल नारायण खनाल
२०७९ माघ ६ गते ७:२५

बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिइने क्षतिपूर्तिको सुनिश्चितता हो । बीमा करार गर्दा बीमा गर्ने व्यक्ति (बीमित) र बीमा सेवा गरिदिने संस्था (बिमक) बीच लिखित सम्झौता हुन्छ । त्यो सम्झौताका आधारमा बीमा कम्पनीहरूले नोक्सानी भएको बखत नोक्सानी मूल्याङ्कन गरी क्षतिपूर्ति रकम दिने गरिन्छ । भविष्यमा आर्थिक तथा भौतिक क्षति हुनसक्ने जोखिम सबैलाई उत्तिकै हुन्छ ।

कतिबेला कस्तो प्रकृतिको दुर्घटना हुन्छ, कसैलाई पनि थाहा हुँदैन । त्यसैले भोलिको दिनमा हुनसक्ने सम्भावित जोखिमबाट हुने क्षतिको न्यूनीकरण गर्न तथा भविष्यमा भैपरी आउने जोखिमबाट हुने क्षतिको हस्तान्तरण गर्नका लागि अपनाइने दुईपक्षीय कानुनी सम्झौता वा बीमा कम्पनीहरूसँग भविष्यमा भैपरी आउँदा हुने हानि-नोक्सानी र जोखिमबाट मुक्त हुनका लागि गरिने करार सम्झौता नै बीमा हो ।

नेपाल भूपरिवेष्टित राष्ट्र हो । यहाँ भू-धरातलीय विविधता अत्यधिक छ । एकै किसिमको भू-धरातलमा समेत फरक-फरक प्रकारको जोखिम रहेको पाउन सक्छौं । भविष्यमा घट्न सक्ने विपत्ति र यसका जोखिम न्यूनीकरणका अनेकौं उपाय छन् । तर त्यसको लागि यसबारे आवश्यक जानकारी हुन आवश्यक छ ।

बीमा कम्पनी, पुनर्बीमा कम्पनी र नेपाल सरकार पनि जोखिम व्यवस्थापनमा कुनै खास नीति आकलन नगरी बीमा दर रेट निर्धारण गरेको पाउन सक्छौं । खोलाको डिलमा बनेको घरको बनावट र सम्म मैदानमा बनेको घरको वर्गीकरण गर्ने प्रावधान एउटै छ । बाटो, उद्योग, पुल तथा स्टकको प्रकृति, स्टक रहेको स्थान, बीमामा उच्च जोखिम तथा भविष्यमा आउन सक्ने जोखिमको कारणबाट आर्थिक नोक्सानीको बारेमा आवश्यक मूल्यांकन नगरी कम्पनीका जोखिम मूल्यांकन कर्ता तथा बजार विभागका कर्मचारीहरूले बीमालेख जारी गर्ने गरेको देखिन्छ ।

हरेक बिमकले जोखिम न्यूनीकरण गरी बीमा जारी गर्नुपर्छ । तर बजारमा पहिला व्यापार-व्यवसाय वृद्धि तथा प्राप्ति गर्ने दौड चलिरहेको छ र बीमा कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । बीमा कम्पनीमा कार्यरत बजार विभागका कर्मचारीहरूमा पनि जोखिम मूल्यांकनको आधारमा भन्दा पहिला कसरी व्यापार प्राप्ति गरी आफ्नो लक्ष्य पूरा गर्ने भन्नेमा ध्यान देखिन्छ । उनीहरू सेवा-सुविधा कसरी प्राप्त गर्ने भन्नेतर्फ केन्द्रित देखिन्छन् ।

नेपालका बीमा बजारमा दक्ष, नैतिक तथा पारदर्शी जनशक्तिको चरम अभाव छ । बीमा सम्बन्धी अध्ययन, अनुसन्धान तथा शैक्षिक सामग्रीहरू पनि निकै कमी छ । विकसित देशमा बीमालाई पहिलो प्राथमिकताका साथ लिइन्छ । साथै आˆनो सम्भावित जोखिम भएको बखत उनीहरूमा बीमाले जोखिम बहन गर्छ र आर्थिक नोक्सानीबाट मुक्त भइन्छ भन्ने विश्वास देखिन्छ ।

नेपालमा बीमा सम्बन्धी जनचेतनाको अभावमा यसको विश्वसनीयता ओरालो लाग्दै गएको छ । दक्ष जनशक्ति अभावले बीमा बजारको सम्भावना राम्रो भए पनि विस्तार हुनसकेको छैन । सरकारले पनि यसलाई उच्च प्राथमिकतामा राखेको पाइँदैन । यद्यपि, यी क्षेत्रमा देखिएका सबै समस्या न्यूनीकरण गर्न सकिने खालका छन् ।

बीमा कम्पनीहरूले बीमालाई स्वच्छ, शुद्ध र पारदर्शी बनाउनुपर्ने हुन्छ । व्यवसायी तथा बीमितहरूले आˆनो व्यवसाय सञ्चालनमा मध्यम र उच्च जोखिम आकलन गरी बीमालेख लिनुपर्दछ । क्षति मूल्यांकनकर्ताहरूले दाबी मूल्यांकन गर्दा व्यावसायिक नैतिकता पालना गरे भने जटिलता आउँदैन । नेपाल सरकारले पनि बीमा एउटा महत्वपूर्ण आर्थिक क्षेत्र भएकोले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्दछ ।

विपदको क्षतिलाई न्यूनीकरण गर्न राम्रोसँग जानी, बुझी जोखिम न्यूनीकरण गर्ने माध्यम नै बीमा हो । त्यस्ता विपद्बाट बच्न र सम्भावित क्षति न्यूनीकरण गर्न बीमा नै उपयुक्त विधि हो

बीमा धेरै प्रकारका सिद्धान्तमा आधारित हुन्छन् । सामान्यतः परम सद्विश्वास, बीमायोग्य हित, क्षतिपूर्ति, योगदान र प्रतिस्थापनको सिद्धान्तमा आधारित हुन्छन् । तर, व्यवहारमा बीमालाई केवल एउटा बाध्यकारी बैंक तथा वित्तीय संस्थाहरूले आफूले प्रवाह गरेको ऋणको सुरक्षाका रूपमा लिने गरेको पाइन्छ । साथै जोखिम मूल्याङ्कन गरी जानी बुझेर बीमा गरेको पाइँदैन ।

२०७२ सालको विनाशकारी भूकम्प, विश्वव्यापी महामारी कोरोना, बेमौसमी बाढीपहिरो, सवारी दुर्घटना, विमान दुर्घटना र त्यसबाट हुन र पर्न गएको ठूलो आर्थिक र मानवीय क्षतिलगायत विपद्पछि नेपालीको सोच्ने तरिकामा सकारात्मक परिवर्तन आइरहेको छ । यद्यपि जुन गतिमा बीमा सचेतना र अभियान अघि बढ्नुपर्ने थियो, त्यति हुनसकेको छैन । नेपाल सरकारले सवारी साधनको अनिवार्य बीमा लागू गरेको छ । योसँगै घर तथा सम्पत्ति र स्वास्थ्य बीमा पनि त्यसरी नै अनिवार्य गर्न सक्छ । बीमाको पहुँच बढाउन सबैभन्दा पहिला त बीमासम्बन्धी साक्षरता तथा जनचेतना अभिवृद्धि गर्नुपर्ने हुन्छ ।

बीमा किन, केका लागि र कोसँग गरिन्छ भनेर प्रष्टसँग बुझ्नु र बुझाउनुपर्छ । नेपालमा बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोगमार्फत उक्त सेवाको ‘डिजिटलाइजेसन’ ले निकै फड्को मारिरहेको अवस्थामा बीमा क्षेत्रमा पनि प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने प्रशस्त सम्भावना छन् । त्यसैले बीमा क्षेत्रमा प्रविधिको प्रयोगमार्फत सेवा विस्तार गर्न सकिने र बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरू पनि प्रविधिको प्रयोगमा अभ्यस्त हुनुपर्ने हुन्छ ।

हाल नेपालमा मोटर, सम्पत्ति, सामुद्रिक तथा पारवहन, ठेकेदारी तथा इन्जिनियरिङ, स्वास्थ्य तथा औषधोपचार, बाली तथा पशुपन्छी, दुर्घटना र बैंकर्स क्षतिपूर्ति बीमालेख प्रचलनमा छन् ।

हाल बीमा प्राधिकरणले पनि दक्ष जनशक्ति उत्पादनका लागि बीमा कम्पनीहरूसँगको सहकार्यमा इन्स्युरेन्स इन्स्टिच्युट अफ नेपालको स्थापना गरेको छ । त्यसमार्फत समय-समयमा तालिम सञ्चालन गरी कर्मचारीहरूको दक्षता, कार्यक्षमता अभिवृद्धि गर्दै आएको छ । यसले बीमा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै उनीहरूको कार्यक्षमता अभिवृद्धिले सेवाप्रवाह गुणस्तरमा पनि अभिवृद्धि हुँदै जाने गर्छ ।

बीमा कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा घट्दै जाने र नयाँ-नयाँ बीमालेख ल्याउँदै जानाले पनि योे क्षेत्र फराकिलो बन्दै जान्छ । सम्पूर्ण व्यवसाय वा सम्पत्तिको बीमामा आकर्षण पनि बढ्छ । हालको बीमा दाबी प्रक्रिया केही जटिल तथा झन्झटिलो भए तापनि त्यसलाई समयसापेक्ष रूपमा सरलीकृत र ग्राहकमैत्री बनाउँदै लैजानुपर्ने हुन्छ । हाल बीमा प्राधिकरणले उधारोमा बीमालेख जारी गरी बिक्री गरिरहेको वा बीमितको खातामा पर्याप्त मौज्दात नभएको अवस्थामा पनि चेक दिई बीमालेख लिने गरेको पाइएको छ । त्यसैले मौज्दात सुनिश्चित नभई बीमालेख जारी नगर्न निर्देशन गरेको छ ।

दैवी प्रकोप, महामारी, द्वन्द्व, अपराध, जलवायु परिवर्तन, भूकम्प, ज्वालामुखी जस्ता कारणहरूबाट दैनिक मानवीय र भौतिक सम्पत्तिको ठूलो जोखिम र क्षति हुँदै गएको छ । नेपालमा अहिलेसम्म यस्ता दैविक र प्राकृतिक जोखिम उच्च देखिन्छ । समयमै पूर्वतयारी नगर्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ ।

विपद्को अनुमान र आकलन गर्न सकिंदैन किनकि यो अनपेक्षित र अनिश्चित अवस्था हो । मानव जीवन र सम्पत्तिमा हरेक क्षण हरेक समय जोखिमको सम्भावना रहिरहन्छ । त्यसैले कुनै पनि क्षेत्र वा मानिस जोखिममुक्त छैन । विपदको क्षतिलाई न्यूनीकरण गर्न राम्रोसँग जानी, बुझी जोखिम न्यूनीकरण गर्ने माध्यम नै बीमा हो । त्यस्ता विपद्बाट बच्न र सम्भावित क्षति न्यूनीकरण गर्न बीमा नै उपयुक्त विधि हो ।

(खनाल बीमा क्षेत्रमा प्रबन्धकको रूपमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?