काठमाडौं । कति सामान्य कुराको नतिजा असामान्य हुन सक्छ । जस्तो कुनै गाई बिरामी भएर एन्टिबायोटिक चलाउनुपर्यो भने गाईलाई खुवाएको एन्टिबायोटिकको प्रभाव उसको शरीरमा केही दिनसम्म रहन सक्छ । त्यस अवधिमा गाईको दूधमा पनि एन्टिबायोटिक मिसिएको हुन्छ, जसलाई सेवन गर्दा हानि हुने नै भयो ।
तर दूधमा एन्टिबायोटिकको मात्रा छ कि छैन भनेर कसरी थाहा पाउने ? उपभोक्तासँग जवाफ छैन ।
बोइलर कुखुराको खपतसँगै उत्पादन पनि व्यापक छ । व्यावसायिक हिसाबले कुखुरा पालन गर्नेहरु धेरै छन् । तर कुनै कुखुरालाई झोक्राएको छ वा मरेको छ भने के गर्ने ? जुक्ति छैन । जबकि एउटा कुखुराको संक्रमण फैलिएर भएभरका कुखुरा नै मर्न सक्छ ।
अहिले घरघरमा कुकुर र बिरालोका सौखिन असंख्य छन् । आफ्नै बालबच्चा झैं स्याहारसुसार गरेर कुकुर-बिरालो पालिरहेका छन् । तर यी पशु छालाको संक्रमण, मिर्गौलाको समस्या, पेटको क्यान्सरबाट ग्रस्त हुन सक्छन् । कसरी उनीहरुको रोग प्रारम्भिक चरणमै पहिचान गर्ने ? पशुप्रेमीहरुलाई जानकारी छैन ।
अब अर्को तथ्यांकतर्फ लागौं । नेपालमा पशु चिकित्सा अध्ययन गरेका जनशक्ति धेरै छन् । त्रिभुवन विश्वविद्यालयबाट पशु चिकित्सा अध्ययन गरेका १६ सयभन्दा बढी जनशक्ति देशभर छन् ।
पशुपालक किसानहरुले अनेक समस्या झेलिरहेका छन् । पशुको रोग अनुरुप उचित उपचार गर्ने जनशक्ति नभएको होइन । तर के रोग लागेको हो ? कस्तो संक्रमण फैलिएको हो ? परीक्षण गरेर त्यसको पहिचान गर्ने प्रयोगशाला थिएन । ‘यही अभावलाई पूर्ति गर्न हामीले यो प्रयोगशाला सञ्चालनमा ल्याएका हौं,’ पशु चिकित्सक रकसन बज्राचार्य भन्छन्, ‘यहाँ सबै किसिमका घरपालुवा पशुपंक्षीको रोग निदान हुन्छ ।’
त्रिपुरेश्वरस्थित मल्ल कम्प्लेक्सको पाँचौं तल्लामा एक वर्षअघि सञ्चालमा ल्याइएको प्रयोगशाला हो, भेटनरी डाइग्नोसिस एण्ड रिसर्च ल्याब्रोटरी ।
निजी स्तरबाट सुरु गरिएको यो यस्तो प्रयोगशाला हो, जसले घरपालुवा पशुपंक्षीको दिसा, पिसाब, रगत, छाला सम्पूर्ण परीक्षण गरी स्वास्थ्य-स्थिति पहिल्याउनेछ ।
यस प्रयोगशालामा विभिन्न प्रयोजनले पालिएका घरपालुवा पशुपंक्षीको स्वास्थ्य स्थिति पहिल्याउन सकिने अत्याधुनिक उपकरणहरु जडान गरिएका छन् । पशु चिकित्सक कर्माचार्य भन्छन्, ‘पशुपंक्षीको रोग निदान र खोज-अध्ययन गर्न सकिन्छ यहाँ ।
घरपालुवा पशुलाई तीन श्रेणीमा राखिएको छ, कम्पानियन अर्थात् पेट, लाइभस्टक र पोल्ट्री । यी सबै किसिमको पशुपंक्षीको स्वास्थ्य स्थितिबारे जाँच गरेर रोग पहिल्याउन सकिएमा उचित औषधि-उपचार गर्न सकिने कर्माचार्य बताउँछन् ।
कुकुर-बिरालोको थाइराइड जाँच
कम्पानियन एनिमल अन्तर्गत कुकुर, बिरालो आदिका लागि यहाँ हेमाटोलोजी ल्याब छ । प्रयोगशालामा २७ वटा प्यारामिटर दिने हेमाटा एनालाइजर छ । त्यसमा स्वचालित जाँच हुन्छ । ‘यदि त्यसको नतिजामा चित्त बुझेन भने पुनः परीक्षण गरेर मात्र नतिजा दिने गर्छौं,’ डा. कर्माचार्य भन्छन् ।
यस प्रयोगशालामा यी पशुपंक्षीको बायोकेमेस्ट्री जाँच हुन्छ, जसले कलेजो, मिर्गौलाको स्थिति पहिल्याउन सकिन्छ । यस्तै उनीहरुको शरीरमा प्रोटिन, क्याल्सियम, फस्फोरस के कति छ भनेर जाँच्न सकिन्छ ।
अहिले धेरै कुकुर बिरालोमा मधुमेह भएको छ, मान्छेहरुको जीवनसँग घुलमिल भएकाले उनीहरुलाई पनि यस्तो रोग लाग्न थालेको छ । ‘अब हामीले उनीहरुको थाइराइड जाँच्ने उपकरण पनि ल्याउँदैछौं,’ उनी भन्छन् ।
गाईवस्तुको गर्भावस्थाको जाँच
लाइभस्टक अन्तर्गत गाई, भैंसी, भेडा, बाख्रामा पनि विभिन्न स्वास्थ्य समस्या देखिन्छ । तर सही समयमा सही ढंगले रोगको पहिचान हुन नसक्दा किसानहरु मर्कामा परिरहेका छन् । जस्तो गाईमा लाग्ने थुनेलो रोग । यस्तो समस्या भएका गाईको दूध घट्ने गर्छ । तर के कारणले दूध घटेको हो किसानले भेउ पाउँदैनन् । यदि गाईको दूधको नमुना लिएर परीक्षण गरियो भने के रोग लागेको र त्यसका लागि के कस्तो औषधि, कति मात्रामा दिने भन्ने निक्र्यौल गर्न सकिन्छ ।
‘नेपालमै पहिलो पटक हामीले गाईको, भैंसीको, भेडाको र बाख्राको रगत जाँच गरेर गर्भ रहेको छ वा छैन भनेर पत्ता लगाइदिन्छौं,’ डा. कर्माचार्य भन्छन् ।
पोल्ट्रीमा हुने संक्रमण र रोगको निदान
कुखुराको अण्डामा हामी आत्मनिर्भर छौं भनिरहेका छौं । त्यसो भए हामीले उत्पादन गरेको अण्डा, मासु कति स्वस्थ्यकर छन् त ? हामीले कसरी पालेका छौं त ?
यसबारे थाहा पाउन प्रयोगशालामा विभिन्न परीक्षण हुने डा. कर्माचार्य बताउँछन् । ‘किसानले चल्ला राख्नुअघि खोरमा खराबी छ कि ? त्यो पनि परीक्षण गर्छौं,’ उनी भन्छन्, ‘यसले गर्दा सम्भावित संक्रमण वा रोगको भय रहँदैन ।’
खोज अध्ययन गर्नेका लागि प्लेटफर्म
पशु चिकित्सा अध्ययन गरिरहेका वा पशुपंक्षीको स्वास्थ्य जाँचसम्बन्धी खोज-अध्ययन गर्न चाहनेका लागि पनि यो प्रयोगशाला उपयुक्त हुने डा. कर्माचार्य बताउँछन् ।
‘विद्यार्थी, खोज अध्ययन गर्नेहरुले कहाँ खोज अध्ययन गर्न चाहेमा कहाँ गर्ने त ? सरकारी प्रयोगशालामा दिंदैन । विश्वविद्यालयका प्रयोगशालामा मिल्दैन,’ उनी भन्छन्, ‘उनीहरुका लागि यो प्रयोगशाला एउटा खुला पाठशाला हुन सक्छ । उनीहरुले यहाँ आएर कुनै पनि अध्ययन गर्न सक्नेछन् । यो खोज-अध्ययनका लागि एउटा प्लेटफर्म पनि हो ।’
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4