+
+

ट्वीटरमा अब सबै निशुल्क ब्लू टिक हट्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १६:५७

२ फागुन, काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरका सिइओ एलन मस्कले ट्वीटरको ब्लू टिकका विषयमा एक अर्को महत्वपूर्ण घोषणा गरेका छन् ।

जस अनुसार अब शुल्क नतिरिकनै ब्लू टिक पाइरहेका ट्वीटर प्रयोगकर्ताको अकाउन्टबाट ब्लू टिक हट्नेछ । तर ब्लू टिक सब्सक्रिप्सनबाट ब्लू टिक प्राप्त गरेका प्रयोगकर्ताको निलो टिको भने हट्ने छैन ।

एक ट्वीट मार्फत मस्कले निशुल्क ब्लू टिक (लिगेसी ब्लू चेक) धारीहरु वास्तवमा भ्रष्ट रहेको पनि आरोप लगाएका छन् ।

के हो लिगेसी ब्लू चेक ?

ट्वीटरको लिगेसी ब्लू चेक कम्पनीको सबैभन्दा पूरानो तथा पहिलो भेरिफिकेसन मोडेल हो । यस अन्तरगत सरकार, कम्पनीहरु, ब्राण्ड तथा संस्थाहरु, समाचार एजेन्सी तथा पत्रकारहरु, मनोरञ्जन, खेलकुद तथा गेमिङ क्षेत्रका व्यक्तिहरु, आयोजक तथा अन्य प्रभावशाली व्यक्तिहरुको ट्वीटर अकाउन्ट प्रमाणीकरण गरिन्थ्यो । तर एलन मस्कले अब यसलाई बन्द गर्दैछन् ।

लिगेसी ब्लू टिक भेरिफिकेसनका लागि आफ्नो अकाउन्टलाई किन ब्लू टिक प्रमाणीकरण गर्नु आवश्यक छ भनेर प्रमाण पेश गर्नु आवश्यक हुन्थ्यो । तर अब यो प्रणालीलाई मस्कले हटाउँदै छन् । उनले लिगेसी ब्लू चेकलाई हटाएर ब्लू सब्सक्रिप्सन मोडेललाई प्रवद्र्धन गरिरहेका छन् ।

ट्वीटर ब्लू सब्सक्रिप्सनका लागि प्रयोगकर्ताले मासिक शुल्क तिर्नु पर्दछ । यसको शुल्क ८ देखि १० डलरसम्म तोकिएको छ ।

अकाउन्ट निलम्बन हुँदा अपिल गर्न सकिने

ट्वीटर आफ्नो कठोर नीतिका कारण चर्चित छ र पछिल्ला दिनमा हजारौँ प्रयोगकर्ताका ट्वीटर अकाउन्ट निलम्बन हुने गरेका छन् । तर अकाउन्ट निलम्बन भएका प्रयोगकर्तासँग अपिलको मौका निकै कम थियो । अब चाहीँ ट्वीटरले यसमा परिवर्तन गर्दैछ ।

अकाउन्ट निलम्बन भएका प्रयोगकर्ताहरुले आफ्नो अकाउन्ट पुनस्र्थापित गर्नका लागि अपिल गर्न सक्नेछन् । फेब्रुअरी १ देखि नै ट्वीटरले यो सेवा सुरु गरेको छ । अबदेखि एकपटकको सानोतिनो गल्तीका कारण प्रयोगकर्ताको ट्वीटर अकाउन्ट निलम्बन हुनेछैन ।

पटक पटक ट्वीटरको नियम तथा नीतिहरु उल्लंघन भएमा मात्रै अकाउन्ट निलम्बन हुनेछ । यसमा कुनै खास वर्गप्रति हिंसालाई बढावा दिने, कसैलाई धम्काउने, गैरकानूनी सामाग्री शेयर गर्ने लगायतका कार्य पर्दछन् ।

सर्जकहरुसँग आम्दानी बाँडफाँड

ट्वीटरका सिइओ एलन मस्कका अनुसार विज्ञापनबाट हुने आम्दानीलाई कम्पनीले कन्टेन्ट क्रिएटरहरुसँग बाँड्नेछ । मस्कले यस विषयमा पनि ट्वीटबाटै जानकारी दिएका छन् ।

ट्वीट थ्रेडको बीचमा आउने विज्ञापन तथा भिडियोसँगै आउने विज्ञापनबाट हुने आम्दानी सम्बन्धित सामाग्रीका सर्जकसँग शेयर गरिनेछ । फेब्रुअरी ३ देखि नै सो फिचर सुरु भैसकेको छ । यो सुविधा केवल ट्वीटर ब्लू सब्सक्राइबरका लागि उपलब्ध रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?