+
+

उद्देश्य विपरीत काम गर्ने लघुवित्तले समस्या पारे

जनार्दनदेव पन्त, प्रमुख कार्यकारी अधिकृत, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था जनार्दनदेव पन्त, प्रमुख कार्यकारी अधिकृत, निर्धन उत्थान लघुवित्त वित्तिय संस्था
२०७९ फागुन ८ गते २१:०४

भूपरिवेष्ठित र चीन, भारतजस्ता ठूलो अर्थतन्त्रका कारण नेपालमा ठूला उद्योग फस्टाउन सक्ने वातावरण बनेन । नेपालको उत्पादन प्रतिस्पर्धी हुन नसकेका कारण लगानी खुम्चिदै गयो । त्यसकारण राज्यको नीति साना उद्यम सिर्जना गर्नेमा हुनुपर्छ भन्ने मान्यतासहित नेपालमा लघुवित्तको परिकल्पना गरिएको हो ।

वास्तविक गरिबीलाई शून्यमा झारेर जनताको जीवनस्तर उकास्न, साना उद्यम र उत्पादन वृद्धिका लागि लगानी गर्न यो अवधारणा अघि सारिएको हो । तर, नेपालीले गरेको लगानी अनुसार उनीहरुको उत्पादनले बजार पाएको छैन । सरकारले आयात रोकेर भए पनि उत्पादनको बजार सुनिश्चित गरिदिनुपर्ने थियो, त्यसो भएन । जे उत्पादनका लागि सर्वसाधारणले ऋण लिए त्यसबाट ऋण तिर्न नपुगेपछि ऋण तिर्न ऋण नै लिनुपर्ने अवस्था आयो ।

स्वदेशमा लगानी र रोजगारीको अवसर नहुँदा नेपाली युवाले विदेशमा कठिन काम गरिरहेका छन् ।  यस्तो अवस्थामा नेपालमा कृषिमै व्यवसायिकताको खोजी गर्नुपर्ने हो, त्यसका लागि १५/२० हजार रुपैयाँ नै लगानी गर्नुपर्ने हुन्छ ।

तर, गरिबीको स्तरीकरण गर्ने, समूह गठन गर्ने, व्यवसायिक परियोजना जस्ता विषयमा जानकारी गराएर मात्र ऋण दिनुपर्ने हो । तर, यी काम नगरी पहिले नै ऋण दिइयो । पैसालाई कसरी प्रयोग गर्ने भन्ने योजना नै नभएपछि पैसाको सदुपयोग भएन, गरिब झन् गरिब हुने भइहाल्यो ।

अहिले लघुवित्त जोडिएर जे जे विषय बाहिर आएका छन्, ती सबै लघुवित्तको सिद्धान्त विपरीतका गतिविधि छन् । यो कसले गर्यो, किन गर्यो भन्दा पनि यो त सम्बन्धित निकायबाट नियमन हुनुपर्ने विषय हो । राष्ट्र बैंकबाट अनुमति लिएका लघुवित्तमा मात्रै होइन, सहकारीमा पनि समस्या देखिएको छ । यसका लागि नयाँ कानुन पनि आवश्यक हुन सक्छ ।

जनार्दन देव पन्त

लघुवित्तको स्रोत भनेको सर्वसाधारणले गरेको सानो सानो वचत नै हो । १०/२० हजार रुपैयाँ कमाउनेले त्यसबाट केही रकम वचत गर्छन् । यसरी संकलन भएको पैसा फेरि लघुवित्तले १० हजार २० हजार रुपैयाँ कुनै उद्यम गर्न लगानी गर्छ । ५/५ लाख रुपैयाँसम्म ऋण दिने काम लघुवित्तको होइन । दिने नै भए पनि निकै अनुभवी र उद्योग व्यवसाय फस्टाएकाहरुलाई मात्र दिने हो ।

दिनको एक सय रुपैयाँ कमाउने मान्छेले पनि ३६५ दिन नै थोरै वचत गर्न सक्छ । त्यही बचत संकलन गरेर एकमुस्ट रुपमा ससानो व्यवसायमा लगानी गर्न सक्छ । यसैगरी सामान्य मान्छे पनि धनी बन्न सक्छ । हामीले एक ठाउँमा वचत के हो र ऋण के हो सिकाएर १०/२० हजार ऋण दिन सुरु गरेका थियौं तर, अर्को एउटा संस्था छिरेर एक÷दुई लाख बाँड्न थाल्यो । त्यसपछि समाज त बिग्रियो । वित्तीय साक्षरता नपुगेको स्थानमा भटाभट पैसा बाँडेपछि के हुन्छ ?

निर्धनले १५ प्रतिशत भन्दा ब्याज लिएको छैन । एक वर्षमा सेवा शुल्क १.५ प्रतिशत मात्रै हो । तर लघुवित्तले नै ३६ प्रतिशतसम्म ब्याज लिएको सुनियो, यो त अपराध हो । राज्य, राष्ट्र बैंकले यस्ता संस्थालाई कारबाही गर्नुपर्छ ।

लघुवित्तको अवधरणा भनेकै देशमा कोही पनि गरिब नरहुन् भन्ने हो । सबै लघुवित्त बन्द हुने अवस्था आयो भने यसले ठूलो समस्या निम्त्याउँछ । त्यसकारण समस्यालाई सुधार गर्दै जाऔं । राष्ट्र बैंक छ, यसको काम यस्तै समस्यामा सहजीकरण गर्नु हो । पीडितहरुले पनि सही ठाउँमा गुनासो गर्न सिकौं ।

लघुवित्तले ऋण दिनुअघि व्यवसायिक परियोजना बनाउन पनि सिकाउनुपर्छ । २० वटा पाठा पाल्दा एक वर्षमा खर्च कटाएर २ लाख रुपैयाँ नाफा हुन्छ । २० वटा बंगुर पाल्दा खर्च कटाएर ६ लाख नाफा हुन्छ । दुहुना ८ ओटा भैंसी पाल्दा वर्षमा ११ /१२ लाख नाफा हुन्छ । हाम्रोमा आबद्ध ४ लाख दिदीबहिनीले यस्तै गरिरहनुभएको छ ।

अहिले जति समस्या आएका छन् त्यो उद्देश्य र काममा तालमेल नमिल्दा आएको हो । तालमेल हामीले मिलाउनु पर्छ, कर्जाको गुणस्तर हेर्नुपर्छ । एकै पटक धेरै ऋण दिनुहुन्न । ब्याजदर, कामको उद्देश्य, ऋण लिएको पैसा उत्पादन प्रक्रियामा गएको नगएको हेरिनुपर्छ । कहिलेकाहीँ मानवीय काममा पैसा खर्च गर्छन् । तर, लघुवित्तबाट लिइएको पैसा उत्पादनमै लगाइनुपर्छ ।

लघुवित्तको ऋण तिर्न फेरि अर्को लघुवित्तबाट ऋण नै लिएको सुनिन्छ । यो उद्देश्य विपरीतको काम हो । ऋण किन लिएको भनेर लघुवित्तको कर्मचारीबाट अनुसन्धान हुनुपर्ने हो, उत्पादनको प्रकृतिअनुसार ऋण र किस्ताको व्यवस्था हुनुपर्ने हो । यस्तो भएमा लघुवित्तकै कारण समस्या आउदै आउँदैन । समस्या यस्तो बेलामा आउँछ जुन बेलामा लघुवित्तबाट ऋण लिएर गरेको उब्जनीले बजार पाउँदैन । तर, उत्पादन प्रक्रियामा नगई ५ लाख रुपैयाँ ऋण लिनु त गलत हो । ऋण लिनेमा पनि समस्या छ दिनेमा पनि छ ।

लघुवित्तबाट पीडितहरुको कुरा सुन्दा कर्जा विश्लेषणमा कमजोरी भयो जस्तो लाग्छ । लघुवित्तले उद्यमशीलता विकास गर्नुपर्छ । हामी सम्पत्ति लिलामी गर्न आएका होइनौं । लघुवित्तले पनि ऋण लिनेको अनुगमन गर्नुपर्छ । उत्पादनमा नलगाएको भए लगाउन सिकाउनुपर्छ, यो बैंक होइन, सामाजिक संस्था हो ।

(नेपालको पहिलो लघुवित्त निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकत पन्तले सोमबार नेपाल आर्थिक पत्रकार समाज सेजनद्धारा आयोजित संकटमा लघुवित्त : कारण र समाधान विषय कार्यक्रममा राखेको मन्तव्यको सम्पादित अंश ।)

लघुवित्तको दलदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?