+
+

गोरखा नगरपालिकालाई दमकलको खर्च धान्नै मुश्किल

५ वर्षमा एउटा आगलागीमा मात्र प्रयोग

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १३:५४

३० चैत, गोरखा । गोरखा नगरपालिकाले दमकल किनेको ५ वर्ष भयो । यो अवधिमा लक्ष्मीबजारस्थित एक घरको आगो निभाउनबाहेक यसको प्रयोग हुन सकेको छैन ।

पाँच बर्षको अन्तरालमा जिल्लामा आगलागीका धेरै घटना भएका छन् । हिजोआज नगर क्षेत्रमै दिनहुँजसो वन डढेलोको घटना भइरहेका छन् । तर जिल्लाबासीले दमकलको साथ पाएका छैनन् । मेयर कृष्ण रानामगर सडकका कारण दमकल पठाउन नसकेको बताउँछन् । ‘दमकल ठूलो भयो तर बाटो साँघुरो’, उनी भन्छन्, ‘बाटोकै कारण सबै ठाउँमा दमकल पुग्न सक्ने अवस्था छैन ।’

सञ्चालनमा नआएपनि दमकलका नाममा नगरपालिकाको बजेट खर्च भइरहेको छ । महिनामा कम्तीमा एक सय लिटर डिजल खर्च हुने कार्यालयका वातावरण अधिकृत ध्रुवप्रसाद घिमिरेले बताए । ‘दमकल प्रयोग नभए पनि बिहान एकपटक केहीबेर स्टार्ट गरेर छाड्नुपर्छ, त्यसकै लागि भए पनि डिजेल चाहिन्छ’, उनले भने । नियमित ‘सर्भिसिङका’ लागि पनि खर्च व्यवस्थापन गर्नुपर्ने उनले जानकारी दिए ।

भारत सरकारको सहयोगमा प्राप्त दमकलको इन्धन र मर्मतमा लाखौं रकम खर्च भइसकेको छ । एकैपटक करिव १३ लाख रुपैयाँ खर्चेर दमकल मर्मत गरिएको घिमिरे बताउँछन् । उनी भन्छन्, ‘ल्याएको केही समय नगरपालिकामै बस्यो, त्यसपछि मर्मत र तेल खर्च नगरपालिकाले दिने शर्तमा सशस्त्र प्रहरी बलले सञ्चालन गर्न लग्यो तर प्रयोगमा नआएपछि दमकलमा समस्या आयो । समस्या आएपछि हामीलाई फिर्ता गर्‍यो, करिव १३ लाख खर्चेर हामीले मर्मत गर्‍यौं ।’

मर्मत पश्चात दमकल अहिले नगरपालिका परिसरमै राखिएको छ । आगलागीको खबर पाए पनि नगरपालिकाभित्रकै कतिपय क्षेत्र र जिल्लाका अधिकांश ठाउँमा दमकल जान सक्ने अवस्था छैन । भू–धरातलका कारण पनि समस्या भएको घिमिरे बताउँछन् । तालिम प्राप्त दक्ष जनशक्तिसमेत अभाव रहेको उनको भनाइ छ ।

‘दमकल प्रयोगमा कम्तीमा सात जना तालिम प्राप्त दक्ष जनशक्ति चाहिन्छ’, उनले भने, ‘तर अहिले एक जना चालक र म बाहेक अरु छैन ।’ तालिमका लागि ‘हिमालय इन्ष्टिच्युट फर फायर एण्ड इमर्जेन्सी सर्भिस’ नामक संस्थालाई आग्रह गरिएको उनले जानकारी दिए । उनका अनुसार वैशाखमा तालिम सञ्चालन हुने छ । तर एक्लैले दमकल सञ्चालन गर्न मुश्किल पर्ने नगरपालिकाले जनाएको छ ।

संयुक्त रुपमा दमकल सञ्चालनका लागि आसपासका पालिका र नेपाली सेनासँग अनौपचारिक छलफल भइरहेको मेयर रानाले बताए । ‘अहिलेसम्म जसोतसो खर्च धानेका छौ, तर पुरै जनशक्ति राखेर संचालन गर्न थालेपछि नगरपालिका एक्लैलाई धान्न गाह्रो हुन्छ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल दमकललाई गोरखा नगरपालिकाभित्र मात्र सीमित गर्न नहुने बताउँछन् । विपद व्यवस्थापन समिति संयोजक समेत रहेका भुसालले नगरपालिकाले दक्ष प्राविधिक जनशक्ति तयार गर्ने र दमकल सञ्चालनका लागि गण्डकी प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयले आर्थिक सहयोग गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?