+
+

टुकुचामाथिको जग्गाको लगत कट्टा गर्न मन्त्रालयलाई काठमाडौं महानगरको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २५ गते १५:२७

२५ वैशाख,काठमाडौं। काठमाडौं महानगरपालिकाले टुकुचा खोला व्युँताउन औपचारिक प्रक्रिया सुरु गरेको छ ।

उच्च अदालत पाटनले टुकुचा खोला भएको र त्यो माथि व्यक्तिगत सम्पत्ति रहेको आदेश दिएपछि सोमबार महानगरपालिकाले खोलामाथि पर्ने लगत कट्टाको माग गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र मन्त्रालयमा पत्र लेखेको हो । मेयर बालेन्द्र साह(बालेन)ले निर्णय गर्दै मन्त्रालयमा पत्र काटेका हुन् ।

अदालतको आदेशलाई देखाउँदै लेखिएको पत्रमा भनिएको छ, ‘टुकुचा खोला तथा सोको क्षेत्राधिकार भित्रको जग्गा व्यक्ति विशेषको नाममा दर्ता कायम रहन नसक्ने प्रष्ट देखिन्छ । टुकुचा खोलाको क्षेत्राधिकारभित्र पर्ने जग्गामा निजी तवरमा निर्मित भौतिक संरचना समेत स्वतः अवैध हुन जाने देखिन्छ ।’

पत्रमा उल्लेख छ, ‘हात्तिसार क्षेत्रमा टुकुचा खोला र खोलाको बहाव क्षेत्र भित्रको जग्गा त्रुटिवश व्यक्ति विशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशिघ्र व्यक्ति विशेषको नाममा दर्ता रहेको उक्त लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध सम्बन्धमा आवश्यक कारवाहीको लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ ।’

मालपोत ऐन, २०३४ को दफा २ ले नदी, खोलानाला तथा सोको क्षेत्राधिकारको जग्गालाई सरकारी र सार्वजनिक जग्गा मानेको छ । सोही ऐनको दफा २४(२) ले सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा दर्ता हुन गएको रहेछ भने त्यस्तो दर्ता स्वतः बदर हुने र सम्बन्धित मालपोत कार्यालय वा नेपाल सरकारले तोकेको अधिकारीले सोको लगत कट्टा गर्नुपर्ने व्यवस्था गरेको छ । सो कानुनी व्यवस्थालाई टेकेर महानगरले पत्र लेखेको महानगरका सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिए ।

पत्रमा नेपाल सरकारको १ मंसिर २०६५को निर्णयले कुनै पनि खोला, खोल्छी र राजकुलो छोप्न बन्देज लगाएको समेत उदृत गरेको छ । निर्णयले टुकुचा खोलाको वहाव क्षेत्र तथा सोको दाँयाबाँयाको चार–चार मिटरको जग्गा माथि कुनै पनि भौतिक संरचना निर्माण गर्न नपाइने स्पष्ट मापदण्ड तोकेको महानगरको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?