+
+

तेल पनि बजारबाट उठाउने बाध्यतामा छ प्रहरी : मुख्यमन्त्री कार्की

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ७ गते १४:०५

७ जेठ, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले पर्याप्त बजेट नदिएका कारण प्रहरीले बजारबाट उठाउने गरेको बताएका छन् ।

आइतबार विराटनगरमा वडा प्रहरी कार्यालयको भवन उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले बजारबाट इन्धन संकलन गर्नु प्रहरीको बाध्यता रहेको बताएका हुन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला र अन्य उच्च पदस्थ प्रहरी र नागरिक समाजका अगुवा सहभागी कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, ‘गाडी दिएको छ, तेल दिदैन, अनि तेल उठाउँदै हिँड्न पर्‍यो, पुलिसले धेरै उठाएर खायो, फट्याइँ गर्‍यो भन्दिन्छन्, अब दिँदैन उसले (संघीय सरकारले) अनि माग्नुपर्‍यो नि त, तेल हाल्न माग्नुपरेन ?’

सरकारले प्रहरीलाई गाडी मर्मत खर्च पनि नदिएको मुख्यमन्त्री कार्कीले बताए । प्रहरीलाई शान्ति सुरक्षा स्थापनाका लागि न्यूनतम सुविधा दिनुपर्ने भन्दै उनले भने, ‘हामीले जे काम गर्छाैं त्यसका लागि न्यूनतम कुराहरु (सुविधा) दिनैपर्छ, दिएन भने रिजल्टको अपेक्षा नगरे हुन्छ ।’

‘तँ मुख्यमन्त्री भइस नि, अब गर्दा भो ड्याङ्ग ड्याङ्ग भन्ने कुरा पनि आउँला’ भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘हामी गर्ने पक्षमा नै छौ, तर अहिले पनि प्रहरीका लागि समन्वय गर्ने भन्दा बाहेक अधिकार छैन ।’

प्रहरी समायोजन भएर प्रदेशमा आए बजेट व्यवस्थापन गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने योजना रहेको उनले बताए ।

वडा प्रहरी कार्यालय विराटनगरको तीन तले भवन चार करोड रुपैयाँ लागतमा तयार भएको छ । चार करोड ४ लाख ६३ हजार रुपैयाँ लागतमा कार्की बन्धु अमर जेभीले आर्थिक वर्ष २०७६–७७ मा भवन निर्माण सम्झौता गरेको थियो ।

दुई पटक म्याद थप गरी २०७९ माघ २३ गते भवन निर्माण सम्पन्न भएको हो । आइतबार उद्घाटन गरिएको भवनमा रहेको वडा प्रहरी कार्यालयले विराटनगर महानगर क्षेत्रमा सुरक्षा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?