+
+

निक्षेपको ब्याजमा १ प्रतिशत विन्दुले कर बढाउँदा ३ अर्ब बढी राजस्व संकलन हुने

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ २१ गते २०:०४

२१ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०८०/८१ देखि सर्वसाधारणले बैंकमा राखेको निक्षेपबाट पाउने ब्याज एक प्रतिशत विन्दुले बढाउँदा थप ३ अर्ब राजस्व संकलन हुने भएको छ । यसअघि सर्वसाधारणको निक्षेपमा ५ प्रतिशत कर लाग्दै आएकोमा आव २०८०/८१ को बजेटबाट त्यसलाई बढाएर ६ प्रतिशत पुर्‍याएको छ ।

सरकारले संस्थागत निक्षेपकर्तालाई लाग्दै आएको ब्याजमाथिको करलाई भने १५ प्रतिशतमा यथावत राखेको छ । ‘व्यक्तिगत निक्षेपमा पहिले पनि ६ प्रतिशत नै ब्याजकर लाग्ने गरेको थियो, बीचमा त्यसलाई घटाएर ५ प्रतिशत बनाएकोमा पुनः ६ प्रतिशत नै कायम भएको हो । संस्थागत निक्षेपको ब्याजमा करको दर परिवर्तन भएको छैन,’ आन्तरिक राजस्व विभागका महानिर्देशक मैनालीले भने ।

अहिले ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ वर्गका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप करिब ३६ खर्ब रहेको छ । हाल व्यक्तिगत निक्षेपको औसत ब्याजदर ८ प्रतिशत रहेकाले सो निक्षेपबाट सर्वसाधारणले २ खर्ब ८८ अर्बको हाराहारीमा ब्याज पाउँछन् । हालको ५ प्रतिशतको दरले ब्याजकर लाग्दा वार्षिक १४ अर्ब ४० करोड संकलन हुन्थ्यो । तर, अब ६ प्रतिशत कर लाग्दा कुल कर १७ अर्ब २८ करोड हुन आउँछ । यसरी ब्याजको करमा एक प्रतिशतले वृद्धि हुँदा २ अर्ब ८८ करोड रुपैयाँ थप कर सरकारले उठाउने भएको हो । तर, आगामी आवमा निक्षेपको आकार बढ्ने हुँदा कर रकम पनि बढ्नेछ ।

चालु आव २०७९/८० को चैतसम्ममा सरकारले ब्याजकरबाट २५ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तर, त्यो संस्थागत निक्षेपको ब्याजमा लाग्ने कर समेत हो । संस्थागत निक्षेपकर्तालाई लाग्ने ब्याजकर सर्वसाधारणलाई लाग्ने भन्दा ३ गुणा बढी हुने हुँदा संस्थागत निक्षेपको ब्याजकरबाट उठ्ने राजस्व पनि बढी हुन्छ ।

नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले प्रकाशित गरेको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको कुल निक्षेपमा सर्वसाधारणको निक्षेपको हिस्सा ६०.८९ प्रतिशत रहेको छ । गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ८४ अर्ब पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । जसमध्ये ३४ खर्ब ३० अर्ब रुपैयाँ व्यक्तिगत निक्षप रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यसबाहेक लघुवित्त वित्तीय संस्थाले सदस्य बचतकर्ताबाट संकलन बचतमा समेत ५ प्रतिशत लाग्दै आएको ब्याजदर ६ प्रतिशत पुगेको छ । लघुवित्त संस्थाले चैत मसान्तसम्म १ खर्ब ६७ अर्ब रुपैयाँ बचत संकलन गरेका छन् । यसरी चैत मसान्तसम्म वित्तीय प्रणालीमा व्यक्तिगत निक्षेप ३७ खर्ब ९७ अर्ब रुपैयाँ हुन आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?