+
+
अग्रपथ :

अनिश्चितताको भय र सम्भावनाको हुटहुटी

कोशी–मेचीको बीचमा परम्परागत दलहरू अहिले पनि संगठनात्मक दृष्टिकोणले बलिया छन् । तर, पछिल्लो समय यो भूभागले निरन्तर ‘मानसिक अलगाव’ को अनुभूति गर्न थालेको छ । धेरैको मनमा प्रश्न छ– अर्को चुनावसम्म हर्क र बालेनले पार्टी खोले भने रास्वपाको के हालत होला ?

डम्बर खतिवडा डम्बर खतिवडा
२०८० असार १८ गते १५:२५

बितेका ७ दिन पूर्वतिर थियौं । पूर्वतिर अर्थात् नारायणी पारिदेखि मेचीवारिसम्म । ७ दिनभित्र ३ प्रदेश बागमती, मधेश र कोशी प्रदेशका १४ स्थान चितवन, हेटौंडा, वीरगञ्ज, बारा, चपुर, जनकपुर, लहान, धरान, इटहरी, विराटनगर, काँकडभिट्टा (काँकरभित्ता), दमक, बेल्टार र गाईघाटमा साना, ठूला सामूहिक अन्तरक्रिया र व्यक्तिगत भेटघाट गरेर फर्किंदा लाग्यो– पूर्वतिर अनिश्चितताको भय जति बाक्लो छ, नयाँ सम्भावनाको खोजी गर्ने हुटहुटी उत्तिकै तीव्र ।

चितवन एक दशक बढी समयदेखि निरन्तर चर्चामा छ राष्ट्रिय राजनीतिमा । त्यसो हुनुको कारण बृहत् शान्ति सम्झौता मार्फत माओवादी सशस्त्र विद्रोहको मूलप्रवाहीकरणपछि उदाएका यसका सुप्रिमो प्रचण्डको गृह जिल्ला हुनु पनि थियो । त्यसपछिका दुवै संविधानसभा निर्वाचन उनले चितवनबाट लड्ने आँट भने गरेनन् । उनी रोल्पा, काठमाडौं र सिरहामै अल्झिए । तर, चितवनको स्थानीय राजनीतिमा उनको गहिरो दबाब र प्रभाव पर्न थाल्यो ।

बरु २०७० को दोस्रो संविधानसभा निर्वाचन कांग्रेस सभापति सुशील कोइरालाले चितवनबाट लडे । बाँकेबाट चुनाव लड्ने गरेका कोइरालालाई प्रधानमन्त्री बन्ने अवसर चितवनको विजयले दियो । त्यो अवधि चितवन कांग्रेसको लोकप्रियताको पराकाष्ठा बन्यो ।

जब केन्द्रमा शेरबहादुर देउवा उदाए, चितवन कांग्रेस निरन्तर भाँडभैलो, ‘मिस म्यानेजमेन्ट’ र ‘अलोकप्रियताको सिकार’ भयो । कारण थियो– चितवन राजनीतिमा प्रचण्ड–देउवा सत्ता सहकार्यको दुष्प्रभाव । जब प्रचण्डपुत्री रेनु दाहाललाई मेयरको चुनाव जिताउन मतपत्र च्यात्नेसम्मका दुष्कर्महरू गरिए, सत्ता र पैसाको चरम चलखेल जनताले नजिकबाट देखे, भोगे, नियाले, चरम वितृष्णा उत्पन्न भयो र चितवन तथाकथित मूलधार राजनीतिबाट निरन्तर भाँडिंदै र टाढिंदै गयो ।

२०७४ को आम निर्वाचनमा वाम गठबन्धनले गरेका वाचा र आश्वासन चितवनवासीका लागि पानीको फोका जस्तै फुटेर गए । वाम गठबन्धनका प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीको शासनकालमा चितवनमा ‘चेपाङ बस्ती भत्काएर ठोरीमा राम खोज्ने’ नयाँ बिम्ब स्थापित भयो । माडीमा नक्कली अयोध्या खडा गर्ने र विशाल राम मन्दिर बनाउने ‘ओली परियोजना’ अहिले अलपत्र छ भन्ने सुनियो । कसैले त्यसमा गहिरो रुचि राखेर चर्चा गर्न चाहेन ।

निरन्तर भत्किंदो संगठन र घट्दो भोटले कांग्रेस–कम्युनिष्टहरू निराश देखिन्छन् । रास्वपाको उदय र घन्टीको चर्को लहरबीच कांग्रेस–कम्युनिष्टहरूको साख फर्काउन केही न केही राम्रो गर्नुपर्ने दबाबमा छन् भरतपुर महानगरकी मेयर रेनु दाहाल । नारायणीमा ‘बिच’ बनाउने जस्ता लोभाकर्षक विकास परियोजनामा जोड दिंदैछन् उनी । तर, चितवनको मनोविज्ञानलाई उनले सम्हाल्न सक्ने सम्भावना छैन ।

चितवनलाई कर्मक्षेत्र बनाएका लेखक, अभियन्ता तथा चिकित्साकर्मी डा. जीवन क्षेत्रीका अनुसार ‘देश अहिले जसरी पूर्वानुमान गर्न नसकिने स्थितिमा छ, चितवन पनि उत्तिकै अनिश्चयको सिकार छ ।’ पुराना भाष्य र मानकहरू निरन्तर भत्किंदैछन् । कसैले सोचे जस्तो, भने जस्तो भइरहेको छैन तर, हुन लागेको वा हुनेवाला के हो भन्ने प्रष्टता पनि छैन । युवा उद्यमी अमर घिमिरे ठान्छन् कि चितवनमा राजनीति मात्र हैन, आर्थिक संकटले सृजना गरेका दबाब पनि उत्तिकै गहिरा छन् र त्यसले अनिश्चयलाई झनै बढाएको छ ।

हेडौंडाको कुरा पनि उस्तै उस्तै थियो । कमल थापा कालमा मकवानपुर राजनीतिमा राप्रपाले उल्लेखनीय प्रगति कहिल्यै गरेन । तर, थापाले जब राप्रपा छोडे र एमालेको सूर्य चिह्नबाट चुनाव लडे, राप्रपाका दीपकबहादुर सिंहले चुनाव जितेर सबैलाई छक्क पारिदिए । देश नयाँ रास्वपातिर सोहोरिएको बेला मकवानपुरमा भने झनै पुरानो राप्रपाको लहर चल्यो । हेटौंडाका युवा राजनीतिकर्मी प्रकाश आचार्य यसलाई ‘आश्चर्य’ ठान्छन् । यस्ता आश्चर्य घटित हुनुको पछाडि आम अनिश्चयले काम गरेको हुनुपर्दछ भन्ने उनको ठहर छ ।

वीरगञ्जको सोच भने केही फरक छ । वीरगञ्जवासी सहजै भन्छन् कि यो शहर देशको ‘आर्थिक राजधानी’ हो, भारतको मुम्बई जस्तो । देशका १०० धनाढ्य र उद्योगपतिहरूको सूची बनाउने हो भने आधा जति त वीरगञ्जकै हुनेछन् । तसर्थ यहाँको राजनीति र सामाजिक क्रियाकलापमा पैसाको चर्को चलखेल हुन्छ । कांग्रेस, एमाले र माओवादी–तीन ठूला पार्टीका मात्र हैन; जसपा, लोसपा र जनमत जस्ता मधेशकेन्द्रित पार्र्टीका आधा ‘फाइनान्सर’ यही शहरमा हुन्छन् । यहाँका उद्योगी, व्यवसायी र धनाढ्यहरूका लागि ठूलो रकम पार्टीहरूलाई चन्दा दिनु रहर र कहर दुवै हो ।

तसर्थ वीरगञ्ज राजनीतिको प्रवृत्ति चितवन र हेटौंडाको भन्दा फरक छ । यहाँको मूलधारको राजनीति पार्टी जुनसुकै होस्, प्रवृत्तिले ‘दवंगगिरी’ हो । ‘पैसा र दवंगगिरी’ अहिलेसम्म मूलधार छ, यसका विरुद्ध नयाँ पुुस्ताका पढेलेखेका युवा युवती संगठित हुँदैछन् । उनीहरू पर्साको राजनीतिलाई शुद्धीकरण गर्न चाहन्छन् । तसर्थ त्यहाँ पनि वैकल्पिक राजनीतिको तिर्खा चर्को हुँदै गएको छ ।

बाराको राजनीतिले भने कुनै खास प्रवृत्ति पक्रिन सकेको देखिन्न । गत स्थानीय चुनावमा यहाँको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीका रुस्तम अन्सारीले जितेर एक नयाँ अभिलेख बनाए ।

बारा–२ मा भर्खरै उपनिर्वाचन भयो । जसपा र जनमतबीच प्रतिस्पर्धा देखियो । माओवादी र कांग्रेसका उम्मेदवार नै थिएनन् । एमाले, राप्रपा र रास्वपाले कुनै उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । बाराको प्रवृत्ति अहिले पनि ‘कोर मधेश’ को चरित्र नै हो, त्यहाँ अनिश्चितता त छ तर भिन्न प्रकारको ।

जब जनकपुर र लहान पुगिन्छ, काठमाडौंमा हुने तर्कहरू ठीक उल्टा हुन्छन् । काठमाडौंका तर्कहरू जनकपुर र लहानलाई ‘मूर्खहरूको सस्तो बुद्धिविलास’ जस्तो लाग्दछ । बन्द बोर्डर, काँडेतार वा नागरिकताबारे हुने काठमाडौंका तर्कले यहाँका मान्छेलाई आक्रोशित बनाउँछ । मधेशको अहिले पनि आफ्नै ‘सेन्टिमेन्ट’ छ । घन्टीको आवाज यो क्षेत्रलाई सुमधुरभन्दा बढी कर्कश लाग्दछ । विशेषतः नागरिकता विवादमा रास्वपाको अडानलाई यहाँ एमाले र राप्रपाकै नयाँ संस्करणका रूपमा हेरिन्छ ।

जनकपुर वा लहानमा ‘संघीयताको विरोध’ सायदै मान्छेले गर्दछन् । त्यहाँ ‘संघीयता खर्चिलो भयो, खारेज गरौं’ भन्ने हैन, संघीयतालाई कमजोर बनाइयो, प्रदेशहरूलाई कम अधिकार दिइयो भन्ने गुनासो व्यापक हुन्छ । संघीयतापछि जनकपुरले साँच्चै नै आफ्नो रूप फेरेको छ । जानकी मन्दिरको आँगनमा सुँगुर चर्ने र बाह्रबिघा मैदानमा सामूहिक शौच गरिने बिम्ब अब बाँकी छैन । जनकपुर निरन्तर सफा र सुन्दर हुँदै गएको छ ।

मिथिला संस्कृतिमा विशेष महत्व राख्ने पोखरीहरू पुनर्जीवित हुँदैछन् । गंगासागरमा हुने साँझको आरति पशुपतिनाथको भन्दा बढी आकर्षक र भव्य हुन्छ । जनकपुर निरन्तर एक जीवन्त सांस्कृतिक शहर बन्दै गएको छ । कतिपयले भन्छन्– वीरगञ्ज नेपालको मुम्बई हो भने जनकपुर वाराणसी ।

तर, मधेशको मिथिला क्षेत्रमा पनि राजनीतिक प्रवृत्तिले कोल्टे फेर्दैछ । मिथिला क्षेत्रको सप्तरीमा हारेका ‘मधेशका मसिहा’ उपेन्द्र यादव भोजपुरी भाषी क्षेत्र बारामा पुगेर जिते । मिथिला क्षेत्रमा कांग्रेस, एमाले, माओवादी, राप्रपा मात्र हैन, जसपा र लोसपा पनि निरन्तर कमजोर हुँदैछन् । रास्वपालाई यो क्षेत्रमा कसैले गणना समेत गर्दैन । जसपा र उपेन्द्र यादवको ‘वाई–एम थ्यौरी’ ले यहाँ काम गर्न छोडेको छ । यहाँ अचेल कि जनमत पार्टीको चर्चा हुन्छ कि कुनै राष्ट्रियस्तरको ‘प्रगतिशील–लोकतान्त्रिक विकल्प’ आइदिए हुन्थ्यो भन्ने चाहना तीव्र छ ।

सिरहा र सप्तरीको थारू समुदाय नागरिक उन्मुक्ति पार्टीका पछिल्ला क्रियाकलापबाट निरास देखिन्छन् । रेशम चौधरीको न्याय र रिहाइका लागि यो समुदायले गत चुनावमा नाउपालाई सहयोग गरेको थियो । तर, टीकापुर विद्रोहका सहकर्मी र अन्य राजबन्दीलाई जेलमै छोडेर सत्ता राजनीतिको मोलतोल गर्दै रेशम एक्लै उम्किए, भर्खरै जन्मिएको कलिलो पार्टीभित्र व्यक्तिवाद र परिवारवादको चरम विकृति देखियो, तुरुन्तै निराशा सुरु भयो ।

कोशी–मेचीको बीचमा परम्परागत दलहरू अहिले पनि संगठनात्मक दृष्टिकोणले बलिया छन् । तर, पछिल्लो समय यो भूभागले निरन्तर ‘मानसिक अलगाव’ को अनुभूति गर्न थालेको छ । देशभरि बदलाव आउन थालेको बेला परम्परागत दललाई नै साथ दिएर यो क्षेत्रले कतै परिवर्तनको विरुद्ध यथास्थितिवादी भूमिका त गरिरहेको छैन भन्ने आम चिन्ता प्रष्टै देखिन्छ । अन्तरक्रियाका सहभागीहरूले हामीसँग त्यस्तो अलगाव र चिन्ता व्यक्त मात्र गरेनन्, अब के गर्ने ? कसलाई दिने वा नदिने ? कसरी अगाडि बढ्ने भन्ने विषयमा कुनै निर्णयमा पुग्न नसकेको, अन्योल र संक्रमण कायमै रहेको बताए ।

झापा, मोरङ, सुनसरीमा बालेन शाह, रवि लामिछाने, डा. सीके राउत र रेशम चौधरीको भन्दा बढी चर्चा धरानका मेयर हर्क साम्पाङको हुन्छ । हर्कको मिहिनेत र कामलाई मन पराए पनि उनको ‘अभिव्यक्तिको शैली’ भने अनावश्यक रूपमा ठाडो र अमर्यादित हुने ठान्छन् मान्छेहरू । कोशी पूर्व धेरैको मनमा प्रश्न छ– अर्को चुनावसम्म हर्क र बालेनले के गर्छन् ? उनीहरूले अर्को पार्टी खोले भने रास्वपाको के हालत होला ?

झापा कुनै समय देशकै सर्वाधिक क्रान्तिकारी जिल्ला थियो । अहिले चरम दक्षिणपन्थ निरन्तर बलियो हुँदै गएको छ । कतिपयले त झापालाई ‘राप्रपाको राजधानी’ समेत भन्न भ्याए । कम्युनिष्ट धारमा एमाले र ओली समूहको अझै यहाँ बलियो पकड छ, जसलाई सबैभन्दा ‘दक्षिणपन्थी वाम समूह’ मानिन्छ । यहाँसम्म कि माधव–झलनाथको बहिर्गमन र एमालेको विभाजनको समेत झापामा खासै प्रभाव परेन । यसरी कुनै बेलाको क्रान्तिकारी जिल्ला नजानिंदो गरी ‘दक्षिणपन्थको किल्ला’ बन्न पुगेको त हैन भन्ने चिन्ता र हीनता पनि प्रगतिशील–लोकतान्त्रिक जनमतमा बढ्दो छ ।

फराकिलो मेची पुल बनेपछिको काँकडभिट्टा अब आफैंमा एक व्यापारिक बनेको छ । हिजोको जस्तो भद्रपुर वा दमकको ‘डोमिनेसन’ मेचीनगरमा अब छैन । मेचीनगरवासी परम्परागत दलीय र गुटीय राजनीतिबाट निरन्तर विरक्त हुँदैछन् । सधैं कम्युनिष्ट उम्मेदवारले जित्ने रेकर्ड तोडेर मेचीनगरवासीले यसपटक कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई जिताइदिए ।

मेचीनगरका एक युवा भन्छन्, ‘खासमा विश्वप्रकाशले पाएको भोट पनि वैकल्पिक सोचको भोट हो । उनी उम्मेदवार हुँदैनथे भने कांग्रेसले जित्ने कुनै चान्स थिएन ।’ झापामा पुराना शक्तिकेन्द्र भद्रपुर र दमक क्षेत्रभन्दा मेचीनगर बढी आधुनिक, क्रान्तिकारी र वैकल्पिक हुँदै गएको छ । ‘कोशी विरुद्धको आन्दोलन’ के, कसरी निष्कर्षमा पुग्ला वा नपुग्ला, यो क्षेत्रको अर्को ठूलो चिन्ता हो ।

दमकको सीतापुरीमा भेटिएका जनजाति महासंघका पूर्वमहासचिव नित्यान्द ताजपुरिया भने कोशी–मेची बीचका आदिवासी राजवंशी, धिमाल, सतार, गनगाई, ताजपुरिया लगायत समुदायको निरन्तरको किनारीकरणबाट दुःखी र चिन्तित छन् । उनी प्रश्न गर्छन्, ‘वैकल्पिक राजनीतिको कुरा गर्नेहरूले यो मुद्दालाई कसरी लिन्छन् ? प्रगतिशील–लोकतान्त्रिक विकल्पले उनीहरूका लागि कस्तो कार्यक्रम दिन सक्दछ ?’

फर्किंदा हामी नयाँ चतरा पुल हुँदै आयौं– बेल्टार–गाईघाट–कटारी हुँदै । पछिल्लो दशक कांग्रेस नेता नारायण खड्काले पकड बनाएको यो क्षेत्रमा नयाँ दल सदस्य र वैकल्पिक राजनीतिको बहस उत्तिकै तीव्र हुँदैछ । बेल्टारका एक व्यवसायी भन्छन्, ‘अब चाहिं अघाइयो । केही नयाँ र राम्रो आए हुन्थ्यो ।’

समग्रमा भन्न सकिन्छ– पूर्व दक्षिण नेपालको मनस्थिति अभूतपूर्व उथलपुथल र संक्रमणको बीचमा मात्र छैन, यति नाजुक र तरल हुँदै गएको छ कि त्यसले आगामी दिनमा देशको राजनीतिक कोर्समा व्यापक फेरबदल हुनसक्ने निर्णय लिन सक्ने सम्भावना प्रबल छ ।

लेखकको बारेमा
डम्बर खतिवडा

राष्ट्रिय राजनीतिमा सशक्त कलम चलाउने राजनीतिक विश्लेषक डम्बर खतिवडाको नियमित स्तम्भ 'अग्रपथ' हरेक आइतबार प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?