+
+

खर्च कटौती मात्र होइन, पर्यावरणका लागि पनि लुगाको जतन जरुरी

मनिषा थापा मनिषा थापा
२०८० साउन १७ गते १३:३२

काठमाडौं । दराजभरि लुगा हुनु तर पनि कतै जानुपर्दा लगाउने कपडै नभेटिनु । यो हामीमध्ये धेरैले त्यसमा पनि महिलाहरुले भोगेकै समस्या हुन सक्छ । विशेषगरी धेरैजसो महिला वा युवतीलाई के लुगा लगाउने भन्ने विषयले अन्योल पार्छ । अझ सेलिब्रिटीहरुको लुगाको मात्र एउटा कोठा हुँदा पनि लुगा कम हुने भनेर बेलाबखतमा सुन्दै आएका छौं ।

कलाकारहरुले लुगा दोहोर्‍याएर लगायो भने पनि ट्रोल हुने गर्छ, जसकारण पनि उनीहरु लुगाप्रति धेरै सचेत रहन्छन् । यसरी हेर्ने हो भने लुगा अथाह छन् । तर पनि त्यसप्रति एक किसिमको आशक्ति देखिन्छ । यस्तोमा सोच्नुहोस् त लुगा कति मात्र उत्पादन हुन्छन् र खपत हुन्छन् ? यसले नराम्रोसँग वातावरणप्रति प्रभाव पारिरहेको छ ।

लुगा बढी खपत गर्नु प्रकृतिमाथि अन्याय

आकर्षक लुगाले व्यक्तिलाई पक्कै राम्रो देखाउँछ, यसमा कुनै शंका छैन । तर लुगा बढी खपत गर्नु भनेको प्रकृतिमाथि दोहन गर्नु पनि हो । विश्वव्यापी फेसन उद्योगले प्रतिवर्ष एक खर्ब बढी कपडा उत्पादन गर्छ । यीमध्ये लगभग ८० अर्ब थान कपडाहरु विभिन्न भूभागबाट प्रत्येक वर्ष खरिद हुन्छ । जसको सीधा असर प्राकृतिक स्रोतमा परिरहेको छ ।

अन्तर्राष्टिय जनरल अर्थका अनुसार जलवायु परिवर्तनमा फेसन उद्योग १० प्रतिशत जिम्मेवार रहन्छ । फेसन उद्योगबाट सबैभन्दा ठूलो खतरा भूमिगत पानी हो । वास्तवमा कारखानाहरूले कपडा बनाउन धेरै पानी बर्बाद गर्छन् । जसका कारण भूमिगत पानीको सतह निरन्तर घट्दै गएको छ ।

बंगलादेशको कपडा उद्योगले वार्षिक १५ बिलियन लिटर पानी खपत गर्छ । एक किलो डेनिम धुन करिब २५० लिटर पानी खेर फाल्ने गरेको छ । एक किलो सुती कपडा धुन र रङ गर्न जम्मा २०० लिटर पानी चाहिन्छ । नतिजा अहिले धेरै ठाउँमा पानीका लागि २७ मिटर खन्नुपर्ने बाध्यता छ ।

विश्व बैंकको शोधअनुसार बर्सेनि विश्व फेसन उद्योगलाई ९३ बिलियन क्युबिक लिटर पानी चाहिन्छ, जुन ५० लाख मानिसको पिउने पानी बराबर हो । संसारमा २० प्रतिशत खेर जाने पानी फेब्रिक प्रशोधनबाटै आउने गर्छ । तथ्यअनुसार यदि अहिलेको गतिमा जनसांख्यिक र जीवनशैलीको गतिविधिले निरन्तरता पाइरहने हो भने सन् २०३० सम्म संसारमा ६२ मिलियन मेट्रिक टन लुगाको खपत हुनेछ ।

रेयोन र भिस्कोज जस्ता रुखबाट बनेका फेसनल फेब्रिकमा आधारित कपडाको उत्पादनका कारण हरेक वर्ष हजारौं हेक्टर वनहरू काटिन्छन् । वनजंगल फडानी गर्नु भनेको पर्यावरणलाई हानि गर्नु हो । यसले वनमा बसोबास गर्ने प्रजातिहरू र विश्वभरका आदिवासी समुदायमा गम्भीर खतरा उत्पन्न हुन्छ ।

मितव्ययी नहुनु

पैसा जोहो किन गरिन्छ ? नाना, खाना र छानाको लागि । बदलिंदो आधुनिकतासँगै मानिसहरु बढी फेसनबेल भएका छन् । फेसनेबल कपडाहरू पक्कै पनि हेर्न र लगाउन धेरै राम्रो छन । एक दशकअघिको कुरालाई विचार गर्ने हो भने मानिसहरू चाडपर्व वा कुनै विशेष अवसरमा मात्रै लुगा किन्ने गर्थे । यसमा राम्रो मात्र हेर्नुभन्दा पनि दिगोपनको ख्याल गरिएको हुन्थ्यो । अहिले लुगा त्यसमा पनि ब्राण्डको लुगा लगाएर आफूलाई माथिल्लो स्तरको देखाउने प्रवृत्ति नै छ । जसले गर्दा मानिस एक छाक भोकै बस्न तयार छ तर चिटिक्क परेको महंगा लुगा हरेक समारोह र चाडपर्वको नाममा खरिद भइरहेकै छ । ट्रेन्डमा आउने बित्तिकै लुगा किन्ने चलनलाई ‘फास्ट फेसन’को नाम दिइएको छ ।

विश्व फेसनलाई हैरानी बनेको ‘फास्ट फेसन’ प्रवृत्तिको प्रभाव नेपालमा पनि उत्तिकै देखिन्छ । नेपाल यस्तो एउटा मुलुक हो, जहाँको पहिरन अर्थतन्त्र आयातमा निर्भर छ । चीन, भारत र थाइल्याण्डबाट आयात हुने ‘फास्ट फेसन’ले नेपालको फेसनमा दबदबा जमाएको देख्न सकिन्छ । नेपाल कपडा उद्योग संघका अनुसार नेपालमा वार्षिक पाँच खर्ब रुपैयाँभन्दा बढीको कपडा खपत हुन्छ ।

व्यवस्थापन गर्न सकिन्छ त ?

-समस्याको जड अत्यधिक उपभोक्तावादमा छ । लुगा किन्नुभन्दा एकपटक त्यसको प्रयोजनबारे सोच्ने र आवश्यक परेमा मात्रै किन्ने ।

-आफनो लुगा फाल्नुअघि दुई पटक सोच्ने । एकपटक किनेको लुगा अन्तिमसम्म प्रयोग गर्न सकिन्छ । पुरानो लुगालाई पनि अहिले सिलाइ, बुनाइ गरेर नयाँ–नयाँ डिजाइन बनाएर लगाउन सकिन्छ ।

उदारहणका लागि पुराना स्वेटर च्यातेर घरमा नयाँ स्वेटर बुन्न सकिन्छ । सारीलाई कुर्ता, वान पिस बनाउन सकिन्छ । च्यातिएको लुगाले फोहोर पुछ्न काम लाग्छ ।  पुराना कपडाहरू पुन: प्रयोग गर्नु पनि दिगो फेसन सिर्जना गर्ने तरिका हो । अति नै काम नलाग्ने लुगाफाटोलाई पेलेर डस्ना बनाउन सकिन्छ । यसले महंगो डस्ना किन्नबाट पनि जोगियो र लुगा जथाभावी फालेर वातावरण प्रदूषित पनि हुँदैन ।

-आफूलाई लगाउन जरुरी नलाग्ने लुगा साथीभाइलाई दिने ।

-सेकेन्ड ह्याण्ड लुगा प्रयोग गर्ने र आफूले पनि आफ्ना लुगा त्यसैगरी प्रयोग गर्न दिने । विदेशमा मात्र पहिला चलनमा रहेको सेकेन्ड ह्याण्ड लुगाफाटोको बिजनेस नेपालमा पनि सुरु भएको छ ।

लुगा जतन गर्न जरुरी

कपडा किन्न सजिलो छ तर त्यसलाई जतन गरेर राख्न अलि मुश्किल हुन्छ । थोरै मात्र गल्ती हुँदा महंगो र रोजाइमा परेको कपडा बिग्रिन सक्छ । जति लुगा जतन गर्न सकियो त्यति नै लुगा नयाँ देखिन्छ । र, चाँडै च्यातिदैन पनि । त्यसैले लुगा जतनका लागि निम्न पक्षमा ध्यान दिनुपर्छ ।

-लुगालाई लामो समयसम्म नलगाउने । घरबाहिर एउटा लुगा, घर बस्दा अर्को लुगा र राति सुत्दा अर्को लुगा लगाउने । यसरी लुगा भाग लगाएर लगाएमा लुगा छिटो मैलो हुँदैन । काम गर्दा दाग लाग्ने, पसिना आउने खालको समस्या हुन्छ भने काम गर्न जाँदा छुट्टै खालको लुगा लगाउने । भान्छामा सधैं एप्रोनको प्रयोग गर्ने ताकि कुनै पनि किसिमको मसला, पानी, तेल लुगामा नपरोस् ।

-लुगा धुँदा सर्फभन्दा बढी साबुनको प्रयोग गर्ने । बढी सर्फले लुगालाई छिट्टो मक्काउन सक्छ । सर्फले नधोई चित्त बुझ्दैन भने हल्का केमिकल भएको सर्फ प्रयोग गर्ने । दाग लागेको भागमा हातले हल्कासँग मिच्ने । लुगाको मैलो हटाउन भन्दै लुगालाई मुडाले कुट्ने, लट्टीले हान्ने, झुरले घोट्ने गर्न हुँदैन । यसले लुगा च्यातिन पनि सक्छ र यसको गुणस्तरमा कमी ल्याउँछ । कपडा सेतो छ भने रंगीन कपडासँग धुनुहुँदैन ।

-धोएको लुगाफाटोलाई कहिले पनि सूर्यको प्रकाश सिधा पर्ने ठाउँमा वा चर्को घाममा सुकाउनु हुँदैन । यसले लुगाको रंगलाई खुइलाएर कपडा छिटो पुरानो बनाउँछ । जहिले पनि कपडालाई सीधा घाम पर्ने ठाउँमा सुकाउनु हुँदैन ।

-कपडालाई पट्याएर राख्न जान्नुपर्छ । राम्रोसँग पट्टाएर राखेमा कपडा खुम्चिंदैन । जति कपडा खुम्चियो त्यति कपडाको गुणस्तर जान्छ । पुरानो पनि देखिन्छ । दैनिकजसो लगाउने सुती कपडा आइरन गरेर ह्याङ्गरमा झुण्ड्याउने र पार्टीमा लगाउने लगायतका लुगा भने दराजमा राम्रोसँग पट्टाएर राख्न सकिन्छ । अहिले धेरैजसो सामाजिक सञ्जालमा लुगा कसरी पट्याउने भनेर खोजियो भने जति पनि जुक्ति पाउन सकिन्छ ।

-जाडोमा उनीको लुगामा भुवा आउने गर्छ, जसले गर्दा लगाउन मन नहुन सक्छ । यसको समाधानका लागि रेजरले भुवा हटाउन सकिन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?