+
+
सीके लाल र कृष्ण खनालसँग विश्वप्रकाश :

‘बीपी प्रश्न गर भन्थे, हामी प्रश्नबाट भाग्ने ?’

लिलु डुम्रे लिलु डुम्रे
२०८० भदौ २४ गते २०:३६

२४ भदौ, काठमाडौं ।  नेपाली कांग्रेसले यसपटक बीपी कोइरालाको जन्मजयन्ती फरक तरिकाले मनाइरहेको छ । राजनेता बीपीसँगै साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको सम्झनासमेत गर्दै ११० औं जन्मजयन्ती आइतबारबाट मनाउन सुरु गरिएको छ । आजदेखि मंगलबारसम्म कांग्रेस केन्द्रीय कार्यालय बीपी साहित्य महोत्सवमय हुनेछ ।

बीपीको साहित्य माथि विचार विमर्शका लागि साहित्यकार, राजनीतिकर्मी र कांग्रेस नेता कार्यकर्ताको केन्द्रीय कार्यालयमा लाम लागेको छ ।

उद्धघाट्नकै दिन ‘बीपीको दृष्टिमा बीपी’ विषयमा मन्थन गर्न सहजकर्ताका रुपमा उभिए महामन्त्री विश्वप्रकाश शर्मा । उक्त शीर्षकका लागि विमर्श गर्न तयार थिए, भुवन ढुङ्गाना, कृष्ण खनाल र सीके लाल ।

अहिलेको समाजको परिवेश अरुलाई प्रश्न तेर्साउने तर आफूलाई कसैले प्रश्न नगरिदिए हुने थियो भन्ने छ । प्रश्नलाई निषेध गर्ने वर्तमान परिवेशसँग जोडेर राजनीतिक विश्लेषकद्वय कृष्ण खनाल र सीके लाललाई पार्टी महामन्त्री शर्माले जवाफ खोजे । ‘मलाई प्रश्न गर भन्ने बीपी र मलाई प्रश्नै नगर’ भन्ने अहिलेको संस्कारसँग तुलना गरेर शर्माले उत्तर खोजे ।

विश्वप्रकाशको खनाल र लाललाई प्रश्न :

अहिलेको समाज कस्तो छ भने प्रश्न गर्न पाउनुपर्दछ । तर, कस्तो भने प्रश्न मैले गर्न पाउनुपर्दछ । मलाई चाहिं प्रश्न गर्न पाईंदैन । मलाई रुचाएकालाई प्रश्न गर्न पाईंदैन । अथवा, मैले समर्थन गरेको कोही छ भने त्यसलाई तिमी किन प्रश्न गर्दैछौं ? अहिले ठ्याक्कै यस्तै मानसिकता राजनीति र सामाजिक सञ्जालमा छ ।

बीपी कोइरालाला प्रधानमन्त्री भएको बेला समीक्षा साप्ताहिकको सम्पादक मदनमणि दिक्षितलाई बोलाएर भन्नुभयो । मसँग दुई तिहाई छ । प्रतिपक्ष सानो छ ।

यदि कसैले मेरो कमजोरी केलाईदिएन भने मेरो सरकारका विषयमा गम्भिर प्रश्न गरिदिएन भने  मैले सहि कुरा कसरी थाहा पाउने ?

त्यस बेलाको बीले मलाई प्रश्न गर भन्नुहुन्थ्यो । मिडियालाई बोलाएर लेख्न लगाउने बीपी र अहिले चाहिं प्रश्न मलाई नगर मिडिया होस् वा सामाजिक सञ्जाल चलाउने कुनै युवा होस् । या, पुरानै वा नयाँ भनिएको कुनै राजनीतिक दल होस् । यो सन्दर्भमा अहिलेको समाज, मिडिया, राजनीतिक दलले बीपीको प्रश्न गर भन्ने बोलीलाई कसरी लिने हो?

कृष्ण खनालको जवाफः

विश्व जी, तपाईले बहुत कठिन प्रश्न सोध्नुभयो । नेपाली कांग्रेसको भवनको प्राङ्गणमा हामी उभिरहेका छौं । उत्तर दिन मलाई कठिन भइरहेको छ । मैले कसरी भनुँ?

के बीपीको त्यो कुरा कांग्रेसमा आज लागु हुन्छ? नेपाली कांग्रेसका नेताहरु त्यो सुन्न चाहन्छन् ? कांग्रेस सहित राजनीति गर्ने सबैमा एउटा अहंकार के छ भने मैले जति कसैले जानेकै छैन । तिमीले त मलाई पछ्याउने हो ।

मैले भन्या नमान्ने ? मैले भन्या टेर्दैनौ तिमीले ? यिनलाई त मैले हप्काउने हो । यो संस्कार बोकेको पार्टी छ आज । अनि कसरी बीपीको कुरा भेट यहाँ हुन्छ?

चेतना र चिन्तन मेरो भर्खर आएको पुस्तकमा पनि विश्लेषण गर्न खोजे । बीपीको चेत के हो ? जसले बीपीलाई बीपी बनायो । तपाई त्यसको चेतमा प्रवेश नगरि यसको उत्तर आउँदैन । आज बीपीको चेतना भएको व्यक्ति अहिले नेपालको राजनीतिमा देखेको छैन ।

पार्टी नेताहरुमा ठूलो अहंकार छ । म त ठूलो नेता भएँ भन्ने अहंकार छ । पार्टीका अध्यक्ष, सभापति, महामन्त्री भएँ, मत ठूलो नेता भएँ । यत्रा मान्छे मेरो पछाडी आउँछन्, ताली पिट्छन् । त्यसकारण मैले कसैको कुरा सुन्न पर्दैन भन्ने अहंकार जागेको छ । तपाईको प्रश्नको उत्तर त्यति सजिलो छैन ।

बीपी कोइराला आफैं एउटा उदाहरणीय चरित्र हो । अहिलेको राजनीतिमा चरित्र विनाको रुप मात्रै छ । त्यसकारण चरित्र गुमाएको पात्रसँग कुरा गर्नु बीपीसँगको तुलना नै हुन सक्दैन । आजको युवाले बीपीको फेरि अध्ययन गर्नुपर्दछ । पार्टीहरुबाट मैले अपेक्षा गरेको छैन । नयाँ पुस्ता तपाईहरु जस्तालाई चुनौती छ ।

विश्वप्रकाश, सीके लालसँग : तपाईहरुले झक्झक्याउनु भए जस्तै संगठनको काम गर्ने शैली पनि बदल्ने सोंचमा छौं । हामी हाम्रो कुरो मात्रै एकोहोरो सुनाउँदैनौं । समाजबाट सुन्ने क्रममा छौं । कृष्ण सरको कुरालाई आत्मसात गर्न चाहन्छु । यही प्रश्न म सीके लाल सरलाई सोध्न चाहन्छु ।

समाजमा विवेक भन्दा पनि आवेगको कुरो, आशा भन्दा पनि निराशाको कुरो, कर्मको व्याख्या भन्दा पनि पपुलिज्म सुन्न चाहिरहेको अहिलेको बेलामा बीपीको त्यो सुस्कार र संस्कृति ल्याएर बुझाउने कसरी होला?

सीके लालको जवाफ : कठिन छ । प्रश्नलाई सामना गर्न आत्माश्लाघा बेगरको  आत्मविश्वास चाहिन्छ ।  समसामयिक समाज र राजनीतिको सबैभन्दा ठूलो चुनौती के हो भने प्रत्येक व्यक्ति भित्र ठूलो डर छ । भय छ । भयभित मान्छे प्रश्नको सामना गर्न सक्दैन ।

भयलाई हटाउने कसरी? भयलाई हटाउनु भनेको अध्यारो हटाउनका लागि दियो बाल्ने जस्तै प्रकाशले मात्रै अध्यारोलाई हटाउन सके जस्तै भयलाई हटाउने भनेको ज्ञान हो । ज्ञान भनेको विश्वविद्यालयमा पढेर मात्रै नहुने रहेछ । विश्वविद्यालयले त अरु धेरै कुरा सिकाउँदो रहेछ । भय हटाउनलाई आत्म चिन्तन हुनुपर्‍यो । आत्मचिन्तनको लागि अध्ययन हुनुपर्‍यो ।

बीपी कोइरालाको उपन्यासहरु पढ्नु भनेको अहिले चलेको उपन्यास जस्तो होइन । तिनको उपन्यास अहिले पढ्दा आत्मदृष्टिबाट केही कुरा आयो भने आयो, नभए ज्ञान बढाउँदैन । सूचना देला, जानकारी देला, मनोरञ्जन देला । तर, ज्ञान बढाउँदैन । ज्ञान बढाउनका लागि रचना गर्भ बुझ्नु पर्दछ । रचना सन्दर्भ बुझ्नु पर्दछ । रचना परिदृश्य बुझ्नु पर्दछ । त्यसको लागि गुरुको आवश्यकता मानिएको छ । समूहको आवश्यकता भनिएको छ ।

यस्ता कुरा सिकाउने हाम्रा विश्वविद्यालय अब विश्वविद्यालय रहेनन् । वैश्विक सोंच हाम्रा विश्व विद्यालयले दिँदैनन् । हाम्रा विश्वविद्यालयले एक पक्षीय सोंच विस्तारित गरिरहेका छन् । विश्वविद्यालयले राष्ट्रवाद् सिकाउँछन् । नाम छ विश्वविद्यालय, सिकाउने चाहिं राष्ट्रवाद । विश्वविद्यालयले आफ्नो भूमिका गुमाएका छन् ।

जसलाई सामाजिक भनिन्छ,  त्यो असामाजिक सञ्जाल हो । त्यसले व्यक्तिलाई केन्द्रमा राख्छ । त्यो व्यक्तिलाई लाग्छ कि, म यो संसारको सबैभन्दा महत्वपूर्ण मान्छे हुँ । अथवा, नारी हुँ, पुरुष हुँ ।

बच्चाको जस्तो मनस्थिति भएपछि आवेग प्रधान हुन्छ । वच्चामा विवेक विकसित भइसकेको हुँदैन । हाम्रो उमेर जतिसुकै भए पनि हामी सबै अहिले वाल्यकालमा फिर्ता भएका छौं ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?