‘भिरिंगीको समयमै उपचार नगरे मस्तिष्कमा समेत असर पर्न सक्छ’ (भिडियो)

‘भिरिंगीको समयमै उपचार नगरे मस्तिष्कमा समेत असर पर्न सक्छ’ (भिडियो)

यौनरोग निकै ध्यान दिनुपर्ने रोग भए पनि धेरैले गम्भीरतापूर्वक लिएको भने पाइँदैन । यौनरोग सर्ने भएकाले यसको जटिलता पनि निकै हुन्छ ।

यौनरोगमध्ये एक हो भिरिंगी । यो एक प्रकारको ‘ट्रेपोनेमा प्यालिडम’ कीटाणुबाट सर्ने यौन प्रसारित रोग हो । यसलाई अंग्रेजीमा ‘सिलफिस’ भनिन्छ । भिरिंगी चाँडै पत्ता लाग्यो भने यसको उपचार गर्न सजिलो छ र कुनै स्थायी क्षति गर्दैन । तर यदि उपचार नगरी छोडियो भने यसले मस्तिष्क, स्नायु प्रणाली र मुटुसहित अन्य अंगमा गम्भीर क्षति पुर्‍याउन सक्छ ।

भिरिंगीको कारण

भिरिंगी रोग लाग्नु वा सर्नुको मुख्य कारण असुरक्षित यौन सम्पर्क हो । यो रोग निम्त्याउने ब्याक्टेरिया यौन सम्पर्कमार्फत सजिलै सर्न सक्छ । त्यसैले सुरक्षित यौनसम्पर्क अभ्यास गर्नु र कण्डम प्रयोग गर्नु महत्त्वपूर्ण छ ।

धेरै यौनसाथी भएमा भिरिंगी भएको व्यक्तिसँग सम्पर्कमा आउने सम्भावना त्यति नै बढी हुन्छ । साथै, ब्लड ट्रान्सफ्युजनबाट पनि यो सर्न सक्छ । जसले गर्दा संक्रमित व्यक्तिले प्रयोग गरेको सुई लिंदा यो रोग फैलिन्छ । किनभने सो ब्याक्टेरिया रगत र अन्य शारीरिक तरल पदार्थमा हुन सक्छ र सुई जथाभावी प्रयोग  गर्दा संक्रमण फैलाउन सक्छ ।

भिरिंगीको घाउ छोएमा पनि यो रोग एकबाट अर्को व्यक्तिमा सर्न सक्छ ।

नेपालमा कतिको साझा रुपमा यो समस्या देखिएको छ ?

नेपालमा यसको संक्रमण साझा रुपमै देखिएको छ । यद्यपि, यसबारे तथ्यांक यकिन रुपमा यति छ भनेर भन्न सकिने अवस्था छैन । तर अस्पतालमा साताको चार जना भन्दा बढी संक्रमित उपचारका लागि आउँछन् । अस्पताल आउनेमा ३० देखि ४० वर्षका व्यक्ति र कहिलेकाहीं सो भन्दामुनि उमेरमा छन् ।

जोखिम समूह

यसको जोखिम यौन क्रियामा सक्रिय व्यक्ति जो असुरक्षित यौन सम्बन्ध राख्छन् । त्यस्ता व्यक्ति बढी जोखिममा हुन्छन् । यौनकर्मी, धेरै यौन साथी बनाउने र एचआईभी संक्रमितहरु पनि यो रोगको जोखिममा पर्छन् ।

त्यसैगरी गर्भवती महिलालाई भिरिंगी भएको छ भने पेटमा भएको बच्चालाई पनि सर्न सक्छ ।

लक्षणहरु

भिरिंगीका तीन चरण हुन्छन् । त्यसअनुसार लक्षणहरू देखिन थाल्छन् ।

पहिलो चरण : पहिलो चरणमा संक्रमण भएको दुईदेखि चार हप्तापछि लक्षणहरू देखिन थाल्छन् । यसमा पीडारहित घाउहरू यौनांगमा बन्छन्, जहाँबाट ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ । यदि संक्रमित व्यक्तिसँग मुखमैथुन गरेमा यो घाउ मुखमा पनि देख्न सकिन्छ । यो सामान्यतया एकदेखि पाँच हप्तामा आफैं घाउ हराउन सक्छ ।

दोस्र चरण : सुरुवाती चरणमा संक्रमणको उपचार नगरी रहँदा ६ देखि १२ हप्तापछि लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, भोक नलाग्ने, यौनाङ्गमा दाग आउने, मुखमा रातो पिम्पल हुने, घाँटी दुख्ने, स्तन सुन्निने, कम्मर र घाँटीमा दुखाइ र थकानजस्ता समस्या पर्छन् ।

तेस्रो चरण : भिरिंगीको उपचार लामो समय बितिसक्दा पनि भएन भने १० देखि ४० वर्षपछि यसको संक्रमण मस्तिष्क र मुटुसम्म पुगेर क्षति हुन सक्छ । साथै, स्मरण शक्तिमा समेत ह्रास आउन सक्छ । यसका अन्य धेरै लक्षण छन् जुन उल्लेख गर्न सकिंदैन ।

भिरिंगीले यौन जीवनलाई असर गर्छ ?

भिरिंगीले यौन जीवनमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ । यौन सम्पर्कको समयमा यौनाङ्गमा घाउ, मुसा र डाबर आउँदा दुखाइ वा असहज अनुभव हुन सक्छ । जसले बिस्तारै यौन इच्छामै कमी गराउन सक्छ ।

भिरिंगी भएमा बच्चा जन्माउने क्षमतालाई पनि असर गर्न सक्छ । गर्भावस्थामा संक्रमण भएमा बच्चामा संक्रमण सर्न सक्छ ।

गर्भ र शिशुमा असर

गर्भवती महिलामा भिरिंगीको संक्रमण देखिएमा गर्भमा रहेको शिशुमा पनि असर गर्न सक्छ । जसले सन्तान पेटमा मर्न सक्ने,   समयअगावै बच्चा जन्मिन सक्छ । यदि सन्तान जन्मिए सन्तानमा पनि भिरिंगी हुन सक्छ । भिरिंगीले बच्चाको अनुहार, छाला, हाडजोर्नी, मुटु र फोक्सो जस्ता अंगमा असर गर्न सक्छ । शिशु पनि भिरिंगीबाट संक्रमित देखिए त्यसको उपचारले भविष्यमा आउने जटिलता कम गर्न सकिन्छ ।

कसलाई देखाउने ?

यौनाङ्गमा असामान्य परिवर्तन देखिने बित्तिकै यौनरोग विशेषज्ञलाई देखाउन सकिन्छ । यदि समस्या सामान्य भए यौनरोग विशेषज्ञले उपचार गर्छन् । तर भिरिंगी जसको लामो उपचार भएको छैन र अन्य अंगलाई असर पुर्‍याएको छ भने सम्बन्धित चिकित्सकलाई रिफर गरिन्छ ।

पहिचान तथा उपचार

भिरिंगीको जति छिटो उपचार सुरु गर्‍यो त्यति छिटो निको पार्न सकिन्छ । भिरिंगी पहिचानका लागि  ‘टीपीएच ए’ र ‘भीडीआरएल’को परीक्षण रगतबाट गरिन्छ ।

पहिलो तथा दोस्रो चरणमा भिरिंगीको औषधि र सुईबाट सहजै उपचार गर्न सकिन्छ । तेस्रो अवस्थाको उपचार भने केही जटिल छ । अरु विधाका चिकित्सक मिलेर उपचार गर्नुपर्ने हुन्छ ।

भिरिंगीबाट कसरी बच्ने ?

भिरिंगी लाग्नबाट बच्न सुरक्षित यौन सम्बन्ध बनाउने, कण्डमको अनिवार्य प्रयोग गर्ने, प्रजनन् अंगको सरसफाइमा ध्यान दिने, जथाभावी सुई प्रयोग नगर्ने, कुनै पनि यौनाङ्गमा घाउ आए बेलैमा चिकित्सकलाई देखाउने गर्नुपर्छ ।

(छाला तथा यौनरोग विशेषज्ञ डा. पुडासैनी सिभिल अस्पताल र बीएससीसी स्किन एण्ड हेयर क्लिनिकमा कार्यरत छन् । उनीसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीमा आधारित)

तस्वीर, भिडियो : विकास श्रेष्ठ/अनलाइनखबर

डा. प्रज्ज्वल पुडासैनी भिरिंगी यौनरोग
लेखक
डा. प्रज्ज्वल पुडासैनी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय