के हुन्छ ? जब अरुचि हुँदा पनि हामी खाना खान्छौं

काठमाडौं । शरीरमा कुनै भाइरल संक्रमण, ब्याक्टेरियाको संक्रमण र कुनै चोटपटक लाग्दा ज्वरो आउँछ । ज्वरो आउँदा खान मन नलाग्ने, खाए पनि नरुच्ने हुन्छ । यस्तो बेला जबर्जस्ती खान हुन्छ कि हुँदैन ? धेरैको मनमा यो प्रश्न आउन सक्छ ।
एमडी इन्टरनल मेडिसिन डा. निमेश पौडेल ज्वरो आउँदा धेरैजसोलाई खाना नरुच्नु सामान्य रहेको बताउँछन् । ‘ज्वरो दुई किसिमको संक्रमणले हुन्छ, ब्याक्टेरिया र भाइरल इन्फेक्सन,’ उनी भन्छन्, ‘भाइरल इन्फेक्सनमा झन् बढी खाना नरुच्ने हुन्छ ।’
कलेजोमा इन्जाइम अर्थात् एएसटीको वृद्धिले पनि खाना नरुच्ने हुन्छ । एएसटी दुई कलेजो इन्जाइममध्ये एक हो । यसलाई मेडिकल भाषामा सिरम ग्लुटामिक–अक्सालोएसेटिक ट्रान्समिनेज (एसजीओटी) भनिन्छ । यो कोषिकाद्वारा बनाइएको प्रोटिन हो । यसले शरीरमा मेटाबोलिज्म बढाउन मद्दत गर्छ ।
पाचन प्रक्रियामा सहयोग गर्न यसको महत्वपूर्ण भूमिका हुने डा. पौडेल बताउँछन् । ‘यसमा समस्या हुँदा खाना नरुच्ने हुन्छ । यदि कलेजो स्वस्थ छ भने खाना मज्जाले रुच्छ,’ उनी भन्छन् ।
त्यसो भए ज्वरो आउँदा खान मन नलागे पनि खाने कि नखाने त ?
‘यसबेला चिकित्सकले खाना खानुस् भनेरै जोड दिइरहेका हुन्छौं । किनकि यसबेला खाना खाएन भने झन् कमजोर भइन्छ,’ डा. पौडेल भन्छन्, ‘यसले अन्य जटिलता हुने सम्भावना हुन्छ । तर बिरामीको अवस्था हेरेर खाना खानुपर्छ । जस्तै ज्वरोसँगै कब्जियत पनि भएको छ भने ठोस खानेकुरा खानुभन्दा पनि प्रशस्त मात्रामा पानी वा झोल पदार्थ खाएर पेट सफा राख्न जरुरी हुन्छ ।’
ज्वरो आएको बेला एकैपटक धेरै खानुभन्दा थोरै-थोरै गरेर समय-समयमा खानु राम्रो हुने उनी बताउँछन् । ‘तर चिल्लो, दूध, खसीको मासु वा धेरै पोटिनयुक्त खानेकुरा खानु हुँदैन । यसले पेट फुल्ने, वाकवाकी लाग्ने हुन सक्छ,’ डा. पौडेल भन्छन्, ‘त्यसैले फाइबरयुक्त खानेकुरा हरियो सागपात, झोलिलो खानेकुरा, फलफूल, ड्राइफुड र पानी प्रशस्त मात्रामा खाँदा लाभदायक हुन्छ ।’
ज्वरो आएको बेला खाना नखाँदा रोगप्रतिरोधी क्षमता बढ्न पाउँदैछ । त्यसैले खाना धेरै नरुचे पनि खान डा. पौडेल सुझाउँछन् ।
‘खाना खाएर केही बेफाइदा हुँदैन, बरु खाएन भने बेफाइदा हुन्छ । जस्तै खाना धेरै समय नखानाले शरीरमा सुगरको लेभल घट्ने, प्रेसरको औषधि खाइरहेको छ भने ब्लड प्रेसर कम हुन्छ,’ उनी भन्छन्, ‘त्यस्तै झन् कलेजोको बिरामी भएमा त खाना अनिवार्य खानैपर्छ । खाना खाएन भने शरीरमा सुगरको लेभल अचानक कम भएर मानिसको मृत्युसमेत हुन सक्ने जोखिम हुन्छ ।’
पोषिणविद्हरुले एउटा साझा भनाइ हुन्छ कि भोक नलागी खाना खाँदा त्यसले शरीरमा फाइदा भन्दा पनि बेफाइदा गर्छ । यसरी खाएको खाना पच्दैन । त्यसो भए ज्वरो आएको बेला भोक नलागे पनि वा खाना खान मन नलागेको खाएको खान पच्छ कि पच्दैन ?
पोषणविद् प्रणिती सिंह भन्छिन्, ‘स्वस्थ भएको बेलामा भोक नलागे पनि खाएको खाना पचाउन गाह्रो हुन्छ । खाएको अनुसार व्यायाम गरेको छ भने पचाउन सकिन्छ । तर खाएर सुत्ने वा केही नगरी बसेमा पचाउन सक्दैन । तर ज्वरो आएको बेला यो भनाइ लागू हुँदैन । यसबेला खाना खान मन नलागे पनि खाएको खाना पच्छ ।’
तर ज्वरो आउँदा ठोसभन्दा झोलिलो खानेकुरा खान उनी सुझाउँछिन् । ‘यसबेला शरीरको सबै शक्ति संक्रमणसँग लड्नमा प्रयोग भइरहेको हुन्छ । यस्तो बेला खाना खाएन भने ग्यास्ट्रिकको समस्या, शरीर कमजोर भएर अन्य रोग निम्त्याउने सम्भावना बढी हुन्छ,’ उनी भन्छिन्, ‘त्यसैले ज्वरो आएको बेला जबर्जस्ती थोरै मात्रामा भए पनि खाना खानैपर्छ ।’
प्रतिक्रिया 4