+

‘मैदाबाट बनेको खानेकुरा खाने व्यक्तिमा आन्द्राको एलर्जी देखिन्छ’

२०८० असोज  २२ गते १२:०३ २०८० असोज २२ गते १२:०३
‘मैदाबाट बनेको खानेकुरा खाने व्यक्तिमा आन्द्राको एलर्जी देखिन्छ’

आमाशयको नरम झिल्ली सुन्निनुलाई ग्यास्ट्राइटिस भनिन्छ । यस्तो हुनुमा खानपानको मूख्य भूमिका हुने आम बुझाई छ । खासगरी मैदाजन्य खानेकुराले ग्याष्ट्रिक गराउँछ भन्ने छ । वास्तवमा मैदाले कसरी ग्याष्ट्रिक गराउँछ ? ग्याष्ट्रिकको समस्या भएकाले मैदाजन्य खानेकुरा खानै हुन्न ?

यसै विषयमा पेट तथा कलेजो रोग विशेषज्ञ डा.सन्दीपराज कुँवरसँग गरिएको कुराकानी :

मैदा वा मैदाजन्य खानेकुराले ग्यास्ट्रिक हुन्छ भनिन्छ । यर्थाथ चाहिँ के हो ?

मैदामा गुल्टेन भन्ने प्रोटिन हुन्छ । नेपालमा मैदाबाट बनेका खानेकुरा पहिले खासै पाइदैन थियो । तर, अमेरिका र  युरोपियन देशहरूमा विगतदेखि नै मैदाबाट बनेका खानेकुरा खाने चलन थियो । त्यसैले त्यहाँ धेरैलाई गुल्टेनको एलर्जी हुन्छ भनेको सुनिन्थ्यो ।

गुल्टेन एलर्जी भन्नाले मैदाबाट बनेको खानेकुरा खाँदा आन्द्रामा एलर्जी हुने हो । आन्द्रामा एलर्जी भएपछि पेट फुल्ने, असहज महसुस हुने, पेट दुख्ने, पटक पटक दिसा लाग्ने जस्ता समस्या देखिन्थ्यो ।

नेपालमा पनि पछिल्लो समय गुल्टेनको एलर्जीहरू ‘सिलिएक डिजिज’ भेटिएका छन् । जसले धेरै मात्रामा मैदाबाट बनेको खानेकुरा खाने व्यक्तिमा आन्द्राको एलर्जी देखिन्छ ।

कसैमा यो समस्या केही दिनमा आफै ठिक हुन्छ भने कसैमा आन्द्राको छाला नै बिग्रँदै जान्छ । आन्द्राको छाला बिग्रँदै गएपछि पाचन प्रणालीमा समस्या देखिन थाल्छ ।  मैदा मात्र हैन अन्य खानेकुरा खाँदा पनि खाना राम्ररी पच्दैन र पटक पटक दिसा लाग्ने, तौल कम हुने जस्ता समस्या देखिन थाल्छ ।

अहिले जंकफुड खाने प्रवृत्ति पनि व्यापक छ । यसले पनि ग्यास्ट्रिक बढाउँछ ?

जंकफुड तथा प्याकेटफुड जस्ता खानेकुराले पेटको विभिन्न समस्याहरू निम्ताउँछ । यस्ता खानेकुरालाई लामो समय टिकाउने रसायन र ट्रान्स फ्याट प्रयोग गरिएको हुन्छ । जसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हाम्रो पेट,  आमाशय, सानो आन्द्रा र ठुलो आन्द्रालाई असर गर्छ ।

यस्ता खानेकुरा कै कारणले इन्फ्लेमेटरी बाउल डिजिज जस्तो समस्या पनि निम्तिएको छ । बजारमा पाइने यस्ता जंकफुड प्याकेट फुड भन्दा हाम्रो घरमा पाकेको ताजा दाल भात तरकारी नै हाम्रो पेटको स्वास्थ्यको लागि राम्रो हुन्छ ।

ग्यास्ट्रिकको मूल कारण चाहिँ के हो ? खानपान वा अरू नै ?

ग्यास्ट्रिकको समस्या कुनै एउटा मात्र भन्दा पनि विभिन्न कारणले हुन्छ । नेपाल जस्तो विकासोन्मुख देशमा ग्यासट्राइटिस बनाउने मुख्य कारण भनेको एचपाइलोरी व्याक्टोरिया नै हो ।

ग्यास्ट्रिकको अर्को कारण जथाभावी औषधि सेवन हो । जथाभावी औषधि खाने, पेनकिलर खाने कारण पनि ग्यास्ट्राइटिस बढ्छ । चुरोट रक्सी खाने व्यक्तिहरूलाई पनि ग्यास्ट्रिकको समस्या देखिन्छ ।

चिल्लो, अमिलो र रसायनयुक्त खानाहरू बढी खाँदा पनि ग्यास्ट्राइटिस हुन्छ । खाली पेट बस्ने र समयमा नखाने गर्दा पनि ग्यास्ट्राइटिस हुन्छ । साथै गलत जीवनशैली जस्तो, समयमा नसुत्नु, बढी कामको दबाब हुनु । यस्ता कारणले पनि मानिसलाई ग्यास्ट्रिकको समस्या देखिन्छ ।

ग्यास्ट्रिकको मुख्य कारण एचपाइलोरी व्याक्टोरिया भएकोले ४५ वर्ष भन्दा माथिमा  व्यक्तिहरू जसलाई पेटको समस्या छ उनीहरूले इन्डोष्कोपी गर्नुपर्छ । जसले गर्दा यसकै कारण निम्तन सक्ने अन्य जोखिमलाई कम गर्न सकियोस् ।

ग्यास्ट्रिक भएको व्यक्तिले मदिरा सेवन गरेमा के हुन्छ ?

ग्यास्ट्रिकको समस्या भएको व्यक्तिले धूम्रपान मद्यपान गर्छ भने समस्या झन् बढ्छ । ग्यास्ट्रिक भएको व्यक्तिले लामो समय चुरोट रक्सी सेवन गर्दा ग्यास्ट्रिक बिग्रिएर अल्सर हुने, भित्री रक्तचाप हुने र दिसा कालो हुने र कतिपय अवस्थामा ज्यानै जान सक्ने जोखिम समेत हुन्छ ।

ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरूले कस्तो खानपान गर्नुपर्छ ?

ग्यास्ट्रिकसँगै अर्को ‘रिफ्लक्स डिजिज’ खाने नलिको समस्या देखिन्छ । जसमा अमिलो डकार आउने, छाती पोल्ने, खाना आएपछि असहज महसुस हुने जस्ता लक्षणहरू देखिन्छ । पेटको एसिड माथि फर्किएर आएर खाने नलीमा टाँसिएर यस्तो हुन्छ ।

यो समस्या हुने कारण समयमा खाना नखाने र जथाभाबी खाना खानाले हो । यस्तो समस्याबाट बच्नको लागि पटक–पटक समयमा थोरै थोरै खाना खाने । खाना खाने बित्तिकै नसुत्ने, बेलुकाको खाना ७ बजे अघि नै खाने । दूधजन्य खानेकुरा कम खाने, जंकफुड प्याकेट फुड नखाने । तारेको भुटेको खानेकुरा कम खाने ।

ग्यास्ट्रिक र रिफ्लक्स डिजिज भएकाहरूले हरियो सागपात, सबै प्रकारका तरकारी , फलफूलहरू, माछा, बोसो रहित मासु जस्ता खानेकुरा खानुपर्छ । ग्यास्ट्रिकको समस्याबाट बच्न व्यायाम पनि उत्तिकै महत्त्वपूर्ण छ । त्यसैले पोषणयुक्त खानासँगै दैनिक व्यायाम पनि गर्नुपर्छ ।

सामान्यतया अधिकांशले कुन न कुनै समय मलाई ग्यास्ट्रिक भो भनिरहेका हुन्छन् । यसरी बेलाबखत ग्यास्ट्रिक हुनु समस्या हो वा सामान्य ?

कहिलेकाहीँ खानपिन नमिल्दा अपच हुने ग्यास्ट्रिक हुने सामान्य समस्या नै हो । पाँच देखी सात  दिनमा त्यो निको हुन्छ । निको भएन भने विशेषज्ञ चिकित्सकको सल्लाह लिनुपर्छ ।

निको भएन भने मेडिकलबाट  आफूखुसी ग्यास्ट्रिकको औषधि ल्याएर खाने बानी हुन्छ । तर, यो गलत हो लामो समय ग्यास्ट्रिकको समस्या देखियो र उपचार गरिएन भने अन्य जटिलता निम्तन सक्छ ।

ग्यास्ट्रिक कुन अवस्थामा खतरनाक हुन्छ ?

४५ वर्ष भन्दा माथिका व्यक्तिमा रगतको कमी भएको छ , तौल कम हुँदै गएको छ , खानामा रुचि छैन, खाना अड्किन्छ र दिसा कालो हुन्छ भने यसलाई लापरबाही गर्न हुँदैन । यो ग्यास्ट्रिकको समस्या जटिल भएर अल्सर र क्यान्सर हुने लक्षण हुन सक्छ ।

ग्यास्ट्रिक हुनै नदिन के गर्ने ?

ग्यास्ट्रिक हुनै नदिन जीवनशैली परिवर्तन गर्नुपर्छ । सन्तुलित र पोषणयुक्त खानेकुरा खाने । दैनिक व्यायाम गर्ने, तनाव कम लिने, दिनको ४ पटक सन्तुलित भोजन गर्ने, प्रशस्त  सफा पानी पिउने , सकेसम्म पेनकिलर औषधी खाने बानी कम । खाने पर्ने अवस्था आए कम खाने, धूम्रपान र मद्यपान नगर्ने  जस्ता कुरामा ध्यान दिइयो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

ग्यास्ट्रिक
डा. सन्दीपराज कुँवर
लेखक
डा. सन्दीपराज कुँवर
पेट तथा कलेजोरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ५२४३ हाल काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा पेट तथा कलेजोरोग विभाग प्रमुखको रुपमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय